Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल


सिन्धुपाल्चोकको मेलम्ची–९ गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । विसं २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको जलवायु सम्मेलनपछि एकाएक चर्चा चुलिएको गुफाडाँडामा पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण हुन थालेपछि गुफाडाँडा जलवायु उद्यान पर्यटकको आकर्षक गन्तव्यस्थल बन्न थालेको छ ।

मेलम्ची नगरपालिका–९ मा अवस्थित गुफाडाँडा जलवायु उद्यान आकर्षक र मनमोहक छ । यहाँबाट विभिन्न हिमशृृङ्खलासँगै धुलिखेल, नगरकोटलगायत उच्च पहाडी भेगको दृश्यावलोकन गर्न सकिन्छ । स्वच्छ हावापानी, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्व र जडीबुटीका हिसाबले पनि गुफाडाँडा भूःस्वर्गजस्तै छ । प्रथम राष्ट्रिय जलवायु सम्मेलन पूर्व चौँरीखर्क मात्रै रहेको ठाउँमा जलवायु सम्मेलनपश्चात पर्यटकीय गन्तव्यको विकाससँगै गुफाडाँडा जलवायु उद्यान घुम्न पर्यटकको घुइँचो लाग्ने गरेको छ । यहाँको वातावरणमा रमाउन पाउँदा खुसी लागेको काभ्रेपलाञ्चोकका आशाकाजी श्रेष्ठले बताउनुभयो । चौताराबाट आउनुभएकी बिन्दु सापकोटा दोस्रो पटक घुम्न आएको बताउनुहुन्छ । लामाहरू ज्ञान प्राप्तिका लागि गुफा बसेका कारण गुफाडाँडा भनिएको किंवदन्ती रहेको पछिल्लो समय आकर्षक गन्तव्यका रूपमा विकास हँुदै गएको प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले बताउनुभयो । विभिन्न सङ्घसंस्थाको बैठक, गोष्ठीलगायतका कार्यक्रमसमेत गुफाडाँडा जलवायु उद्यानमा आयोजना हुन थालेपछि चहलपहल बढेको छ । गुफाडाँडाको प्रचार–प्रसारसँगै स्थानीयको आयआर्जनमा पनि टेवा पुगेको मेलम्ची नगरपालिका–९ का युवराज पुरी बताउनुहुन्छ । पर्यटक पर्खाइमा बसेको डाँडामा पुग्न भने बर्खायाममा सकस हुने गरेको छ ।

यहाँ होटल तथा होमस्टेको अभाव छ । पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना बनाएर यो क्षेत्रमा चिया बगान, वनभोजस्थल, भ्यूटावर, रिसोर्ट, खेलमैदान, संस्कृति झल्किने सङ्ग्रहालयलगायत स्थापना गर्ने उद्देश्य रहेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको भनाइ छ ।


प्रकाशित मिति: २२ पुष २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?