Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

गुणस्तरहीन संरचना भत्काउन थालियो


२ चैत्र ,खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा सञ्चालित ‘साप्सुखोला–विजयखर्क–बसेरी लिफ्टिङ खानेपानी आयोजना’को गुणस्तरहीन ट्याङ्की फुटाउन थालिएको छ ।

निर्माणाधीन खानेपानी आयोजनाको ट्याङ्की सम्पन्न नहुँदै चर्किएसँगै चौतर्फी विरोध र आलोचना सुरु भएपछि वडा कार्यालय र उपभोक्ता समितिको रोहबरमा स्वयं ठेकेदार कम्पनी सगरमाथा ड्रिलिङ एन्ड कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँले ह्याम्मर तथा स्काभेटर लगाएर ट्याङ्की फुटाउन थालिएको हो ।

लिफ्टिङ खानेपानी आयोजनाको ट्याङ्की निर्माणका क्रममा भएको कमजोरी सच्याउन सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय र निर्माण कम्पनीलाई मौखिक निर्देशन दिइएको नगरप्रमुख तीर्थराज भट्टराई बताए । नगरपालिका र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय खोटाङको निर्देशनमा उपभोक्ता समिति र निर्माण कम्पनी आफैले ट्याङ्की ह्याम्मर तथा स्काभेटर लगाएर फुटाउन थालेका हुन् ।

लिफ्टिङ खानेपानी आयोजनाका लागि वितरण लाइनतर्फ पाँच फेरोसिमेन्ट ट्याङ्की बनाउनुपर्ने सम्झौतामा उल्लेख छ । पहिलो ट्याङ्की कमजोर बनेपछि सबै वितरण लाइनको ट्याङ्की आरसिसी ढलान बनाउन निर्देशन दिइएको सङ्घीय खानेपानी ढल व्यवस्थापन आयोजनाका प्रमुख हीराकाजी महर्जनले बताए ।

विजयखर्कका सात सय २५ घरधुरीलाई पानीको सुविधा दिने गरी विसं २०७९ साउन ५ गतेदेखि आयोजनाको काम सुरु गरिएको थियो । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना दिक्तेलमार्फत भ्याट तथा पिएससहित रु २९ करोड १३ लाख ९८ हजार नौ सय ९० लागतमा सक्ने गरी लिफ्टिङ खानेपानी आयोजनाको ठेक्का लागेको हो ।

विसं २०८१ साउन ४ गतेसम्ममा सक्ने गरी उक्त निर्माण कम्पनीले विसं २०७९ असार २२ गते आयोजनाको सम्झौता गरेको थियो । बस्ती नजिक र सबैको नजर पर्ने ठाउँमै कमजोर संरचना बनाएको ठेकेदारले बस्तीभन्दा तल जङ्गल र खोला आसपासका संरचना निर्माणका क्रममा झनै लापरबाही गरेको स्थानीयको दाबी छ ।

ट्याङ्की निर्माणका क्रममा खोलाको माटो मिसिएको बालुवा प्रयोग गरिएको, नियमित क्युरिङ (पानीले भिजाउने काम) नगरिएको स्थानीय नरेन्द्र ढकालले बताएका छन्‌ ।


प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?