काठमाडौँ। नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले आफ्ना माग पूरा नभए जनविद्रोह हुने चेतावनी दिएका छन् ।
सोमवार साँझ सिंहदरबारमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उनले आफूहरुले राखेका माग पूरा नभए जनविद्रोह हुने र त्यो कसैले नसोचेको हुने चेतावनी दिएका हुन् । उनले प्रधानमन्त्रीसँग आफ्ना मागहरु स्पष्ट रुपमा राखेको बताउँदै उनले आफ्ना माग नागरिकको जनजीविकासँग सम्बन्धित रहेको बताएका छन् । प्रधानमन्त्री कार्कीले आफूहरुका मागबारे अध्ययन गरेर पुस २ गते निर्णय दिने बताउनुभएको पनि प्रसाईंले जानकारी दिएका छन् । २०६२—०६३ को जनआन्दोलनको म्याण्डेट भनेको संघीयता, धर्मनिरपेक्षता ल्याउने नरहेको भन्दै यसबारे जनमतसंग्रह गर्नुपर्ने माग राखेको बताए । सरकारले तोकेको फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन समयमा नहुने पनि बताएका छन् ।
उनले भने, ‘आज हाम्रा माग प्रधानमन्त्री र गृहमन्त्रीले राम्रोसँग सुन्नुभयो । तपाईंका माग भनेका जनजीविकोपार्जन माग हुन् । यि मागहरु कम्युनिष्टले बोकेर हिँड्ने माग हुन् । तर कम्युनिष्टहरुले यही भ¥याङ बनाएर अर्बौं रुपैयाँ कमाए । त्यो ठाउँमा म भए अहिले मुख्यसचिव बोलाएर भन्थेँ भनेँ । सबै कुरा अध्ययन गरेर, म छलफल गर्दछु र पुसको २ गते निर्णय दिन्छु । तपाईंहरुले भनेको जस्तै निर्णय दिन्छु भन्नुभएको छ । २०६२/०६३ को जनआन्दोलनको म्याण्डेट भनेको संघीयता, धर्मनिरपेक्षता ल्याउने थिएन । राजसंस्था फ्याँक्ने थिएन । कसरी भयो ? इँजार जहाँ गाँठो परेको हो त्यहीँ फुकाउनुपर्छ । चंगाको धागो चहाँ चुँडिएको हो त्यहीँ गाँस्नुपर्छ । चुनाव हुँदैन, आशै नगर्नु । उहाँलाई व्यवस्था ठिक छैन भनेँ । तपाईंले पनि नाती खेलाउने व्यवस्था ल्याउन जनमत संग्रहमा जाऔँ, यो व्यवस्था ठिक छ की छैन भनेर भनेको छु । सबै विषयमा जनमत संग्रहमा जाऔँ भनेको छु । उहाँले सही डिसिजन दिनुभएन भने चुनाव हुँदैन ।’
संरक्षक प्रसाईंले किराँत, बौद्धसहितको हिन्दु अधिराज्य र राजसंस्थाका सन्दर्भमा र अहिलेको व्यवस्थाका सम्बन्धमा जनमत संग्रह गर्न आग्रह गरेका छन् ।
प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार