Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

विषाक्त खानाले मर्ने गिद्धको सङ्ख्या ६ पुग्यो


३० फागुन, काठमाडाैँ । पूर्वी नवलपरासीको कावासोतीमा विषाक्त सिनो खाएर मर्ने गिद्धको सङ्ख्या छ पुगेको छ । साथै चार वटा बिरामी गिद्धलाई उद्धार गरेर कावासोती १३ मा रहेको जटायु रेष्टुराँमा उपचार गरिएको छ ।

मर्ने सबै गिद्ध लोपोन्मुख डङ्गर प्रजातीका हुन् । कावासोती नगरपालिका–३ नजिकै रहेको ज्योतिकुञ्ज सामुदायिक वन र अङ्कुर सामुदायिक वन क्षेत्र आसपास केरुङ्गे खोला नजिकै मृत अवस्थामा गिद्धहरु फेला परेपछि स्थानीयले प्रहरी र डिभिजन वन कार्यालयमा खबर गरेका थिए ।

गिद्ध मरेको खबर पाएलगत्तै घटनास्थलमा राष्ट्रिय प्राकृतिक संरक्षण कोषका चरा विशेषज्ञ चिकित्सक डा विकल्प कार्कीको नेतृत्वमा प्राविधिकको टोली पुगेर बिरामी गिद्धको प्राथमिक उपचार गरेको थियो ।

प्राथमिक उपचारपछि बिरामी गिद्धलाई जटायु रेष्टुराँमा ल्याएर थप उपचार गरिएको र गिद्धको स्वास्थ्यमा उल्लेखीय सुधार आएको डाक्टर कार्कीले बताउनुभएको छ । मरेका गिद्धको पोस्टर्माटम गर्दा पेटमा स्यालको सिनो भेटिएको थियो । विषाक्त खाना खाएर मरेको स्यालको सिनो खाएपछि गिद्ध मरेको प्रारम्भिक अनुसन्धानले देखाएको डा कार्कीको भनाइ छ ।

मरेका गिद्धको पोस्टमार्टमपछि सङ्कलन गरिएको नमुना र मरेको स्यालको नमुनासमेत परीक्षणका लागि डिभिजन वन कार्यालयमार्फत नेपाल प्रहरीको काठमाडौंँस्थित विधि विज्ञान प्रयोगशालामा पठाइने छ । प्रयोगशालाको अन्तिम रिपोर्ट आएपछि मात्रै कुन विषादीको कारणले स्याल र गिद्ध मरेका हुन भन्न सकिने डा कार्की बताउँछन् ।

घटनास्थल आसपास गिद्धको बासस्थान र बच्चा कोरल्ने गुँड नजिकै भएकाले धेरै सङ्ख्यामा गिद्ध बिरामी अवस्थामा हुनसक्ने भएकाले जटायु रेष्टुराँ र पक्षी संरक्षण सङ्घको संयुक्त टोली आसापासको जङ्गलमा मङ्गलबार खोजी गर्ने जटायु रेष्टुराँका अध्यक्षसमेत रहेका चरा विज्ञ डिबी चौधरीले बताए ।

मरेका घरपालुवाको जनावरमा विष मिसाएर स्याल मार्न खोज्दा मरेको स्यालको सिनो खाएर गिद्ध मरेकाले विषादी प्रयोग गरेर स्याल मार्नेको खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी निरीक्षक साजन शर्माले जानकारी दिए ।

गत शनिबार मात्रै जटायु रेष्टुराँबाट चितवन राष्ट्रिय निकुन्जको कसरामा रहेको गिद्ध प्रजनन केन्द्रमा हुर्किएका १० वटा गिद्धलाई प्राकृतिक बासस्थानमा छोडिएको थियो ।

संरक्षणको क्षेत्रमा उदाहरणीय काम हुँदै गर्दा गिद्ध मरेको खबर सार्वजनिक भएपछि संरक्षणकर्मीको लागि चिन्ताको विषय भएको छ । यस क्षेत्रमा नौ प्रजातीका गिद्ध पाइन्छन् ।


प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?