Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

फागुनमै सुक्न लागे खानेपानीका मुहान


२८ फागुन, महोत्तरी । यस वर्ष फागुन नसकिँदै खानेपानीका मुहान थालेका छन् । सामान्यतया वैशाख÷जेठमा खानेपानीको मुहान सुक्ने गरेकामा यस वर्ष खडेरीले फागुन नसकिँदै मुहान सुक्न थालेका हुन् ।

महोत्तरीको उत्तरी भेगमा पर्ने बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा खानेपानीको मुहान सुक्दै गएका छन् । पानीका स्रोत सुक्दै गएपछि यसपाली खानेपानीको हाहाकार हुने भन्दै स्थानीयवासी चिन्तित भएका छन् । “धाराबाट पानी झर्नै छाड्यो”, बर्दिबास–२ की गायत्री उपाध्यायले भने, “गत वर्ष यो बेला यस्तो भोग्नु परेको थिएन, पानीका लागि अहिले त दिनभर कुरेर बस्नुपर्ने भएको छ ।”

बर्दिबास नगरपालिकाका धेरैजसो बस्तीमा नदी, खोल्सी र जरुवाको पानी सङ्कलन गरिएको पानी सर्वसाधारणलाई वितरण गरिँदै आइएको छ । यस वर्ष हिउँदे वर्षा नहुँदा नदी, खोल्सी र जरुवाका मुहान चाँडै सुक्दा पानीको समस्या भएको स्थानीय बताउँछन् । “पानीको स्रोत सुक्दै गएकाले धारामा पानी घटेको हो”, बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भुलनबहादुर सेनले भने । संस्थाले बर्दिबास–१, २, ३ र १४ वडाका उपभोक्तालाई खानेपानीको व्यवस्था गर्दै आएको छ ।

बर्दिवासका चल्की विजलपुरा, भेडियारीटोल, मेघरोलसहितका बस्तीमा चापाकल तथा पशुपतिनगर, विजलपुरा, प्रेमनगर, किसाननगर र हाथीलेटका बस्तीमा इनार प्रयोग गरिँदै आएकामा केही समययता चापाकल सुक्दै गएका छन् । इनारमा पनि पानीको सतह गहिरिएको स्थानीयले बताए ।

भङ्गाहा र गौशालामा इनार र चापाकलको प्रयोग गरिन्छ । पानीका स्रोत सुक्दै गएका भङ्गाहा–४ प्रेमनगरका जवाहर महतोले बताए । “अब वर्षा भएमात्र पानी पर्याप्त हुन्छ”, उनले भने । वडा नं ४ र ५ का बस्तीमा बर्सेनि गर्मीयाममा खानेपानीको सङ्कट हुँदै आएको छ । “पहिला १५ हात इनार खनेपछि पानीको मूल भेटिन्थ्यो”, स्थानीय ६० वर्षीय हरिदेव साहले भने ।

चुरे पहाडी काछका बस्तीमा पनि खानेपानीको समस्या भएको छ । जरुवा पानीका मुहान सुक्दै गएपछि समस्या भएको हो । बर्दिवास–३, ४, ५, १० र ११ वडा यस क्षेत्रमा पर्छन् । “एक दशकअघिसम्म यहाँका जरुवा कहिल्यै सुक्दैनथे, पछिल्ला केही वर्षयता नदी, पाखा र बगर पर्ती जग्गामा बालुवा, ढुङ्गा झिक्न ठूलाठूला उपकरण प्रयोग हुन थालेपछि मुहान सुक्दै गएका हुन्”, बर्दिवास–१० खयरमाराका ६० वर्षीय प्रेमध्वज लामाले भने । पानीका मुहान सुक्दै जानुका कारण वन विनाश र अवैध उत्खनन् नियन्त्रण हुन नसक्नु पनि भएको उनले बताए ।

खानेपानीको स्रोत इनारमात्र भएका बर्दिवास–८ को हाथीलेटको विजय बस्तीमा पनि पानी सुक्दै गएको छ । गौशाला नगरपालिकाको बेलगाछी, भरतपुर, लक्ष्मीनियाँ र रामनगर तथा भङ्गाहा नगरपालिकाको प्रेमनगर, भूचक्रपुर, धतियाटोल, रामनगरसहितका बस्तीमा इनार र चापाकल सुक्न थालेपछि फागुन नसकिँदै खानेपानीको सङ्कट भएको छ ।

बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिकाका बस्तीमा पाँच वर्षयता इनार सुक्नेक्रम बढ्दै गएको छ । यसअघि लामो खडेरी पर्दा मात्र इनार सुकेका थिए । गाईबस्तुलाई पानी खुवाउन समस्या भएको स्थानीयको भनाइ छ । पानी अभावले बालीनालीसमेत सुक्न थालेको भङ्गाहा–४ रामनगरका नारायण दाहालले बताए ।

चुरे क्षेत्रका खोल्साखोल्सी, वन क्षेत्र, नदी, सिमसार क्षेत्र र पोखरी (तलाउ) पानीका मुख्य स्रोत भएकाले यिनको संरक्षण एवं उपयोग नीति नबनेसम्म पानीको सङ्कट नटुङ्गिने भङ्गाहा–७ का वन, वातावरण र चुरे विज्ञ डा विजयकुमार सिंहले बताए ।


प्रकाशित मिति: २८ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?