Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

पूर्वी तराईमा ‘भक्का’ खाने चलन लोकप्रिय


झापा। पूर्वी तराईको झापा र मोरङका आदिवासी राजवंशी समुदायमा ‘भक्का’ खाने चलन धेरै पुरानो हो । धानको पीठोबाट बनाइने भक्का पोषिलो, स्वादिलो र आडिलो हुन्छ । अचेल यो परिकार पूर्वी तराईको लोकप्रिय बनिसकेको छ ।

पुस–माघको चिसो मौसममा राजवंशी महिला हुरहुरी बाफ उड्ने तातो खाजाका रुपमा भक्का बनाउने गर्दछन् भने यसको स्वादले पहाडबाट बसाइँ सरेर आएका तराईका अरू समुदायलाई समेत आकर्षित गरेको छ । राजवंशी मात्र होइन, मेचे, धिमाल, ताजपुरिया र थारु महिला पनि भक्का बनाउँछन् ।

त्यस्तै, झापाको ग्रामीण बस्तीमा सानो माटाको हण्डीमा पानी उमालेर बाफमा बिहान झिसमिसेदेखि नै सडक किनारमा बसेर भक्का पकाउने र बेच्ने गर्छन् । सहरका गल्लीमा पनि भक्का पसल बढ्दै गएका छन् भने ठूला तारे होटलदेखि साना चिया पसलमा खाजाका रुपमा भक्काको बजार दिनानुदिन बढ्दै गएको छ ।

“भक्का राजवंशी समुदायको मौलिक परिकार हो”, साहित्यकार पवन राजवंशी भन्छन्, “पानीको बाफमा पकाइने र कुनै प्रकारको मिसावट नहुने भएकाले भक्का खानु स्वास्थ्यका दृष्टिले उत्तम मानिन्छ ।” सयौँ वर्षअघि पूर्वी तराईको जङ्गलबीचको उब्जाउ जमिनमा राजवंशी समुदायको बसोबास भएको मानिन्छ । कहिलेदेखि भक्काको चलन सुरु भयो भन्ने यकिन नभए पनि राजवंशी समुदायको थातथलो विस्तारसँगै रैथाने परिकारका रुपमा भक्का खाने चलन झापा र मोरङमा सुरु भएको मानिन्छ ।

त्यस्तै, भक्का बनाउन धानको चामललाई पीठो बनाएर बटुकामा राखेर बाफमा केहीबेर पकाइन्छ भने चिया र अचारसँग खाँदा भक्का झनै स्वादिलो हुने स्थानीय आत्माराम राजवंशी बताउछन् । माछासँग पनि भक्का खाने गरिएको उनले बताए । सात वर्षदेखि हरेक वर्ष पुस २९ गते झापामा भक्का दिवस मनाउन थालिएको छ भने भक्काको पहिचान स्थापित गर्न र पर्यटन प्रवर्द्धन गर्न दिवसको अवधारणा अघि सारिएको राजवंशी भाषा विकास समितिका अध्यक्ष अभय राजवंशीले बताए ।

यसपालि भद्रपुरको सिटी गार्डेन र विर्तामोडको डोमालाल रङ्गशालामा भक्का दिवस कार्यक्रमको आयोजना गरिएको छ । त्यहाँ राजवंशी समुदायको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने भएको छ भने विर्तामोडको कार्यक्रममा एक सय ५० राजवंशी महिलाले दुई हजार किलोग्राम चामलको पीठोबाट भक्का बनाउने भएका छन् । ख्यातिप्राप्त मास्टरसेफ सन्तोष राजवंशीलाई समेत कार्यक्रममा आमन्त्रण गरिएको छ ।

यही पुस २९ गते नै भद्रपुरमा राजवंशी समाज विकास समितिले कार्यक्रम आयोजना गरेको समितिका अध्यक्ष उत्तम राजवंशीले बताए । उक्त कार्यक्रममा भारतीय कलाकारको समेत सहभागिता रहने उनले जानकारी दिए । राजवंशी समुदायको मौलिक खानेकुरा भएकाले उनीहरु नै भक्काको प्रचारप्रसारमा जुटेका छन् भने भक्का दिवस पनि राजवंशी समुदायकै अग्रसरतामा मनाउन थालिएको हो ।

झापाको कचनकबल गाउँपालिकाले पुस २९ गते भक्का दिवसका अवसरमा बिदा दिने निर्णय गरेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव मैनालीले बताएका छन्।


प्रकाशित मिति: २७ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?