Trending
>>   धर्म,संस्कार र तीज:हराउदै गएको मौलिकता >>   इन्दिरा रानालाई देखाएर सत्ता गठबन्धन संवैधानिक निकाय कब्जा गर्ने डिजाइनमा छः अध्यक्ष दाहाल >>   मैले देशको राजनीति छोड्दा सबै गर्ल्यागुर्लुम ढल्ने हो की जस्तो लाग्छः अध्यक्ष दाहाल >>   शंकर पोखरेलको प्रश्नः नेपालको राजनीतिक कमजोरीको दण्ड देउवाले व्यहोर्नुपर्ने हो ? >>   रास्वपा विचार र लक्ष्य नभएको पार्टी : वर्षमान पुन >>   जनता भन्दा ठूलो कोही छैन, जनताको सेवा गरौँः सभापति देउवा >>   पैसा खाएको छ भने थुनेर हुँदैन, पैसा तिर्न लगाउनुपर्छः अर्थसमिति सभापति चालिसे >>   एकतालाई मूल मन्त्र बनाएर अघि बढौँ, काँग्रेसलाई कसैले कमजोर पार्न सक्दैनः रमेश लेखक >>   काँग्रेसभित्र ठूलो आत्मविश्वास र शुद्धता चाहिएको छः गगन थापा >>   नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावादको नारा सबैभन्दा शक्तिशाली बन्योः घनश्याम भुसाल
Logo
४ भाद्र २०८२, बिहीबार
४ भाद्र २०८२, बिहीबार

पूर्वी तराईमा ‘भक्का’ खाने चलन लोकप्रिय


झापा। पूर्वी तराईको झापा र मोरङका आदिवासी राजवंशी समुदायमा ‘भक्का’ खाने चलन धेरै पुरानो हो । धानको पीठोबाट बनाइने भक्का पोषिलो, स्वादिलो र आडिलो हुन्छ । अचेल यो परिकार पूर्वी तराईको लोकप्रिय बनिसकेको छ ।

पुस–माघको चिसो मौसममा राजवंशी महिला हुरहुरी बाफ उड्ने तातो खाजाका रुपमा भक्का बनाउने गर्दछन् भने यसको स्वादले पहाडबाट बसाइँ सरेर आएका तराईका अरू समुदायलाई समेत आकर्षित गरेको छ । राजवंशी मात्र होइन, मेचे, धिमाल, ताजपुरिया र थारु महिला पनि भक्का बनाउँछन् ।

त्यस्तै, झापाको ग्रामीण बस्तीमा सानो माटाको हण्डीमा पानी उमालेर बाफमा बिहान झिसमिसेदेखि नै सडक किनारमा बसेर भक्का पकाउने र बेच्ने गर्छन् । सहरका गल्लीमा पनि भक्का पसल बढ्दै गएका छन् भने ठूला तारे होटलदेखि साना चिया पसलमा खाजाका रुपमा भक्काको बजार दिनानुदिन बढ्दै गएको छ ।

“भक्का राजवंशी समुदायको मौलिक परिकार हो”, साहित्यकार पवन राजवंशी भन्छन्, “पानीको बाफमा पकाइने र कुनै प्रकारको मिसावट नहुने भएकाले भक्का खानु स्वास्थ्यका दृष्टिले उत्तम मानिन्छ ।” सयौँ वर्षअघि पूर्वी तराईको जङ्गलबीचको उब्जाउ जमिनमा राजवंशी समुदायको बसोबास भएको मानिन्छ । कहिलेदेखि भक्काको चलन सुरु भयो भन्ने यकिन नभए पनि राजवंशी समुदायको थातथलो विस्तारसँगै रैथाने परिकारका रुपमा भक्का खाने चलन झापा र मोरङमा सुरु भएको मानिन्छ ।

त्यस्तै, भक्का बनाउन धानको चामललाई पीठो बनाएर बटुकामा राखेर बाफमा केहीबेर पकाइन्छ भने चिया र अचारसँग खाँदा भक्का झनै स्वादिलो हुने स्थानीय आत्माराम राजवंशी बताउछन् । माछासँग पनि भक्का खाने गरिएको उनले बताए । सात वर्षदेखि हरेक वर्ष पुस २९ गते झापामा भक्का दिवस मनाउन थालिएको छ भने भक्काको पहिचान स्थापित गर्न र पर्यटन प्रवर्द्धन गर्न दिवसको अवधारणा अघि सारिएको राजवंशी भाषा विकास समितिका अध्यक्ष अभय राजवंशीले बताए ।

यसपालि भद्रपुरको सिटी गार्डेन र विर्तामोडको डोमालाल रङ्गशालामा भक्का दिवस कार्यक्रमको आयोजना गरिएको छ । त्यहाँ राजवंशी समुदायको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने भएको छ भने विर्तामोडको कार्यक्रममा एक सय ५० राजवंशी महिलाले दुई हजार किलोग्राम चामलको पीठोबाट भक्का बनाउने भएका छन् । ख्यातिप्राप्त मास्टरसेफ सन्तोष राजवंशीलाई समेत कार्यक्रममा आमन्त्रण गरिएको छ ।

यही पुस २९ गते नै भद्रपुरमा राजवंशी समाज विकास समितिले कार्यक्रम आयोजना गरेको समितिका अध्यक्ष उत्तम राजवंशीले बताए । उक्त कार्यक्रममा भारतीय कलाकारको समेत सहभागिता रहने उनले जानकारी दिए । राजवंशी समुदायको मौलिक खानेकुरा भएकाले उनीहरु नै भक्काको प्रचारप्रसारमा जुटेका छन् भने भक्का दिवस पनि राजवंशी समुदायकै अग्रसरतामा मनाउन थालिएको हो ।

झापाको कचनकबल गाउँपालिकाले पुस २९ गते भक्का दिवसका अवसरमा बिदा दिने निर्णय गरेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव मैनालीले बताएका छन्।


प्रकाशित मिति: २७ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?