Trending
>>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

बालविकास केन्द्र सञ्चालन गर्न दक्ष जनशक्ति तयार गरिँदै


२८ फागुन , कञ्चनपुर । बालविकास केन्द्रलाई बालमैत्री बनाउनका लागि शुक्लाफाँटा नगरपालिकाले सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गरेको छ । खेलौनाको माध्यमबाट खेल खेलाउँदै सिकाउने कलालाई निर्खानका लागि सहजकर्तालाई शैक्षिक सामग्री निर्माण गर्ने कार्य सिकाउन थालिएको हो ।

बालविकास तहको पाठयक्रमका विषयवस्तुबारे जानकारीसँगै घरमा प्रयोग भइसकेका पुराना कपडा, चेप्टा ढुङ्गा, बाँसका छेस्का, काँटी, गेडागुडी, बालविकास केन्द्रमा प्रयोग भइसकेका विभिन्न किसिमका चार्टहरूको प्रयोग गरी खेलौना र शैक्षिक सामग्री बनाउन सिकाउनका लागि सहजकर्ताका लागि प्रशिक्षकको व्यवस्था मिलाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए । “बालविकास केन्द्र सञ्चालनको जिम्मा नगरपालिकाको रहेको छ”, उनले भने, “परम्परागत तरिकाले सञ्चालन हुँदै आएका बालविकास केन्द्रको आमूल परिवर्तन गरी आधुनिक तरिकाले बालबालिकालाई पढाइका सीप सिकाउनका लागि सहजकर्तालाई तयार गर्दैछौँ ।”

उनका अनुसार निजी क्षेत्रबाट मन्टेश्वरी विद्यालय सञ्चालन हुन थालेपछि बालबाविकास केन्द्रमा अभिभावकले बालबालिका पठाउन छाडेका छन् । निजी विद्यालयप्रतिको अभिभावकको आकर्षण बढ्दो छ । “निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नका लागि दक्ष जनशक्ति तयार गर्नु आजको आवश्यकता हो”,उनले भने , “युग सुहाउँदो बालशिक्षाका लागि चुनौती उत्तिकै ठूलो छ, अभिभावको विश्वास जित्नका लागि बालविकास केन्द्रको सुधार गर्नु छ, त्यसका लागि जनशक्ति तयार गर्दैछौँ ।”

बालविकास केन्द्रमा कार्यरत सहजकर्ताको क्षमता अभिवृद्धि गर्न बुक आर्ट नेपालका शान्ता दाहाललाई प्रशिक्षकका रूपमा नियुक्त गरी तालिम दिने कार्य भइरहेको उनले बताए । सहजकर्तालाई तालिमसँगै बालविकास केन्द्रको भौतिक पूर्वाधार विकास, कार्पेट, कुसन, शैक्षिक सामग्री, खेलौना, बाल खेलकुदका सामग्री, सन्दर्भ सामग्रीको व्यवस्था गरिन लागेको उनले जानकारी दिए । बालबालिकाको क्षमता पहिचान गरी खेलको माध्यमबाट सिकाउने कार्यलाई प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर योजनाबद्धरूपमा कार्य अगाडि बढाइएको उनको भनाइ छ ।

“यसका लागि कार्ययोजना बनाई लागू गर्छौँ”, उनले भने । नगरप्रमुख रणबहादुर महराले बालविकास केन्द्र पुरानै तौरतरिकाले अब चल्न नसक्ने बताए  । “नमूना बालविकास केन्द्र कसरी बनाउन सकिन्छ, यसका लागि कार्य अगाडि बढाउँदैछौँ”, महराले भने, “निजी क्षेत्रबाट सञ्चालित मन्टेश्वरी विद्यालयसँग बालविकास केन्द्रले प्रतिस्पर्धा गर्ने गरी नयाँ ढङ्गले सञ्चालनमा जोड दिन थालेका छौँ ।” नगर उपप्रमुख कल्पना जोशी पन्तले बालविकास केन्द्रमा बालबालिकाको आकर्षण कसरी बढाउन सकिन्छ, यसका लागि सहजकर्ताहरूले मेहनत गर्नुपर्ने बताए । बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरूको आनीबानीमा सुधारसँगै अनुशासन र पढाइ सीपको विकास गर्नका लागि सहजकर्ताको महत्वपूर्ण भूमिका हुने उनले बताए।

पहिलो चरणमा नगरपालिकामा सञ्चालित ६५ बालविकास केन्द्रमध्ये ३४ बालबाविकास केन्द्रका सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तथा पुनर्ताजगी तालिम दिइरहेको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखका नायब प्राविधिक सहायक दीपेन्द्र जोशीले बताए । नगरपालिका क्षेत्रमा सञ्चालित ६५ वटा बालविकास केन्द्रमा दुई हजार पाँच सय १८ बालबालिका भर्ना भई पढ्दै आएका छन् । नगरपालिकाले बढी बालबालिका भएका बालविकास केन्द्रमा थप सहजकर्ताको व्यवस्था गर्ने र बालबालिका कम भएका बालविकास केन्द्रमा बालबालिकाको सङ्ख्या बढाउनका लागि अभिभावकसँग अन्तक्र्रिया र छलफललगायतका कार्य गर्ने भएको छ ।


प्रकाशित मिति: २८ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?