Trending
>>   २८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस >>   धरहरा चढ्न दुई सय रुपियाँ शुल्क >>   गैँडाको आक्रमणबाट एक पुरुषको मृत्यु >>   कोशी प्रदेशका मुख्यमन्त्रीको घर अगाडि शंकास्पद वस्तु फेला >>   प्रधानमन्त्री केपी ओलीका बुबा अस्पताल भर्ना >>   १८९ किलो गाँजा सहित सिन्धुलीमा एक जना पक्राउ >>   चार प्रदेशमा हल्का बर्षाको सम्भावना ,हिमाली भेगमा हिमपात हुने >>   आज मिति २०८१ साल मङ्सिर ०८ गते शनिबार,हेर्नुहोस आजको राशिफल >>   उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश >>   दरबारमार्गमा फोहोर गरेको भन्दै एमालेलाई महानगरको १ लाख जरिवाना !
Logo
८ मंसिर २०८१, शनिबार
८ मंसिर २०८१, शनिबार

काभ्रेमा बालविवाह रोक्न सडक नाटक अभियान


बालविवाह न्यूनीकरण गर्दै रोक्नेसम्मको उद्देश्यसहित काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले हाल सडक नाटक अभियान थालेको छ । आइतबार स्थानीय धार्ने ज्योति माध्यमिक विद्यालय र फलामेटारस्थित बाल विकास माविमा बालविवाहविरुद्ध चेतनामूलक सडक नाटक प्रदर्शन गरियो । त्यसैगरी सोमबार देरालीस्थित शारदा मावि र जनहित महाँकाल माविमा आदि/इत्यादी नामक संस्थाले बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन ग¥यो । बालविवाहलाई न्यूनीकरण गर्न हाल गाउँपालिकाले तालिका बनाएर स्थानीय माध्यमिक विद्यालयमा एकहप्ते सडक नाटक अभियान सञ्चालन गरेको हो । “बालविवाह एउटा ठूलो समस्या बनिरहेको अवस्थामा सडक नाटकमार्फत न्यूनीकरण गर्ने अभियान थालेका हौँ”, गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले भन्नुभयो । उहाँका अनुसार अभियानलाई आवश्यकतानुसार निरन्तरता दिने योजना बनाइएको छ ।

उक्त गाउँपालिकामा बालविवाहको यकिन तथ्याङ्क नभए पनि ठूलो समस्याका रूपमा रहेकाले योजनाबद्धरूपमा यसको न्यूनीकरण गर्दै बालविवाह रोक्नेसम्मको उद्देश्य राखिएको थिङले बताउनुभयो । उहाँले भन्नुभयो, “नाटकमा सानै उमेरमा विवाह गर्दा घर–व्यवहार र शारीरिकरूपमा पर्ने समस्याबारे अभियान गरिएको छ ।” उक्त गाउँपालिकामा विशेषगरी अधिकांश तामाङ समुदायको बसोबास रहेको छ । केही महिनाअघि काभ्रेपलाञ्चोकको प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले जिल्लाको दक्षिणी भेगस्थित डाँडापारि क्षेत्रमा पर्ने खानीखोला र महाभारत गाउँपालिकाको भ्रमण गर्ने क्रममा बालविवाहका घटना भइरहेको पाइएको बताउनुभएको थियो । “हामीले त्यस क्षेत्रको भ्रमणका क्रममा विद्यालयमा कक्षा ७ सम्म विद्यार्थीको सङ्ख्या राम्रो नै हुने तर कक्षा ८ मा पुगेपछि बर्सेनि विद्यार्थीको सङ्ख्या न्यून हुने कारण खोज्दा बालविवाह रहेको पाएका थियौँ, अहिले न्यूनीकरणका लागि अभियान चलाइएकामा खुसी लागेको छ”, जोशीले भन्नुभयो । जोशी जिल्लाका केही स्थानमा बालविवाह भइरहेको अनौपचारिक जानकारी प्राप्त भए पनि त्यसविरुद्ध कुनै उजुरी नपरेको बताउनुहुन्छ । उहाँले तत् क्षेत्रमा बालविवाह रोक्न सबै सरोकारवाला निकायबीच सहकार्य गर्न आग्रह गरेको बताउनुभयो । बितेका एक वर्षमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१ स्थित एक विद्यालयमा अध्ययनरत सात विद्यार्थीले विवाह गरेका थिए ।

विद्यालयमा अध्ययनकै क्रममा विवाह गर्ने उनीहरुको ‘उमेर’ पुगेको थिएन । देवीस्थान माध्यमिक विद्यालयमा अध्ययनरत पाँच छात्रा र दुई छात्रले उमेर नपुग्दै विवाह गरेका हुन् । जिल्ला सदरमुकाम धुलिखेलमा अवस्थित उक्त विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत ती विद्यार्थीमध्ये केहीले आफूखुसी तथा केहीलाई अभिभावकले उमेर नपुग्दै विवाह गरिदिएको घटनाक्रमले देखाएको छ । अघिल्लो वर्ष सोही विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले ‘बालविवाह’ गरेको शिक्षक नै बताउनुहुन्छ । शैक्षिकसत्र २०७८ मा स्थानीय देवीस्थान माविका सात विद्यार्थी ‘बालविवाह’ गरेको धुलिखेल–१ वडाध्यक्ष सन्तबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार स्कुल अध्ययनकै क्रममा विवाह गरेका बालबालिकाविरुद्ध भने हालसम्म कुनै निकायमा उजुरी परेन ।उहाँ बस्तीमा बालविवाह रोक्न अभिभावक, विद्यालय प्रशासन, स्थानीय सरकार तथा सम्बन्धित निकाय सबैको ध्यान जानुपर्ने बताउनुहुन्छ । “म निर्वाचित भएपछि आफ्नो वडाको वार्षिक योजनामा बालविवाह रोक्ने विभिन्न कार्यक्रम समावेश गरेको छु”, उहाँले भन्नुभयो ।

वडाध्यक्ष तामाङले बालविवाहको प्रकृति हेर्दा विद्यालयको एउटै कक्षामा अध्ययन गर्ने छात्र र छात्राबीच कुराकानी, सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालमा कुराकानी हुने र त्यसकै कारणबाट बालावस्थामै विवाह हुने गरेको पाइएको बताउनुभयो । विद्यालयका शिक्षक रामेश्वर पौडेलले उमेर नपुग्दै विवाह गरेकामध्ये केही विद्यार्थीले विद्यालय आउन छाडेका छन् भने केही विद्यालयमा अध्ययनका लागि आइरहेको बताउनुभयो ।उहाँका अनुसार चालु शैक्षिकसत्रको एक महिनामा भने कुनै विद्यार्थीले उमेर नपुग्दै विवाह गरेका छैनन् । वडाध्यक्ष तामाङले वडाकै योजनाअनुसार बालविवाह रोक्न अभिभावक र विद्यालयका शिक्षकसँग अन्तक्र्रिया गरी बालविवाहबाट पर्ने प्रभावबारेमा जानकारी दिइने बताउनुभयो । “यस्तो घटना न्यूनीकरणका लागि घरमा अभिभावक र विद्यालयमा शिक्षकले विद्यार्थीको चालचलनसमेत बुझ्नुपर्ने हुन्छ, हामी सबै तरिका अपनाई बालविवाहजस्तो गम्भीर समस्या सुल्झाउन लाग्नेछौँ”, तामाङले भन्नुभयो ।

जिल्ला सदरमुकाम तथा बालमैत्री नगर घोषणा गरिएको स्थानमै बालविवाहजस्ता घटना भइरहँदा गम्भीर समस्या निम्तिँदै गएको देखिन्छ । धुलिखेल नगर महिला तथा बालबालिका शाखाको पूजा काफ्लेले नगरमा चेतनामूलक कार्यक्रम गरिरहेको बताउनहुन्छ ।प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बालविवाहविरुद्ध उजुरी नपरेसम्म केही गर्न नसकिने बताउनुहुन्छ । “विशेषगरी स्थानीय तहले बालविवाहविरुद्धका गतिविधि सञ्चालन गर्नुपर्ने हो, हामीले उजुरी नआएको हकमा प्रहरीसँग मिलेर सचेतनाबाहेक केही गर्न सक्दैनौँ”, उहाँले भन्नुभयो । नेपालमा २० वर्ष नपुगी गरिएका विवाह स्वतः रद्द हुने, विवाह गर्ने केटाकेटीका साथै गराउने व्यक्तिलाई तीन वर्ष कैद वा रु ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ । नेपालले बालविवाहलाई विसं २०२० मै गैरकानुनी ठहर गरेको हो । दिगो विकास लक्ष्यले बालविवाह अन्त्य गर्ने लक्ष्य लिएसँगै सरकारले पनि सन् २०३० सम्ममा मुलुकबाटै बालविवाह अन्त्य गर्ने राष्ट्रिय रणनीति अनुमोदन गरिसकेको छ ।


प्रकाशित मिति: १९ पुष २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?