Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी


काठमाडौं । नेपाल पत्रकार महासंघले समाचार संकलन तथा प्रकाशनका क्रममा रहेका पत्रकारलाई प्रहरीले पक्राउ गर्ने र कार्यालयमै पुगेर धरपकडको प्रयास गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ।

महासंघले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, माउन्टेन न्युजका शोभराज बराल र डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेतलाई गैरकानुनी रूपमा पक्राउ गरिएको जनाएको छ। त्यस्तै, नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनालीलाई कार्यालयबाटै धरपकड गर्ने प्रयास भएको भन्दै महासंघले निन्दा गरेको छ।

विज्ञप्तिअनुसार मैनालीलाई पक्राउ गर्न प्रहरी साँझ ५ बजेदेखि ७ बजेसम्म कार्यालयमै बसेको थियो। महासंघका महासचिव रामप्रसाद दाहाललगायतको दबाबपछि प्रहरी पछि हटेको महासंघले जनाएको छ। पक्राउ गरिएका पत्रकारलाई समेत शुक्रबार साँझसम्म रिहा नगरिएको र दिउँसो दियो पोस्टका पत्रकार सुदीप विश्वकर्मालाई पनि पक्राउ गर्न निगरानी गरिएको जानकारी प्राप्त भएको महासंघले उल्लेख गरेको छ।

समाचारको विषयमा कुनै समस्या भए त्यसको समाधान विधिसम्मत प्रक्रियाबाट खोज्नुपर्नेमा राज्यआतङ्क सिर्जना गर्नु अस्वीकार्य रहेको महासंघको ठहर छ। यस्तो कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय कानुन, संविधान र कानुनी व्यवस्थाविपरीत रहेको महासंघले जनाएको छ।

महासंघले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारसमेत मिचेर राज्यसत्ताको आडमा प्रहरीले अपनाएको स्वेच्छाचारी कदमप्रति खेद व्यक्त गर्दै कडा भर्त्सना गरेको छ। साथै, आमपत्रकारलाई अविचलित रूपमा प्रेस स्वतन्त्रताको अभ्यास गर्न र राज्यका गतिविधिविरुद्ध खबरदारी गर्न महासंघले आह्वान गरेको छ। पत्रकारमाथिको धरपकड नरोकिए सशक्त आन्दोलनमा उत्रने चेतावनीसमेत महासंघले दिएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल रोक्न र पत्रकारलाई निर्बाध रूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।


प्रकाशित मिति: १३ कार्तिक २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?