काठमाडौं। गत १० भदौको रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीले क्षति पुर्याएको रसुवागढी नाकाको पुनःनिर्माण तथा सिन्धुपाल्चोकको तातोपानी नाकालाई नियमित रुपमा सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कूटनीतिक पहल तीव्र पारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
शुक्रवार मन्त्रालयले नियमित प्रेस ब्रिफिङको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । प्रेस ब्रिफिङमा बोल्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले नेपाल–चीन जोड्ने मुख्य व्यापारिक नाका सञ्चालनमा ल्याउन बिहीवार परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा सम्बन्धित विभाग तथा मन्त्रालयका प्रतिनिधिबीच अन्तरमन्त्रालय समन्वय बैठक सम्पन्न भएको बताएका छन् । उनकाअनुसार बैठकमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवागढी नाकामा पुर्याएको क्षतिको मूल्याङ्कन, पुनःनिर्माण लगायतका विषयमा छलफल भएको छ । यसअघि गत भदौ १० गते आएको बाढीपछि अवरुद्ध तातोपानी नाका वडा दशैंको अवसरमा तीन दिनका लागि ठूला मालवाहक सवारी साधन सञ्चालन गर्न खुला गरिएको थियो ।
उनले भने, ‘गत भदौ दश गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चात अवरुद्ध भएको नेपाल र चीन जोड्ने तातोपानी नाकाबाट ठूला मालवाहक सवारी साधन वडा दशैंको अवसरमा तीन दिनको लागि खुला गरिएको थियो । यो कुरा अवगत नै छ । यसैगरी २६ अगस्ट २०२६ मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवागढी नाकामा पुर्याएको ठूलो क्षतिको मूल्याङ्कन गरी उक्त नाकालाई पुनः सञ्चालनमा ल्याउन पुनः निर्माण लगायतका विषयमा छलफल गर्न र अन्य नाकाहरु खुलाउने विषयमा सम्बन्धीत विभाग तथा मन्त्रालयहरुसँग परराष्ट्रमन्त्रीको उपस्थितिमा अन्तरमन्त्रालय समन्वय बैठक सम्पन्न भएको छ । चीनसँगका नाकाहरु खुलाउने सम्बन्धमा मन्त्रालयमार्फत नियमित समन्वय भइ नै रहेको छ ।’
प्रवाक्त क्षेत्रीले दक्षीण पूर्वी एशियाली देशहरुमा सञ्चालित अनलाइन स्क्यामिङ फसेका नेपाली नागरिकको उद्धारका लागि समेत आवश्यक पहल र समन्वय भइरहेको पनि जानकारी दिएका छन् ।
प्रकाशित मिति: १३ कार्तिक २०८३, शुक्रबार