काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने तथा सञ्चारमाध्यममा धरपकड गर्ने कार्यको घोर निन्दा गरेका छन्। प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप लोकतन्त्रमाथिकै प्रहार भएको उल्लेख गर्दै घिसिङले सरकारको यस्तो कदम लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको बताएका हुन्।
उनले संविधानले सुनिश्चित गरेका विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हक कुनै सरकारको इच्छामा निर्भर नरहने नागरिकका मौलिक अधिकार भएको उल्लेख गरेका छन्। निर्वाचित सरकारले संविधानको संरक्षण र नागरिक अधिकारको सुनिश्चितता गर्नुपर्नेमा पत्रकारलाई पक्राउ गर्ने, सञ्चारगृहमा प्रवेश गरी नियन्त्रणमा लिने र सञ्चारमाध्यममाथि दबाब सिर्जना गर्ने कार्य आपत्तिजनक रहेको उनको भनाइ छ। सरकारका कामकारबाहीमाथि प्रश्न उठाउनु, सत्ताको निगरानी गर्नु र सत्यतथ्य उजागर गर्नु पत्रकारिताको धर्म भएको भन्दै उनले आलोचनालाई निषेध गर्ने प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउने बताएका छन्।
घिसिङले प्रेस स्वतन्त्रतामाथिका सबै प्रकारका हस्तक्षेप तत्काल बन्द गर्न, पक्राउ परेका पत्रकारको कानुनी अवस्था सार्वजनिक गर्न र स्वतन्त्र पत्रकारिताका लागि सुरक्षित वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन्। ‘पत्रकारको कलम रोक्दैमा सत्य रोकिन्न, प्रश्न दबाउँदैमा जवाफदेहिताबाट उम्किन सकिँदैन,’ घिसिङले आफ्नो वक्तव्यमा भनेका छन्।
प्रकाशित मिति: १३ कार्तिक २०८३, शुक्रबार