काठमाडौँ। नेपाली कांग्रेसले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गर्ने तथा जनदबाबपछि मात्रै रिहा गर्ने प्रवृत्ति तत्काल रोक्न सरकारसँग माग गरेको छ।
सभापति गगनकुमार थापाले शुक्रबार विज्ञप्ति जारी गर्दै समाचार कक्षमै प्रहरी परिचालन गरी पत्रकार पक्राउ गर्ने कार्यलाई शाहीकालीन निरंकुशताको झल्को भन्दै आपत्ति जनाएका छन्। कांग्रेसले पत्रकारमाथि हुने गैरकानुनी पक्राउ, धरपकड र सञ्चारगृहमा प्रहरी हस्तक्षेप रोक्न माग गर्दै गल्ती भए प्रेस काउन्सिललगायत स्थापित कानुनी प्रक्रियाबाट निरूपण गर्नुपर्ने जनाएको छ।
विज्ञप्तिमा प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै नियन्त्रणमा लिइएका व्यक्तिको संवैधानिक अधिकार रक्षा गर्न र कानुनी प्रक्रियाबाहिर गरिएका कदम सच्याउन सरकारसँग आग्रह गरिएको छ।
प्रकाशित मिति: १३ कार्तिक २०८३, शुक्रबार