Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग


काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयास गरेको प्रहरीको कदमप्रति गम्भीर आपत्ति जनाएको छ।

काउन्सिलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत कार्यालय समय सकिएपछि विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा सादा पोशाकका प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको र पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो। पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको, अदालतको अनुमति लिइएको नदेखिएको तथा अपराधको जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकारलाई नियन्त्रणमा लिनु गम्भीर आपत्तिको विषय भएको काउन्सिलको ठहर छ।

प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको काउन्सिलले जनाएको छ। सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति वा आचारसंहितासम्बन्धी उजुरी परेमा त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको रहेको विज्ञप्तिमा उल्लेख छ। समाचारकै विषयमा सीधै प्रहरी परिचालन गर्नु काउन्सिलको स्थापित विधि र प्रक्रियाविपरीत भएको भन्दै काउन्सिलले नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित सबै पक्षलाई काउन्सिलमार्फत समाधान खोज्न आग्रह गरेको छ।

त्यसैगरी, काउन्सिलको नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न तथा कानुनी आधारबिना नियन्त्रणमा राखिएका पत्रकारलाई तत्काल रिहा गर्न माग गरेको छ। काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित रहेर पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नसमेत आग्रह गरेको छ।

प्रेस स्वतन्त्रताको संरक्षण र मर्यादित पत्रकारिताको संवर्द्धनका लागि काउन्सिल सदैव प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।


प्रकाशित मिति: १३ कार्तिक २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?