Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

चिउरीबाट घ्यू उत्पादन गर्दै चेपाङ


भरतपुर। गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला चितवनको चेपाङ गाउँमा त्यही परम्परागत प्रविधि प्रयोग गरी घ्यू उत्पादन गर्ने गरिएको छ। कालिका नगरपालिका-१० जिङलाउका चेपाङ समुदायले जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर गरेर घ्यू उत्पादन गर्ने गरेका छन् ।

त्यस्तै, जंगलमा खेर गइरहेको चिउरीको दाना पेलेर घरमै घ्यू उत्पादन गर्दै आएको कालिका–१० जिङलाउका कलाराम चेपाङले बताए । उनले भने, ‘बाउबाजेको पालादेखि यहाँ चिउरीको राम्रो उत्पादन हुँदै आएको छ, हामीले पनि प्रत्येक वर्ष घ्यू उत्पादन गर्दै आएका छौं।’

उनले चिउरीकै घ्यू प्रयोग गरेर खाना पकाउँदै आएको बताए। बजारको तेलप्रति रुचि नभएको उल्लेख गर्दै उनले घरमै एकपटक चिउरीको बियाँ पेलेपछि वर्षभरिलाई पुग्ने बताए । ‘बजारको तेल किन्नै पर्दैन, पैसाको पनि बचत हुन्छ’, कलारामले भने, ‘चिउरीको घ्यू स्वास्थ्यका लागि पनि राम्रो छ।’

चिउरीको घ्यूमा कुनै मिसावट पनि नहुने उनको भनाइ छ । चिउरी असारमा पाक्छ । साउनमा टिप्ने गरिन्छ। उनले भने, ‘चिउरी खाएर रहेको बियाँलाई धोएर नबिग्रने गरी सुरक्षित राख्छौं ।’ एक वर्षमा झण्डै चार मुरी चिउरी टिप्ने गरेको वर्षभरिलाई पुग्ने गरेको कलारामले बताए। ‘यसको बजार भाउ छैन। तर न्यून सङ्ख्यामा घ्यू किन्न आउने गरेका छन्’, उनले भने।

राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक रामलाल चेपाङले चिउरीको बियाँबाट निस्कने घ्यू औषधिको रूपमा समेत प्रयोग गर्ने गरेको बताए । ‘हातखुट्टा, ओठ फुटेको ठाउँमा लगाउने गरेका छौं’, उनले भने।त्यसैगरी, बोटको बोक्रा टन्सिल, कुष्ठरोग, मधुमेहजस्ता रोगमा औषधिका रूपमा प्रयोग हुने गरेको उहाँले बताए । घ्यू निकालेर निस्कने पिना खेतबारीमा कीटनाशक औषधिका रूपमा प्रयोग हुने गरेको शिक्षक रामलालले बताए ।

विगतमा चेपाङ समुदायमा छोरीलाई चिउरीको रुख नै दाइजो दिने चलन थियो । तर, अहिले चिउरीको रुख दाउरा बाल्न, चिउरीको पात खसी बाख्रालाई खुवाउन प्रयोग हुन थालेको छ। चिउरी, चमेरो र चेपाङको सम्बन्ध रहेको उल्लेख गर्दै उनले पुर्खाले चिउरीको रुखलाई संरक्षण गरेर राखेको उल्लेख गरे ।

दाउरा बाल्न थालेपछि चिउरीको रुख नासिँदै गएको छ। चिउरीको फूलको रसबाट बनेको मह बजारमा प्रशस्तै पाइन्छ भने अहिले चिउरीको फूल फुल्ने मौसम भएकाले यस क्षेत्रमा मौरी चराउन आउनेको घुइँचो लाग्ने गरेको छ । कालिका- १ का वडाध्यक्ष नरजङ्ग प्रजाले चिउरीको घ्यूले बजार पाउन नसकेको बताए । ‘अरू तेलको प्रयोग बढेपछि चिउरीको घ्यूको खासै माग छैन’, उनले भने, ‘यसको महत्त्वबारे बुझाउनुपर्ने आवश्यकता छ ।’

चितवनको इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिकाका साथै भरतपुर महानगरपालिकाका केही स्थानमा चिउरी पाइन्छ ।

 


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?