Trending
>>   धर्म,संस्कार र तीज:हराउदै गएको मौलिकता >>   इन्दिरा रानालाई देखाएर सत्ता गठबन्धन संवैधानिक निकाय कब्जा गर्ने डिजाइनमा छः अध्यक्ष दाहाल >>   मैले देशको राजनीति छोड्दा सबै गर्ल्यागुर्लुम ढल्ने हो की जस्तो लाग्छः अध्यक्ष दाहाल >>   शंकर पोखरेलको प्रश्नः नेपालको राजनीतिक कमजोरीको दण्ड देउवाले व्यहोर्नुपर्ने हो ? >>   रास्वपा विचार र लक्ष्य नभएको पार्टी : वर्षमान पुन >>   जनता भन्दा ठूलो कोही छैन, जनताको सेवा गरौँः सभापति देउवा >>   पैसा खाएको छ भने थुनेर हुँदैन, पैसा तिर्न लगाउनुपर्छः अर्थसमिति सभापति चालिसे >>   एकतालाई मूल मन्त्र बनाएर अघि बढौँ, काँग्रेसलाई कसैले कमजोर पार्न सक्दैनः रमेश लेखक >>   काँग्रेसभित्र ठूलो आत्मविश्वास र शुद्धता चाहिएको छः गगन थापा >>   नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावादको नारा सबैभन्दा शक्तिशाली बन्योः घनश्याम भुसाल
Logo
३ भाद्र २०८२, बुधबार
३ भाद्र २०८२, बुधबार

मनाङको तापक्रम माइनस १६, स्थानीय बेँसी झर्न थाले


मनाङ। जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ ।

बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातिमा करिब माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङ सदरमुकाम चामे आसपासका क्षेत्रमा माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ । तापक्रम मापन गर्दा अत्यन्त कम देखाउँदै गएको उनले बताए । जसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको उनले बताए ।

त्यसैगरी, प्रजिअ लामिछानेले भने, ‘चिसोले धारामा पानी जमेको छ भने खोलानालामा पनि पानी जम्दै गएको छ । बाटोमा हिउँ छ । सवारीसाधनको आवतजावत न्यून मात्रामा छ भने पिउने पानी जोहो गर्नै मुस्किल हुन थालेको छ ।’चिसो बढ्दै जाँदा यहाँका पूर्वाधार निर्माणका काम ठप्प भएको प्रजिअ लामिछानेले जानकारी दिएका छन् । चामे गाउँपालिकाले सूचना जारी गरी विकास निर्माणमा प्रयोग हुने सिमेन्टजन्य काम नगर्न आग्रह गरेको छ भने निमित्त प्रमुख प्रशासकीय अधिकृत नमनारायण मल्लले चिसोका कारण सिमेन्टसँग सम्बन्धित निर्माण कार्यमा समस्या हुने भएकाले काम बन्द गर्न भनिएको बताएका छन् ।

पूर्वाधार कार्यालय मनाङका प्रमुख जय विष्टले भने, ‘चिसो अत्यधिक छ । त्यसैले सिमेन्टजडित कार्य ठप्प भएको छ । योजनाको नाप जाँच, परीक्षणको काम गरिरहेका छौँ ।’ पहिलो हिमपात हुनासाथ यहाँका शैक्षिक संस्था बन्द भएका छन् भने शैक्षिक संस्था बन्द भएपछि यहाँका अधिकांश स्थानीय जाडो छल्न जिल्लाबाहिर गएका छन् । यहाँका स्थानीय लमजुङ, काठमाडौं, पोखरातर्फ झर्ने क्रम जारी रहेको छ ।

त्यस्तै, चिसोका कारण स्थानीय तल झरेपछि नार्पाभूमि गाउँपालिकामा रहेका दुई प्रहरी चौकी सदरमुकाम सारिएको प्रजिअ लामिछानेले जानकारी दिए । उनका अनुसार नार्पाभूमिका अत्यावश्यक कामकाजका लागि सदरमुकामस्थित चामे गाउँपालिका–३ कोतोमा अस्थायी कार्यालय स्थापना गरी सेवा प्रवाह भइरहेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले चिसो बढिरहेको अवस्थामा पनि पर्यटकको आगमन भइरहेको बताए । ‘सिजन’मा भन्दा पर्यटकको आगमन कम भए पनि आउने क्रममा जारी रहेको उनले जानकारी दिए । उनले भने, ‘चिसोमा पनि दैनिक १५ देखि २० पर्यटक आएका छन् । बाटोमा केही मात्रामा हिउँ छ । हिउँ खेल्दै रमाउँदै पर्यटक थोराङ्ला भञ्ज्याङ, तिलिचो तालतर्फ जाने आउने भइरहेको छ ।’ माथिल्लो क्षेत्रमा रहेका होटल व्यवसायी पूर्ण रूपमा बन्द नभएको भुजेलले जानकारी दिएका छन् ।

पर्यटकलाई मौसमसम्बन्धी जानकारीका साथै बाटोमा हुनसक्ने जोखिमलाई मध्यनजर गरी यात्रा गर्न सुझाव दिँदै आएको उनले बताए । मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका किसान सोनाम लामाले धेरैजसो गाउँले तल झरेका बताउछन् । आफूहरू घर कुर्ने र याकचौँरी हेर्न घरमै बसेको उनले बताए । उनले भने, ‘चिसोमा माउ चौँरी र युवा अवस्थाका याकलाई खुवाउन र बचाउन सजिलै हुन्छ । तर, चिसोमा बच्चालाई जोगाउन भने मुस्किल हुन्छ । ठूला पशुचौपायले पानी, घाँस आफैँ खोज्न सक्छन् ।’

‘लामो समयसम्म हिमपात भयो भने अलिअलि जम्मा गरेर राखेको घाँस सकिन्छ र खान नपाई दुब्लाएर मर्ने गर्छन् । जाडो मौसममा बच्चालाई गोठ बनाएर राखिन्छ भने हिउँ बढी परे पनि ठूला पशुचौपायलाई हिउँमै छाड्नुपर्छ । जाडोमा घाँस कम हुने भएकाले दूध पनि कम हुने हुँदा बच्चालाई मात्र पुग्छ । हामीले यो समयमा दूध दुहुँदैनाँं’, उनले भने, ‘लेकका खर्कबाट गाउँघर नजिक याकचौँरी ल्याइन्छ । नावर पनि याकचौँरीसँगै अलि तल नै झर्छन् । जसले गर्दा हिउँ चितुवा पनि पशुचौपाया नजिकै आहाराका लागि आउने गर्दछन् । यसबाट जोगाउन पनि हामी यहाँ बस्नुपर्ने हुन्छ ।’

यहाँ फागुनको पहिलो सातादेखि खेतीपातीको समय सुरु हुन्छ । त्यसबेला बेँसीमा झारिएका गोठ लेकका खर्कतर्फ लैजाने गरिन्छ । हाल जिल्लाभर चार हजार तीन सय ९७ याकचौँरी रहेका भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नरेन्द्र राईले जानकारी दिए । जाडो कम हुँदै गएपछि यहाँका स्थानीय पनि घर फर्कन थाल्छन् ।


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?