Trending
>>   विदेशबाट छोराछारीले जसलाई भन्छन् अभिभावकले त्यसैलाई भोट दिन्छन्ः गोपालमान श्रेष्ठ >>   गैरआवासीय नेपालीलाई दिएको नेपाली नागरिकताले काम गर्न सकेनः उपसभापति गुरुङ >>   लोकतन्त्र बचाउन प्रवासी नेपालीको भुमिका महत्वपूर्णः सभापति देउवा >>   सरकारमा जाने कुनै रुचि छैन, अब नयाँ आन्दोलनमा जाने होः अध्यक्ष दाहाल >>   राष्ट्रिय हक्कीमा कोशी र गण्डकी विजयी >>   गैरआवासीय नागरिकको अधिकार सुनिश्चित गर्न ऐन निर्माण प्रक्रियामा छः गृहमन्त्री लेखक >>   मजदुरहरूको रगतले देशको झण्डा रातो भएको हो, बलिदानबाट निस्किएका कुरा रातै हुन्छन्ः प्रधानमन्त्री >>   गल्ती भएका कुरामा सुध्रिन तयार छौँः उपसभापति खड्का >>   रातो मत्स्येन्द्रनाथको रथ गाःबहालमा तानियो (तस्बिरहरु) >>   सरकारको अस्थिरताका कारण गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानून निर्माणमा ढिलाइः परराष्ट्रमन्त्री राणा
Logo
१८ बैशाख २०८२, बिहीबार
१८ बैशाख २०८२, बिहीबार

लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको विकल्प छैन : उपप्रधानमन्त्री खड्का


काठमाडौं। कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रमा देखिएका केही समस्यालाई देखाएर कतिपय स्वार्थ समूहले अवाञ्छित राजनीतिक फाइदा लिन खोजेको प्रति सरकार गम्भीर रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औँ वार्षिकोत्सवको अवसरमा यहाँ आयोजित कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री खड्काले सर्वसाधारण जनसमुदायलाई कुनैपनि अराजक र उत्तेजक भीडको पछि नलाग्न र सरकारमाथि भरोसा राख्न आग्रह समेत गरे। “हजारौँ नागरिकको बलिदान र लामो समयको राजनीतिक सङ्घर्षबाट प्राप्त सङ्घीय, लोकतान्त्रिक र गणतन्त्रात्मक शासन व्यवस्थाको अर्को विकल्प छैन, यसमा रहेका कमी कमजोरीलाई सुधार्दै यो व्यवस्थालाई थप सबल, सदृढ र जनउत्तरदायी बनाउँदै अघि बढ्नु आजको आवश्यकता हो”, खड्काले भने । सरकार अर्थतन्त्रमा देखा परेका समस्या समाधान गर्न पूर्ण प्रतिबद्धताका साथ लागिरहेको बताउदै चाँडै अर्थतन्त्र सही ट्रयाकमा आउनेमा विश्वास व्यक्त समेत गरेका छन् ।

उनले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्र र सरोकारवाला सबैसँग रचनात्मक संवाद र सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको उल्लेख गरे । “अर्थतन्त्रको समस्यालाई हामीले सामूहिक रूपमा समाधान गर्न सक्छौँ । एकअर्कालाई दोषारोपणभन्दा पनि हामी सबैले आ–आफ्नो ठाउँमा जिम्मेवार भएर दायित्व निर्वाह गर्न सक्यौँ भने अर्थतन्त्र सुधारको लागि महत्त्वपूर्ण सहयोग हुन सक्छ”, उनले भने । त्यस्तै, विश्वको अर्थतन्त्र कोरोना महामारी, रुस–युक्रेन युद्ध र इजरायल–प्यालेस्टाइन सङ्घर्षलगायतले विश्व अर्थतन्त्र प्रभावित भइरहेको र नेपाल पनि यसबाट अछुतो नभएको उनको भनाइ रहेको थियो भने यस्तो जटिल र विषम परिस्थितिमा मुलुकमा आर्थिक स्थायित्व कायम गर्दै लगानीको वातावरणमा सुधार गरी आय र रोजगारी बढाउन हामीले हाम्रा सम्पूर्ण प्रयासलाई केन्द्रित गर्नुपर्ने खाँचो रहेको उनले बताएका छन् ।

“बढ्दो आयात र घट्दो निर्यातका कारण हाम्रो अर्थतन्त्र सदैब दबाबमा छ । त्यसमाथि पुँजीगत खर्च अपेक्षाकृत रूपमा हुन नसक्नु र राजस्व परिचालन पनि अपेक्षाकृत रूपमा बढ्न नसक्नुले अर्थतन्त्रलाई लयमा ल्याउन हामीले थप मिहिनेत गर्नुपर्ने स्थिति छ”, कार्यवाहक प्रधानमन्त्री खड्काले भने, “सरकारले लिएको उपयुक्त नीति तथा चालेको सकारात्मक कदमहरूले हालका दिनमा वैदेशिक मुद्रा सञ्चितिमा केही सुधार हुँदै गएको छ ।”

उनले अर्थतन्त्रमा देखिएका सबै समस्या समाधानमा सरकार गम्भीर रहेको उल्लेख गर्दै सुधारका लागि सरकारले यथासम्भव प्रयास गरिरहेको बताएका छन् । “सरकारले चालेका कदम र प्रयासका कारण ब्याजदर घट्दो क्रममा छ जसले गर्दा लगानी बढ्ने अपेक्षा गर्न सकिन्छ भने घरजग्गा कारोबार र पुँजीबजारमा देखिएको शिथिलता समाधानका लागि सरकारले नीतिगत रूपमै विभिन्न कदमहरू चालेको छ । यसको परिणामस्वरूप यी क्षेत्रमा विस्तारै सुधारका संकेत देखिन पनि थालेका छन्”, उनले भने ।

त्यसैगरी, खड्काले सरकार लगानीको वातावरणमा सुधार गर्न सुरुदेखि नै कटिबद्ध रहेको बताउदै यसका लागि सरकारले निजीक्षेत्र–मैत्री नीति तथा उपायहरू कार्यान्वयनमा ल्याइरहेको बताएका छन् । “अब निजी क्षेत्रले पनि सरकारले उपलब्ध गराएको लचिलो र अनुकूल नीतिगत संरचना तथा सरकारले तयार गरेका औद्योगिक तथा व्यापार पूर्वाधारहरूको फाइदा उठाउँदै लगानी र रोजगारी वृद्धिमार्फत अर्थतन्त्रको विकासमा थप सहयोग पुर्‍याउनु पर्दछ भन्ने मलाई लागेको छ । यसका लागि म यसै मञ्चबाट सबैलाई हार्दिक आग्रह गर्न चाहन्छु”, उनले भने ।

अर्थतन्त्रमा केही सकारात्मक संकेतहरु पनि देखिएको उनले बताएका छन् । “अर्थतन्त्रमा समस्या मात्र छैन । केही आशा र सुधारका प्रष्ट चित्र पनि देखिएका छन । त्यस्तै, पर्यटक आगमन बढ्दो छ, सेवा क्षेत्रमा लगानी बढ्न थालेको छ भने विप्रेषण पनि उत्साहजनक छ । त्यस्तै, सूचना प्रविधि क्षेत्रमार्फत नेपाल भित्रने आम्दानी अर्थतन्त्रको नयाँ आयामको रूपमा देखापरेको छ”, उनले भने, “राजस्व बढाउने सन्दर्भमा सरकारले निरन्तर प्रयास गरिरहेको छ भने पुँजीगत खर्चलाई उच्च र गुणस्तरिय बनाउन योजनाबद्ध कार्यतालिकामा सरकारले काम गरिरहेको छ ।” सरकारले लगानी बढाउन लगानी सम्मेलनको तयारी गरिरहेको समेत उनको भनाइ रहेको थियो ।

खड्काले अर्थतन्त्रमा समस्या देखिएका बेलामा आर्थिक पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् । “यस्तो समयमा आर्थिक विषयमा कलम चलाउने तपाईं पत्रकारहरूको भूमिका अझ निष्पक्ष, वस्तुनिष्ठ र व्यावसायिक हुनुपर्छ भन्ने मलाई लाग्दछ । यहाँहरूले देशको आर्थिक विकासको रथलाई गति दिन आफ्नो ठाउँबाट योगदान गरिरहनु भएकै छ र यसलाई आगामी दिनमा अझै सशक्त बनाउन आग्रह गर्न चाहन्छु”, उनले भने ।


प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?