Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

थारु समुदायमा होली पर्व ः आगो भित्र्याउने प्रचलन


शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायका अगुवा लहानु चौधरी होली पर्वका अवसरमा गाउँको देउथानमा आगो बाल्नमा व्यस्त हुनुहुन्छ । देउथानमा बालेको नयाँ आगो घर घरमा भित्र्याउने प्रचलन अनुसार उहाँ आगो बाल्न व्यस्त देखिनुभएको हो । होलीका अवसरमा गन्यारी नामक काठबाट निकालिएको आगो घरको चुलोमा बालेर वर्ष भरी निभ्न नदिने गरिएको उहाँले बताउनुभयो ।

“होलीका बेला भित्राइएको आगो तापेमा घरमा सुख शान्ति हुने र रोग व्याधि हटेर जाने विश्वास रहेको छ”, उहाँले भन्नुभयो, “देउथानमा बालिएको आगोमा गुइँठामा सल्काएर गाउँका सबैले घरमा लैजाने चलन पुस्तौँदेखि चल्दै आएको छ, यसलाई जीवन्त राख्दै आएका छौँ ।” सिमलको हाँगा गाडेर राखिएको ठाउँमा तोरीको डाँठ लगायतले बेरेर ठूलो थुम्को बनाएर राखिन्छ । थारु गाउँका गुरुवा, वडघरियाले देउथानमा तेलमा पकाईएको रोटी, गुडले पूजा गरि दियो बालेपछि परिक्रमा सकेपछि त्यस थुम्कोमा आगो लगाउने गर्दछन । आगो भने गाउँको दक्षिणतर्फ रहेको क्षेत्रमा बाल्ने गरिन्छ । रोटी र गुड आगो ल्याउन आएका सबै जनालाई प्रसादका रुपमा समान रुपमा बाँड्ने र ग्रहण गर्ने चलन रहेको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।

आगो लग्न आएका व्यक्तिले हिँड्दै गर्दा बाटोमा छाडेको आगो निभाउने गरिन्छ । आगलागी लगायतका घटना नहुन भनेर बाटोमा छुटेको आगो निभाइने गरेको उहाँले बताउनुभयो । “होलीका बेला आगोलाई सगुनका रुपमा भित्र्याउने गरेका छौँ”, उहाँले भन्नुभयो, “होलीका जलाएको भोलिपल्ट गाउँका महिलाले लोटामा पानी लगेर त्यस ठाउँमा रहेको आगो बह्रनी (एक प्रकारको झाडु) ले निभाउने र सफा गर्ने गर्दछन् । महिला घर फर्केपछि होलीमा रङ लगाउने कार्य गरी रमाइलो गर्दै होली मनाउने गरिन्छ ।”


प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?