Trending
>>   भैरहवा विमानस्थल स्थायी सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्छः मुख्यमन्त्री आचार्य >>   कुल गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान महत्वपूर्णः कृषिमन्त्री अधिकारी >>   सरकारले शिक्षालाई उच्च प्राथमिकता दिन सकेको छैनः अध्यक्ष दाहाल >>   मलेसियाको पीपीआई अक्टोबरमा २.४ प्रतिशतले घट्यो >>   इजिप्ट र जोर्डनबीच क्षेत्रीय विकासबारे छलफल >>   सन् २०३० सम्म ३८ करोड ५० लाख खोपको डोज उत्पादन गर्ने इजिप्टको लक्ष्य >>   चार एसपी एसएसपीमा बढुवा >>   मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे कारबाही >>   आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली,हिमाली भेगमा हिमपातको सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर १४ गते शुक्रबार ,हेर्नुहोस आजको राशिफल
Logo
१४ मंसिर २०८१, शुक्रबार
१४ मंसिर २०८१, शुक्रबार

माइतीघर मण्डलामा मनाइयो फगुवा उत्सव


काठमाडौँ, २० फागुन (रासस) : विभिन्न मुद्दा र माग लिएर दिनहुँ भिडभाड भइरहने माइतीघर मण्डला परिसरमा आज फरक दृश्य देखियो । उखु किसानदेखि विभिन्न समुदायका पहिचान, लोकतन्त्र, नागरिक खबरदारीका कैयन विषयमा दैनिकजसो सङ्घर्षका कार्यक्रम भइरहने माइतीघरमा ‘फगुवा उत्सव २०२३’ को माहोलले सबैको ध्यान त्यसतर्फ खिचेको देखिन्थ्यो । माइतीघर सडक भइ आवतजावत गर्ने सर्वसाधरणदेखि सवारी साधनमा घुइँकिनेहरुले पनि माइतीघर पुगेपछि क्षणिक रुपमा भए पनि फरक दृश्यको दृश्यावलोकन गर्न भ्याए । दैनिक विभिन्न समूहको आन्दोलन भइरहने माइतीभरमा आजको दृश्यलाई सबैले उत्सुकतापूर्वक लिएका थिए । फागुको रङ्ग र अबिरले माइतीघरको सडक रङ्गिएको थियो । जम्मा भएका व्यक्तिको रङ्गले रङ्गीचङ्गी वेशभूषाले भिडतर्फ आकर्षण पथ्र्यो । त्यो दृश्यले सडकको माहोललाई बेग्लै उल्लासमय बनाएको थियो । माइतीघर मण्डलामा रङ्गिएको रङ्गमा झुम्मिएको जनसाधारणको भिडले कार्यक्रमको महिमा बढाएको थियो । आन्दोलनका क्रममा हुनसक्ने सम्भावित जोखिम नियन्त्रणका लागि हातहतियारसहित सुरक्षा पहरा दिइरहेका उल्लेख्य संस्थाका प्रहरी र सङ्घर्षरत समूहको हूललाई देखिरहनेका लागि बिल्कुल फरक दृश्य भएकाले उनीहरुको ध्यान त्यसतर्फ केन्द्रित हुनु स्वाभाविक पनि थियो ।

मिथिला संस्कृति समाजले आयोजना गरेको उक्त फगुवा महोत्सवलाई उल्लासमय बनाउन मिथिला समाज र परिवार मात्र होइन आम सर्वसाधरणको साथले कार्यक्रमको रौनक थपेको थियो । त्यसै पनि माइतीघर मण्डलाको रङ्गीचङ्गी दृश्यलाई वसन्तको सङ्घारमा रङ्गीचङ्गी फूल र बोटबिरुवाका साथै मण्डला आसपास बनेका गगनचुम्बी आकर्षक भवनले सहजै ध्यान खिचिरहेको हुन्छ । सधैँ देखिरहनेभन्दा शनिबारको फरक दृश्यले जो कोहीलाई मोहित तुल्याउँथ्यो । होलीको पूर्वसन्ध्यामा होली पर्वको महत्व र महिमाबारे मिथिला संस्कृतिभन्दा फरक समुदायलाई जानकारी गराउने उद्देश्यले फगुवा महोत्सव आयोजना गरिएको मिथिला संस्कृति समाजका अध्यक्ष बीरेन्द्र ठाकुरले बताउनुभयो । उहाँले मधेसमा फगुवाका रुपमा चिनिने होली पर्वका अवसरमा काठमाडौँमा बसोबास गर्ने तराईवासीलाई एक ठाउँमा जम्मा पारेर अन्य समुदायलाई पनि देखाउने लक्ष्यका साथ फगुवा उत्सव मनाइएको उल्लेख गर्नुभयो । होलीको सामाजिक, सांस्कृतिक र धार्मिक महत्व छ । सहरलाई मिथिला संस्कृतिको सन्देश दिन फगुवा पर्व मनाइएको अध्यक्ष ठाकुरले बताउनुभयो । विभिन्न पेसा व्यवसायको सिलसिलामा काठमाडौँमा बसोबास गर्ने तराई–मधेसका विभिन्न समुदायबीच होलीको माध्यमबाट आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्न महोत्सव गरिएको हो ।

मधेसी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले होलीको माध्यमबाट सामाजिक र सांस्कृतिक अन्तरघुलनको सन्देश दिने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न समुदायबीच सामाजिक अन्तरघुलन गरी एकताको सन्देश दिने उद्देश्यले यो कार्यक्रम गरिएको हो । तराई–मधेशवासीहरु चाहे ती अवध, भोजपुरा र मिथिला हुन् होलीका अवसरमा आ–आफ्नो ठाउँमा जान्छन् । आफ्नो थातथलोमा जानुपूर्व काठमाडौँमा जम्मा पारेर अन्य समुदायलाई पनि सांस्कृतिक एकताको सन्देश दिन यो सान्दर्भिक हुनेछ ।” मिथिला समुदायका मानिसले डम्फु, झ्याली, हार्मोनियमलगायतका बाजागाजाका साथ एकापसमा खुसी र शुभकामना साटेर होली उत्सवका रुपमा मनाएका थिए । आयोगका अध्यक्ष डा दत्तले भन्नुभयो, “यो नेपाली संस्कार र संस्कृति हो तर, तराईमा छुट्टै उल्लासका साथ छुट्टै किसिमले होली मनाउने परम्परा छ, त्यसको सन्देश अन्य समुदायलाई दिन र तराई, पहाड, हिमाल सबै एकै कोही छैन पराइ भनेर सन्देश दिनका निम्ति पनि यो कार्यक्रम गरिएको छ ।”

सांस्कृतिक अभियन्ता राजानन्द माण्डव्यले मिथिला संस्कृतिको पुरानो इतिहास होली पर्वलाई उल्लासमय बनाउन यो अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मधेसका विभिन्न खाले संस्कृतिलाई पहाड र हिमालमा नपु¥याएसम्म एकताको भावना विकास हँुदैन । हिमाल, पहाड र तराई कोही छैन पराइ भन्ने एकताको सन्देश दिन यो अभियानले सहयोग पुग्नेछ ।” समाजले अघिल्लो वर्ष पनि माइतीघर मण्डलामा फगुवा कार्यक्रम आयोजना गरेको थियोे । समाजले संस्कृतिको जगेर्ना, मिथिला र मधेसको संस्कृति उत्थान विकासमा विभिन्न भूमिका निर्वाह गर्दै आएको छ । यो उत्सवमा कुनै पनि किसिमको मदिराजन्य पदार्थको प्रयोग हुन दिइँदैन । मालपुवा, बदाम, नरिवल, सुपाडी, छोकडा, किसमिसको मिष्ठान्न परिकारसहित अबिर दलेर यो पर्व मनाइएको हो ।

कुनै स्थान विशेषमा गर्दा सीमित मानिसले मात्रै फगुवाको महत्वबारे बुझ्ने भएकाले सडकमा गर्दा आम मानिसले जानकारी लिनसक्ने भएकाले साङ्केतिक रुपमा उत्सव आयोजना गरिएको अध्यक्ष ठाकुरले बताउनुभयो । “जबसम्म हाम्रा सांस्कृतिक पर्वहरु, आयामहरु बलियो हुँदैनन् तबसम्म हाम्रो सांस्कृतिक एकता बलियो हुँदैन त्यसैले सामाजिक एकता, सांस्कृतिक सद्भाव र भाइचारा कायम गर्न हामी माइतीघरमा जम्मा भएका छौँ”, डा दत्तले भन्नुभयो ।‘काठमाडौँ सहर, माइतीघरमा होली खेलिङ्गे’ जस्ता होली गीत गाएर धुमधामका साथ होली मनाइएको थियो । सांस्कृतिक एकताका रुपमा चिनिने हिन्दूहरुको महान् सांस्कृतिक पर्व होलीको पावन अवसरमा मधेसका वरिष्ठ समाजसेवी तथा राजनीतिककर्मीहरुको उपस्थितिमा फगुवा प्रदर्शनी आयोजना गरिएको हो । मधेसमा पौराणिक कालदेखि नै विशेष उत्सवका रुपमा मनाउँदै आइरहेको र यस संस्थाको स्थापनाकालदेखि नै संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्नु रहेको अध्यक्ष ठाकुरले उल्लेख गर्नुभयो ।


प्रकाशित मिति: २० फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?