Trending
>>   कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा छठ पर्वको शुभकामना >>   कसरी भयो छठ मनाउने प्रचलनको थालनी? >>   प्रधानमन्त्री ओलीद्वारा छठ पर्वको शुभकामना >>   छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न प्रेरणा मिलोस्ः राष्ट्रपति पौडेल >>   आजको मौसम : यी तीन प्रदेशमा वर्षाको सम्भावना >>   आज मिति २०८१ साल कार्तिक २२ गते बिहिबार, हेर्नुहोस आजको राशिफल >>   आयोजनाहरुको तयारी फास्ट ट्रयाकमा गरिने >>   राष्ट्रपति पौडेलद्वारा ट्रम्पलाई बधाई >>   डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी >>   आजको मौसम : गण्डकी र कोशीका केहि स्थानमा बर्षाको सम्भावना
Logo
२२ कार्तिक २०८१, बिहीबार
२२ कार्तिक २०८१, बिहीबार

पर्यटकलाई कोसेलीसँगै आम्दानीको स्रोत बन्यो अचार


१४ ,असोज ,झापा । गौरादह नगरपालिका–५ मा रहेको नमूना एकीकृत सहकारी खेती बीउ उत्पादन समूहमा आबद्ध महिलाले अचार, पापडलगायत छवटा नमूना उद्योग सञ्चालन गरेका छन् ।

सहकारीमा आबद्ध महिलाले आफू स्वरोजगार बन्ने र स्थानीय क्षेत्रमा उत्पादित सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्देश्यले उद्योग सञ्चालन गरेको बताएका छन् । यसमध्ये आचार उद्योग भने राम्रैसँग फस्टाएको छ । आचार बिक्रीबाट मात्र महिलाले वार्षिक रु छ लाख बढी आम्दानी गर्दै आएका छन् ।

सहकारीमा आबद्ध सेयर सदस्यले उत्पादन गरेका अग्र्यानिक कृषिजन्य वस्तु कागती, आँप, गाँजर, तामा, जलपाई र चारपाटे, अकबरे खुसार्नीलगायत विभिन्न प्रकारका आचार चार वर्षअघिदेखि उत्पादन गर्दै आएको नमूना आचार उद्योगकी अध्यक्ष सकुन्तला प्याकुरेलले बताईन् । उनले अकबरे खुर्सानी भने इलाम, पाँचथरबाट खरिद गरेर ल्याउने गरेको बताईन् ।

महारानी झोडा साना किसान कृषि सहकारी र एकीकृत नमूना सहकारी खेतीमा दैनिकजसो मुलुकका विभिन्न स्थानका सङ्घसंस्थाबाट भ्रमणमा आउन थालेपछि पर्यटकलाई यस क्षेत्रको कोसेली हुने र आम्दानीको स्रोत पनि बन्ने देखेर नमूना अचार उद्योग सञ्चालन गरेको उनले बताईन् ।

सुरुमा छजना महिला मिलेर रु १८ हजार लगानीबाट सुरु गरेको आचार उद्योगको हाल आफ्नै भवनसहित सुविधासम्पन्न ल्याब र अचार बनाउने औजारसहित रु ३५ लाख बराबरको सम्पत्ति रहेको छ । उनले वार्षिक आचार बिक्रीमार्फत मात्र रु छ लाख आम्दानी हुने गरेको बताईन् ।

महिलाहरूको जाँगर र पौरख देखेपछि उद्योगलाई भवन बनाउनका लागि गौरादह नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय झापाले आर्थिक सहयोग गरेका थिए ।

घरायासी कामधन्दा सकेर बचेको समय महिलाहरूले आचार उद्योगलाई दिँदै आएको उनको भनाइ छ । “नाफा बाँडेका छैनौ, जति कमाउँछौँ त्यही उद्योगमा लगानी बढाइरहेका छौँ”, अध्यक्ष प्याकुरेलले भनिन्, “यहाँ उत्पादित अचारलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्यका साथ काम गरिरहेका छौ । जब लक्ष्यमा पुग्छौँ अनि मात्र मुनाफा बाड्छौँ ।”

महिलाहरूको मेहनत र परिश्रम देखेर एक वर्षका लागि सिट कन्ट्याक्ट नामक विदेशी एनजिओले सहज नेपालमार्फत आर्थिक सहयोग गरिरहेको उनले बताईन् । नेपालले बजारीकरण, प्रयोगशाला सञ्चालन र कर्मचारीलगायत विभिन्न कार्यमा लाग्ने खर्चको ५५ प्रतिशत सहयोग गरिरहेको अध्यक्ष प्याकुरेल बताउछिन् ।

नेपालले आचार, पापड र दुग्ध परिकार उद्योगलाई नै जम्मा लगानीको ५५ प्रतिशतले आर्थिक सहयोग गरिरहेको छ । सहकारीले हाल चिप्स उद्योग, माछापालन, नमूना कडटम हाइरिङ, बागबानी खेती, गाई फार्म, नमूना फड्स् उद्योग, नमूना घरबास र नमूना खाद्य उद्योग सञ्चालन गरिरहेको छ ।

यहाँ उत्पादित सामग्री बिक्री वितरणका लागि कोसेली घर स्थापना गरिएको छ । सहकारी क्षेत्रका भ्रमणमा आउनुहुने आन्तरिक तथा बाह्य पर्यटकले दैनिक रु १० देखि १५ हजारसम्मको आचार कोसेली घरबाट खरिद गरेर लैजाने गरेका छन् ।

उद्योगमा उनीहरूले आफूमात्र नभएर, गाउँका अन्य महिलालाई समेत रोजगारी दिँदै आएका छन् । उनले भनिन्, “यहाँ सञ्चालित उद्योग व्यवसायले हामी सदस्यलाई मात्र फाइदा गरेको छैन, उद्योगमा काम गर्ने सबैलाई आर्थिक उपार्जनको बाटो खोलेका छौँ ।” यहाँ उत्पादित सामान झापा, मोरङ, सुनसरी, इलाम, हेटौडा र काठमाडौँसम्म पुग्ने गरेको छ ।


प्रकाशित मिति: १४ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?