Trending
>>   मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडक अनुगमन, दशैँअघि नै खाल्डा पुर्न निर्देशन >>   फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनुछः सञ्चारमन्त्री खरेल >>   शिक्षा मन्त्रालय अन्तर्गतका विभागमा भइरहेको ढिलासुस्ति तत्काल अन्त्य गर्न मन्त्री पुनको निर्देशन >>   शहीद परिवारलाई रोजगारी दिन उद्योगीहरुलाई उद्योगमन्त्रीको आग्रह >>   मल अभावको समस्या हटाउने प्रयास गर्छुः कृषिमन्त्री परियार >>   विज्ञहरुको सुझावअनुसार काम गर्छुः शिक्षामन्त्री पुन >>   अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १ सय ३७ मुद्दा विशेष अदालतमा दायर >>   नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण (तस्बिरहरु) >>   दशैँ शुरुः राखियो जमरा >>   अमेरिकाको आपत्तिका बाबजुद बेलायतद्वारा प्यालेस्टाइन राज्यलाई मान्यता
Logo
७ आश्विन २०८२, मंगलवार
७ आश्विन २०८२, मंगलवार

चितवन निकुञ्जमा बाघ राख्न ठाउँ अभाव, बर्दिया पठाइयो


२८ ,भाद्र ,चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियन्त्रणमा लिइएका बाघ राख्ने ठाउँ अभाव भएको छ । ठाउँ अभाव भएपछि बाघ बर्दिया पठाइएको छ ।

नवलपरासीको अमलटारी क्षेत्रमा नियन्त्रणमा लिइएका दुई बाघमध्ये एउटालाई बुधबार साँझ बर्दिया पठाइएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपरासीको अमलटारी क्षेत्रमा बस्तीमा बाघ आउन थालेपछि नियन्त्रणमा लिइएको हो ।

एउटा बच्चा बस्तीमा आएर बस्न थालेको थियो भने अर्काे बाघले गाईभैँसी खान थालेपछि स्थानीयको आग्रहमा नियन्त्रणमा लिइएको हो । मङ्गलबार नियन्त्रणमा लिएर कसरा ल्याइएको थियो ।

अन्दाजी १० वर्षको भाले बाघलाई बुधबार साँझ बर्दिया पठाइएको उहाँले जानकारी दिनुभयो । यो बाघ केही समय यता बस्ती छिरेर घरपालुवा जनावर खाँदै आएको थियो ।

राख्ने ठाउँ नभएकै कारण बर्दिया पठाइएको हो । अर्काे अन्दाजी सात महिनाको पोथी बाघलाई कसरामा रहेको काठको खोरमा राखिएको छ । कच्ची भएकाले ठूलो बाघ राख्न खोर उपयुक्त छैन । सानो भएकाले तत्कालका लागि सो खोरमा राखिएको उनले जानकारी दिए ।

यो बाघ केही समयदेखि नवलपरासीको अमलटारीस्थित बस्ती क्षेत्रमा आएर बस्ने गरेको थियो । हाल कसरामा सानोसहित चार बाघ छन् । तीमध्ये एउटा चार वर्षअघि बाँकेमा हिंस्रक बनेर मान्छेको सिकार गर्न थालेपछि नियन्त्रणमा लिएर यहाँ ल्याइएको हो ।

सो भाले बाघ अन्दाजी १० वर्षको छ । गत वर्ष चितवनकै माडीमा आक्रमण गरी मान्छे मारेपछि अन्दाजी १३ वर्षको पोथी बाघ नियन्त्रणमा लिएर खोरमा राखिएको छ । अर्काे देवनगरबाट तीन वर्षअघि ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ ।

तीनवटै बाघलाई कसरामा पक्की खोरमा राखिएको छ । सौराहामा खोरमा दुई बाघ रहेका छन् । तीमध्ये एउटा गत साउनमा खैरहनीबाट नियन्त्रणमा लिएर खोरमा राखिएको छ । उक्त भाले बाघ अन्दाजी चार वर्षको हो ।

अर्काे गत वर्ष मेघौलीबाट ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ । तिवारीले अहिले चितवनमा छ बाघ खोरमा रहेको बताए । निकुञ्जको वरिपरि बस्ती भएकाले जुनसुकै बेला थप बाघ नियन्त्रणमा लिनुपर्ने अवस्था आउने भए पनि ठाउँको अभाव भएको उनले बताए ।

पछिल्लो समय भरतपुर भ्रमण वर्ष पारेर निकुञ्ज नजिकै देवनगरमा खुला खोर निर्माण गरी सर्वसाधारणले हेर्न मिल्ने गरी बाघ राख्ने तयारी गरिएको छ ।

तिवारीले सर्वसाधारणका लागि खुला गर्नसके बाघबाट आर्थिक उपार्जन गरी उनीहरुको पालनपोषण गर्नसकेमा आर्थिक भार नपर्ने बताउनुभयो । सन् २०२४ साललाई भरतपुर भ्रमण वर्षको रुपमा मनाउन लागिएको छ ।


प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?