Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

शल्यक्रियासहितको उपचार सेवा अब रसुवामै


२७ ,भाद्र ,रसुवा । बिरामी भई उपचारार्थ रसुवा अस्पताल पुग्ने बिरामीले अब स्थानीयस्तरमै उपचार पाउन थालेका छन् ।

जिल्ला अस्पताल धुञ्चेले बिरामीका लागि पहिलो चरणको रोग पत्ता लगाउन आकस्मिक कक्ष निर्माणका साथै रोगअनुसारका आवश्यक औषधि एवं दक्ष चिकित्सकको व्यवस्था गरेपछि बिरामीलाई अन्य अस्पताल सिफारिस गर्ने परिपाटी न्यून हुँदै गएको छ।

विगतमा स्रोत साधनको अभाव दर्शाउँदै बिरामीलाई काठमाडौँ लैजान सिफारिस गर्ने परिपाटी क्रमशः अन्त्य हुन थालेको छ ।

हाल यहाँ ओपिडीसमेतका संरचना तयार भएका छन् । जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहका अनुसार पछिल्लो समय ठूलै समस्या भएका बिरामीलाई मात्र उपचारका लागि काठमाडौँ पठाउने गरिएको छ ।

अधिकांश बिरामीलाई स्थानीयस्तरमै उपचार गरी घर फर्काउने गरिएको छ । विगतमा अस्पतालमा दक्ष जनशक्तिको अभाव थियो । सघन उपचारकक्षको व्यवस्थापन हुन सकेको थिएन ।

जिल्ला अस्पतालमा बिस्तारै सुधार हुँदै गएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । प्रायः बिरामीलाई सिटामोल र सामान्य चक्की मात्र दिएर पठाउने अस्पतालले पछिल्लो समय शल्यक्रियाबाट प्रसूति सेवा प्रदान गर्दैआएको छ ।

उपचार गराउन आउनेको सङ्ख्या बढ्दै गएको छ । गत आर्थिक वर्षको वैशाखदेखि चालु आवको भदौ २४ गतेसम्म बहिरङ्ग कक्षबाट दुई हजार आठ सय र अन्तरङ्ग कक्षबाट एक सय ४४ जनाले उपचार पाएका छन् ।

यसैगरी आकस्मिक सेवाअन्तर्गत पाँच महिनाको अवधिमा चार सय २० जनाको उपचार गरिएको डा शाहले बताए । उपचार गर्न आउने बिरामीमा दम, मधुमेह, उच्च रक्तचाप, बाथ, हाडजोर्नी, मानसिक समस्या, पेट दुख्नेजस्ता समस्या बढी रहेको पाइएको छ ।

जिल्ला अस्पतालबाट स्वास्थ्य बिमा गराउनेको सङ्ख्या भने ६१ जना मात्र रहेको छ । यसबारे जनचेतना जगाउने काम भइरहेको अस्पताल विकास समितिका अध्यक्ष दुर्गाप्रसाद आचार्यले बताए ।


प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?