२२ ,भाद्र ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्र र वैदेशिक लगानीकर्तालाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।
लगानी बोर्डको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले मुलुकको विकास आवश्यकता पूर्ति गर्न लगानी चाहिने र सरकारले सबै खालका लगानीको सुरक्षा प्रत्याभूति गर्ने बताएका हुन् ।
नेपालमा सार्वजनिक–निजी साझेदारी, प्रत्यक्ष वैदेशिक लगानी र निजी क्षेत्रको लगानी बढाउनका लागि नीति, नियम तथा कानूनमा सुधार, प्रक्रियागत सहजीकरण तथा संस्थागत क्षमता विकासका लागि सरकार तयार रहेको उनको भनाइ छ ।
“हामीले साना, मझौला, ठूला सबैखालका लगानीकर्तालाई उत्तिकै महत्त्व दिएका छौँ । लगानीको सुरक्षाको प्रत्याभूति पनि भएको छ । नेपालमा निजी क्षेत्रको लगानी र प्रत्यक्ष वैदेशिक लगानी बढाउनका लागि निरन्तररूपमा लागिपरेका छौँ”, प्रधानमन्त्री दाहालले भने, “मुलुकभित्र लगानीको वातावरण बनाउने विषय सरकारको मुख्य प्राथमिकतामा छ । समग्र परियोजना चक्रमा सहजीकरण गर्न सरकार तयार छ ।”
लगानीका लागि नेपाल आकर्षक मुलुक हो भन्ने सन्देश विश्वभर फैलाउन आवश्यक रहेको पनि उनले बताए । लगानी बोर्डअन्तर्गत अघि बढिरहेका ठूला लगानीका आयोजनालाई सहजीकरण गर्न सरकार र मातहतका सबै निकाय जिम्मेवार भएर लाग्नुपर्नेमा उनले जोड दिए ।
लगानी बोर्डको कार्यालयले सीमित जनशक्ति र स्रोत–साधनका बावजुद पनि महत्त्वपूर्ण काम गरिरहेको प्रधानमन्त्री दाहालको भनाइ छ । लगानी बोर्डको कार्यालयको संस्थागत क्षमता विकासका लागि पनि सरकारले पहल गर्ने उनले बताए ।
सार्वजनिक–निजी साझेदारी ऐनले लगानी बोर्डलाई लगानी प्रवर्द्धन र सहजीकरणका लागि स्रोत केन्द्रका रूपमा स्थापना गर्ने उद्देश्य राखेको पनि उनले स्पष्ट पारे । नेपालले सन् २०२६ सम्ममा अल्प विकसित मुलुकबाट स्तरोन्नति भइसक्ने र सन् २०३० सम्ममा दिगो विकास लक्ष्य प्राप्त गर्ने लक्ष्य राखेको भए पनि कोभिड–१९ महामारीलगायतका कारण यी लक्ष्य प्राप्तिमा केही समस्या देखिएको प्रधानमन्त्री दाहालको भनाइ छ ।
अहिले नेपाल १५औँ आवधिक योजना कार्यान्वयनको अन्तिम वर्षमा रहेको र १६औँ आवधिक योजनाको मस्यौदा तयार भइरहेकोमा निजी क्षेत्रबाट बढीभन्दा बढी स्रोत परिचालन गर्ने गरी यो आवधिक योजना तयार पारिने पनि उनले स्पष्ट पारे ।
त्यस्तै क्षेत्रगत रूपमा आयोजना पहिचान गरी लगानी खोज्ने सरकारको नीति रहेको पनि प्रधानमन्त्री दाहालको भनाइ छ । “नेपालका लागि जलविद्य्त्, पर्यटन, कृषि र सूचना प्रविधि तुलनात्मक लाभको क्षेत्र भएकाले यी क्षेत्रमा लगानी केन्द्रित गरिनुपर्छ । निर्माण–स्वामित्व–सञ्चालन–हस्तान्तरण अवधारणा (बुट मोडल)मा परियोजना विकास गर्न सकिन्छ”, उनले भने ।
वार्षिकोत्सव कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी सुशील भट्टले स्थापनाको १२ वर्ष अवधिमा लगानी बोर्डले ऊर्जा क्षेत्रका २८ र गैरऊर्जा क्षेत्रका १४ परियोजनामा रू १२ खर्ब ५० अर्ब बराबरको लगानी स्वीकृत गरेको बताए । हालसम्म बोर्डमार्फत रू पाँच खर्ब २५ अर्ब बराबरको लगानी परिचालन भएको उनको भनाइ छ ।
प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार