Trending
>>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी >>   विशेष महाधिवेशन अनुचित सिद्ध भयो, सर्वोच्चले विचाराधीन मुद्दा छिटो टुङ्ग्याओस्ः नेता सिटौला >>   कैद भुक्तानपछि दीपक मनाङे जेलमुक्त >>   काँग्रेसका राष्ट्रिय सभाका सांसदहरूबीच परिचयात्मक कार्यक्रम शुरु (तस्बिरसहित) >>   अमेरिका–इजरायल सैन्य आक्रमणमा १३ सय भन्दा बढी इरानी सर्वसाधारणको मृत्यु >>   प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी >>   समाजमा कुष्ठरोगलाई हेर्ने दृष्टिकोण अझै नकरात्मकः कानूनमन्त्री सिन्हा >>   समानुपातिकतर्फको सिट बाँडफाँड कसरी हुन्छ ? यस्तो छ निर्वाचन आयोगले प्रयोग गर्ने ‘सेन्ट लग’ विधि >>   एनआरएनएको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता शुरु >>   जमानत जफत हुनेमा २,८९० उम्मेदवार , ३५० जनाले एक भोट पनि पाएनन्
Logo
२७ फाल्गुन २०८२, बुधबार
२७ फाल्गुन २०८२, बुधबार

४७ वर्षपछि ब्यूँताइयो भानुमतिमा शिवरात्रि मेला


विसं २०३२ देखि बन्द गरिएको खोटाङको धार्मिक तथा पर्यटकीयस्थल भानुमतिमा लाग्ने शिवरात्रि मेला ब्युँताइएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने भानुमतिमा तत्कालीन जिल्ला पञ्चायत सभापति पर्शुराम राईले बन्द गराउनुभएको शिवरात्रि मेला ४७ वर्षपछि ब्युँताइएको हो । धार्मिक तथा पर्यटकीयस्थल भानुमतिमा शिवरात्रिको अवसरमा १५ दिनसम्म मेला लाग्ने गरेको थियो । सावापारी दिप्लुङका तत्कालीन प्रधानपञ्च पृथीबहादुर राई र सावावारी खोटाङबजारका प्रधानपञ्च श्रीप्रसाद भट्टराईबीच मेलाका विषयमा विवाद भएपछि सभापति राईले बन्द गराएको मेला फेरि शुरु गराइएको जन्तेढुङ्गा गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिनुभयो । सावापारीका राई र सावावारीका भट्टराईबीच मेलाको आम्दानी कसले लिने ? भन्ने विषयमा विवाद भएपछि मेला बन्द गराएको जनाइएको छ ।

खोटेहाङ गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकाको सिमाना भएर बग्ने सावाखोलामा रहेको भानुमतिमा मेला लगाउने विषयमा दुई गाउँपालिकाबीच समन्वय तथा सहकार्य गरेर मेला लगाइएको हो । “सानै हुँदा मेरो आमाले भनेको सुनेको त्यो बेला सतिप्रथा थियो रे । वरिपरिका मानिस मरेपछि त्यहीँ सद्गत गरिन्थ्यो रे, अहिले पनि घाट त्यहीँ छ । कत्ति महिला सति गएको आमाले देख्नुभएको रे । त्यो बेला नि त्यहाँ विशाल मेला लाग्थ्यो रे”, जन्तेढुङ्गा गाउँपालिका–५ वाचिपालाका ९९ वर्षीय डम्बरसिंह राईले भन्नुभयो, “मैले पनि पछि मेला भरेँ । ठूलो मेला लाग्थ्यो । १५ दिनसम्म म नै त्यो मेलामा कत्ति बसेँ । त्यो बेला पुलिस थिएनन् । जुवातास खेल्ने, त्रिपासा, घुर्नी खेल खेल्ने, रक्सी खाने रनघनको बजार लाग्थियो । मेला भर्न काठमाडौँदेखि महिनौँ हिँडेर मान्छे आउथे ।” “रक्सी खाने, झगडा र मारामार भएपछि विसं २०३२ मा पर्शुराम घोडा चडेर आएर मेला बन्द गराएको हो । त्यसपछि पनि मान्छेले टेरेनन् । पछि केही वर्ष मेला लाग्यो । अनि आफैँ बन्द भयो”, राईले भन्नुभयो, “म पनि जिल्ला पञ्चायतको सदस्य थिएँ । बेथिति बढेपछि म पनि मेला बन्द गराउन लागँे । अब त प्रहरी छ, बेथिति छैन । सबै पढेलेखेका छन् । फेरि मेला सुरु भएछ । खुसी लाग्यो ।” पन्ध्र दिनसम्म लाग्ने भानुमति मेलामा छिमेकी जिल्ला सोलुखुम्बु, ओखलढुङ्गा, भोजपुर, उदयपुरलगायतका दर्शनार्थी तथा व्यापारीले मेला भर्ने गरेको भानुमति खुट्टेश्वर धार्मिक मेला आयोजक समितिको अध्यक्ष शिवप्रसाद फुँयालले बताउनुभयो ।

जिल्लाको दक्षिणी क्षेत्र सावाखोलामा पर्ने भानुमतिमा जन्तेढुङ्गा गाउँपालिका र खोटेहाङ गाउँपालिकाले मेला सुरुवात गराएको हो । प्रसिद्ध धार्मिकतीर्थस्थल भानुमतिको पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाले मेलाको सुरुवात गरिएको बताएको छ । मेलाको उद्घाटन निवर्तमान सांसद तथा नेकपा एमालेका पोलिटब्यूरो सदस्य विशाल भट्टराईले गर्नुभएको छ । मेला उद्घाटन कार्यक्रममा खोटेहाङ गाउँपालिकाका प्रमुख उदिमबहादुर राई, उपप्रमुख रुपेश राई, जन्तेढुङ्गा गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’, उपप्रमुख खड्काको उपस्थिति थियो । भानुमतिमा लागेको धार्मिक मेलामा भक्तजन तथा दर्शनार्थीको भीड लागेको स्थानीय बासिन्दाले बताएका छन् । सतिदेवीको बाँया खुट्टा पतन भएको यस स्थानमा भानुमतिमा खुट्टेश्वर महादेव उत्पन्न भइ बसेको मान्यता छ । भानुमतिमा हरेक वर्षको पुस मसान्तदेखि माघ-१ गतेसम्म मकर नुहाउँने चलन पनि छ । साथै भानुमति मृत शरीरको दाहसत्कार गर्ने मुख्य थलोको रुपमा रहेकाले दिवङ्गत आत्मा र आफ्ना पितृका लागि पूजाआजा लगाउने गरिन्छ । भानुमतिको दर्शन गरे रोगब्याधी नलाग्ने, सन्तान नभएकालाई सन्तान प्राप्ति हुने लगायतका जनविश्वास छ । भानुमति जिल्लाकै धार्मिक तथा पर्यटकीयस्थलकारुपमा रहेपछि सम्बन्धित निकायको ध्यान नजाँदा ओझेलमा परेको छ ।


प्रकाशित मिति: ७ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?