Trending
>>   पहाडी भू-भागका एक-दूई स्थानमा वर्षा र तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लाग्ने >>   आज मिति २०८१ साल मङ्सिर ०१ गते शनिबार , हेर्नुहोस आजको राशिफल >>   मोवाइल फुड ल्याव भ्यानबाट दक्षिणकाली नगरपालिका क्षेत्रमा रहेका खाद्य पदार्थको अनुगमन >>   एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत >>   सार्वजनिक पर्खालका भित्तामा कलात्मक भित्ते चित्र (फोटो फिचर ) >>   फोहोरमा राजनीति गर्ने र गराउने दिन सकिए >>   बिना राउत र गायक रबिनको ‘तिमी हिँड्ने बाटो’ सार्वजनिक >>   इमान्दारितापूर्वक आत्मसमीक्षा गर्दै अगाडि बढौँः अध्यक्ष प्रचण्ड >>   ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबिच शिष्टाचार भेट >>   प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छ : परराष्ट्रमन्त्री डा राणा
Logo
१ मंसिर २०८१, शनिबार
१ मंसिर २०८१, शनिबार

पूर्वप्रधानमन्त्री देउवाको घरमा गौराको रौनक


७ ,भाद्र ,सुदूरपश्चिम । “तम्रा गीत कति हुन्ना, जौँ पात…।

बुझ्या छौँ कि दिदीबैनी, जौँ पात…।।”

अर्थात् (तपाईँका गीत कतिवटा होलान् र ? दिदी–बहिनीले बुझेको छ/छैन ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको धनगढीस्थित घरमा गौरा मनाउन भेला भएका महिलाहरूले प्रस्तुत गरेका गीतमा आज उपस्थित सबै गौरा खेल्दै रमाइरहेका थिए ।

निवास परिसरमा टाँगिएको टेन्टमुनि गोलबन्द भएका देउवाकी धर्मपत्नी डा आरजु राणासहित अन्य महिला गौरा खेलमा रमाइरहँदा उपस्थित दर्शकले पनि भरपुर आनन्द लिइरहेका थिए ।

देउवा निवासमा गौराको रौनक बढ्दा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहित नेपाली कांग्रेसका नेता, कार्यकर्ताको पनि उल्लेख्य सहभागिता थियो ।

‘सानी डाली घँगारुकी मसुरदानी, ठुम्के चरो बास…।’

‘म आए बाबाका घर मसुरदानी, नथियाकी आस…।।’

अर्थात् (घँगारुको बोटमा बास बसेको ठुम्के चरा, नाकमा पहेरिने नथुको आसमा बुवाको घर आए)

अर्को छुट्टै समूहमा गोलबन्द भएका महिला यो गीतको बोलमा मच्चीमच्ची खेल्दै रमाइएका थिए । ठाडो भाखाको यो गीतले विवाहिता छोरीले माइतीपक्षप्रति गर्ने माया, आशा एवं अपेक्षालाई दर्शाएको संस्कृतिका जानकार तारादेवी जोशीले बताईन् । महिलामाझ यो ठाडो भाखाको गीत सदियौँदेखि निकै लोकप्रिय रहेको उनले बताईन् ।

वर्षभरिमा एकपटक मनाइने गौरा पर्वका विशेषता बोकेका गीतको रौनकताले सुदूरपश्चिमका बस्ती तथा गाउँलाई छोपेका छन् । कांग्रेस नेतृ राणा गौरा पर्व मनाउन केही दिनअघि धनगढीस्थित आफ्नो निवास पुगएकी थिईन् । उनले निवासमा गौरा भित्र्याएर पूजा गरेकी छन् ।

यस पर्वमा महिलापुरुष छुट्टाछुट्टैरूपमा गोलबन्द भई देउडा, चैत धमारीलगायत खेल खेल्ने गर्दछन् । देउडा खेल खेल्दा भने एकापसमा घोचपेच र तिखो व्यङ्ग्य गर्ने प्रचलन रहेको गौरा गीतका गितेरु (गीतकार) धर्मराज जोशीले बताए ।

उनका अनुसार चैत धमारीजस्ता गीतमा खेलिने खेलले भने देवीदेवताको महिमा दर्शाउने गर्दछन् । गौरा भित्र्याइएका मन्दिर तथा गौरा घरमा गौरासम्बन्धी देउडा, चैत धमारीलगायत खेल खेल्नेको यतिबेला दिनहुँ घुइँचो लाग्ने गरेको छ ।

यहाँका स्थानीय घरायसी काम छाडेर भए पनि गौरा खेल्ने गर्दछन् । आफ्नो समुदायको परम्परागत पहिरनमा देउवा निवासमा पुगेका रानाथारू समुदायका महिलाले पनि आज गौराको रौनकमा साथ दिँदै रमाएका छन् ।

“मौलिक लोकसंस्कृति र चाडपर्वमा खेलिने खेललाई हरेक समुदायका मानिसले मन पराउँछन्”, तुलसी रानाथारूले भने, “गौरा खेलमा रमाउनका लागि आफूहरू देउवा निवासमा पुगेका हौँ ।”

उनीहरू छुट्टै गोलबन्द भई होली पर्वको खेल खेलेर रमाइरहेका थिए । यस पर्वका बेला महिला तथा पुरुषले छुट्टाछुट्टै समूह बनाइ डेउडा, चैत धमारीलगायतका खेल खेल्दै इष्टदेव, कूलदेवका साथै विभिन्न देवीदेवताका महिमा दर्शाउने गर्दछन् ।

साथै गीतमार्फत समाजमा गरिएका योगदान, प्राकृतिक र धार्मिकस्थलको महत्व, समाजका विकृति तथा विसङ्गतिविरुद्ध व्यङ्ग्य गर्ने गरिन्छ ।

गौराघर तथा मन्दिरमा बुधबार धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याइएको थियो ।


प्रकाशित मिति: ७ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?