Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

आँखा पाक्ने ‘भाइरल फ्लु’ फैलिएपछि अस्पतालमा भीड


१७ ,श्रावण ,झापा । झापामा आँखा पाक्ने रोग फैलिएको छ । अस्पतालमा आँखा पाकेका बिरामीको भीड बढेको स्थानीय अस्पतालले जनाएका छन् । मेचीनगर, बिर्तामोड, भद्रपुर र दमक क्षेत्रका आँखा अस्पतालमा आँखा पाकेर उपचारका लागि आउने बिरामीको सङ्ख्या अत्यधिक रहेको छ ।

एउटै घरका धेरै व्यक्ति यो रोगबाट सङ्क्रमित पाइएका छन् । मेची आँखा अस्पताल बिर्तामोडकी नेत्र सहायक पुष्प अधिकारीले दैनिक पाँच सय जति बिरामी आँखा पाकेको समस्या लिएर आउने गरेको बताए ।

सो अस्पतालमा दैनिक एक हजार दुई सय बिरामी ओपिडी जाँचका लागि जाने गरेका छन् । अस्पताल धाउने आँखाका बिरामीमध्ये ४० प्रतिशतमा आँखा पाक्ने समस्या देखिएको उनले बताए । बिर्तामोड आँखा अस्पतालका नेत्र सहायक विनोद दाहालले सङ्क्रमणको सुरूआतमा आँखा बिझाउने र चिलाउने समस्या देखापर्ने बताए ।

उनले यसलाई ‘सिजनल भाइरल इन्फेक्सन’ भनिने जानकारी दिँदै आँखामा कचेरा आउने, आँसु बगिरहने, घाममा हेर्न गाह्रो हुनेजस्ता लक्षण देखापर्नेसमेत बताए । दाहालले बिर्तामोड आँखा अस्पतालमा दैनिक आउने छ सय बिरामीमध्ये तीन सय बिरामी आँखा पाक्ने समस्या लिएर उपचारका लागि धाउने गरेको जानकारी दिए ।

गर्मीयाममा यसको प्रकोप फैलिने र यसबाट सबै उमेरका मानिस सङ्क्रमित हुने बताए । उनले विशेष गरेर पछिल्लो समय स्कुल, कलेजका विथार्थीमा यो रोगको प्रकोप बढी देखिएको बताए ।

मेचीनगरको काँकडभिट्टामा रहेको मेची नेत्रालयमा दैनिक सयको हाराहारीमा आँखा पाकेको समस्या लिएर उपचारमा आउने गरेको नेत्र अधिकृत योगेन्द्र राउतले बताए । ‘भाइरल फ्लू’का कारण आँखा पाक्ने रोग फैलिएको हुँदा उपचारपछि एक साताभित्रमा रोग निको हुने उनले जानकारी दिए ।

मेचीनगर–४ बाहुनडाँगीकी १४ वर्षीया रोशिका तामाङले सुरुमा आँखा बिझाउने र विस्तारै रातो हुने र सुन्निने समस्या देखापरेपछि काँकडभिट्टाको मेची नेत्रालयमा उपचारका लागि गएको बताए । अस्पतालमा उपचार गराएको एक हप्तापछि अलि राम्रो हुन थालेको बताए ।

मोबाइल, कपडालगायतका सामानबाट एक व्यक्तिको आँखा पाक्ने रोग परिवारका सदस्य र साथीहरूमा सजिलै सर्ने चिकित्सक बताउँछन् । काँकडभिट्टा आँखा अस्पताल, दिव्यज्योति आँखा अस्पताल, दृष्टि आँखा अस्पताल, प्रादेशिक अस्पताल भद्रपुर र बिएन्डसी हस्पिटलमा समेत आँखा पाक्ने रोगका सङ्क्रमित उपचारका लागि भीड लाग्ने गरेको पाइएको छ ।


प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?