Trending
>>   नेपाली समाजमा अहिले असन्तुष्टिको आगोमा मट्टितेल छर्किने काम भइरहेको छः गगन थापा >>   दुर्गा प्रसाईंले गरे पार्टी खोल्ने घोषणा >>   पुराना राजनीतिक दलहरुले केही गर्न सक्दैनन् भन्ने गलत भाष्यहरु निर्माण गरियो : देउवा >>   वैकल्पिक विकास वित्तसम्बन्धि विधेयकः सरकारले कस्तो बेला लगानी रोक्का गर्नसक्छ ? >>   संघीय निजामति सेवा विधेयकमा तल्लो तहका कर्मचारी उपेक्षितः सांसद रिजाल >>   मन्त्रालयका कर्मचारीहरुको कार्यशैलीप्रति उपप्रधानमन्त्री सिंह रुष्ट >>   इण्डोनेसियाको मध्य सुलावेसीमा ६.० म्याग्निच्युडको भूकम्प >>   जलवायु परिवर्तनले कुनै देश, भूगोल र राजनीतिक दल चिन्दैनः परराष्ट्रमन्त्री >>   नेपालले जलवायु परिवर्तनको दुःखद् अनुभव व्यहोरिरहेको छः मन्त्री ठकुरी >>   बजेट कार्यान्वयनमा गम्भीर समस्याः २७ प्रतिशत बुँदा कार्यान्वयनमै गएनन्
Logo
१ भाद्र २०८२, सोमबार
१ भाद्र २०८२, सोमबार

गङ्गालाल हृदय केन्द्र शैक्षिक प्रतिष्ठान हुनेछ : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँसबारीस्थित शहीद गङ्गालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीको २७औँ वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, “तपाईंहरूले यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्ने चाहना र माग राख्नुभएको छ । यसको प्रक्रियाबारे सरकारले पनि गम्भीरतापूर्वक लिनेछ । तपाईंहरू पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत् यसको प्रक्रिया बुझ्नुहोस् । सरकार यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्न प्रतिबद्ध छ ।” प्रधानमन्त्रीले गङ्गालाल हृदय केन्द्र नेपाली जनताको आशा र भरोसाको केन्द्र भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गङ्गालाल हृदय केन्द्र देशभरिका नेपाली जनताको आशा र भरोसाको केन्द्रका रूपमा स्थापित भएको छ । जनताले यसलाई मुटुरोगको उपचार र आफ्नो भरोसाको केन्द्रका रूपमा बुझेका छन् । यसका लागि तपाईंहरू धन्यवादको पात्र हुनुहुन्छ । यसले आम रूपमा जनताको स्वास्थ्यप्रतिको संवेदनशीलतालाई प्रमाणित गर्दछ ।” प्रधानमन्त्री दाहालले शहीद गङ्गालाल हामी सबैले सम्मान गर्ने नाम भएको भन्दै तानाशाही र निरङ्कुशताविरोधी आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने व्यक्तित्वको नाममा स्थापित हुनुको नाताले यस केन्द्रको भूमिका मुटुरोगका साथै लोकतन्त्रको सुदृढीकरण र सामाजिक न्यायसँग पनि जोडिएको बताउनुभयो । “विपन्न वर्गलाई सहज स्वास्थ्य सेवा प्रवाह गरेर यहाँहरूले लोकतन्त्र र सामाजिक न्यायप्रतिको भूमिका पूरा गर्नुहुनेछ भन्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो । प्रधानमन्त्रीले नेपाली जनताको ठूलो बलिदान र सङ्घर्षबाट संविधान जारी भएको र त्यसमा सामाजिक न्याय र समानतालाई उच्च महत्व दिइएको बताउनुभयो । “संविधानमा नै स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा लिपिबद्ध गरिएको छ । तर, ती मौलिक हक कार्यान्वयन गर्ने प्रयोजनका लागि कानुन बनाउन बाँकी नै छ । नेपाल सरकार संविधानले परिकल्पना गरेअनुसारका नयाँ ऐनहरू यथाशीघ्र संसद्मा पेस गर्ने प्रक्रियामा छ”, प्रधानमन्त्रीले भन्नुभयो । प्रधानमन्त्रीले अगाडि थप्नुभयो, “प्रधानमन्त्रीका रुपमा मेरो दोस्रो काल स्वास्थ्य क्षेत्रको विकासका निम्ति महत्वपूर्ण रह्यो । सोही कार्यकालमा स्वास्थ्य बीमा लागू भयो । विभिन्न प्राणघातक रोगको उपचारमा जनतालाई राज्यले सहयोग गर्ने प्रबन्ध गरियो । प्रत्येक स्थानीय तहमा आधुनिक अस्पताल निर्माणको निर्णय लिइयो ।

स्वास्थ्य सेवालाई देशैभरि विस्तार गरियो । मेरो तेस्रो कार्यकालमा सातै प्रदेशमा विशेष स्वास्थ्य क्षेत्रसहित प्रदेश अस्पतालहरू निर्माण गरिनेछ । त्यसमा मुटुरोगको युनिट पनि राखिनेछ ।” प्रधानमन्त्रीले आफू चुनौतीपूर्ण परिस्थितिमा प्रधानमन्त्री बनेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “अर्थतन्त्रको स्थिति तपाईहरूलाई थाहा नै छ । समाज निराशातिर जाने हो कि भन्नेखालका आशङ्का छन् । यस्तो परिस्थितिमा मैले सरकारको नेतृत्व गरेको छु । तसर्थ, हामीले देशलाई नयाँ उत्साह दिनुपर्ने छ । शिक्षा, स्वास्थ्य, रोजगारी, वैदेशिक रोजगारी, विकास र समृद्धिका क्षेत्रमा केही नयाँ गर्नुछ । यसका लागि तपाईंहरूको पनि सहयोग रहने मेरो विश्वास छ ।”


प्रकाशित मिति: १५ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?