Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालन अनुमति


काभ्रेपलाञ्चोक, १५ माघ (रासस)ः पनौती नगरपालिकास्थित कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालन गर्न अनुमति दिइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङका लागि अनुमति दिएको हो । प्राधिकरणले उक्त स्थानमा यही माघ महिनादेखि प्याराग्लाइडिङ सञ्चालन गर्न पाउने गरी अनुमति दिएकाले व्यावसायिक उडान गर्ने तयारी भइरहेको प्रालिका अध्यक्ष छविलाल हुमागार्इंले बताउनुभयो । “मन्त्रालयबाट गत पुस २८ गते व्यावसायिकरुपमा प्याराग्लाइडिङ सञ्चालन अनुमति प्रमाणपत्र पाएका छौँ अब व्यावसायिक उडानका लागि तयारी गर्दैछौँ”, उहाँले भन्नुभयो, ‘अहिले उडानका लागि तयारी भइरहेको छ । “यसैसाता पोखराबाट पाइलट ल्याएर ‘डेमोष्ट्रेशन’ उडान गर्नेछौँ, त्यसपछि व्यावसायिक उडान थाल्नेछौँ”, अध्यक्ष हुमागाईंले भन्नुभयो । सुरुमा तीन र क्रमशः दश वटा प्याराग्लाइडिङबाट उडान गरिने भएको छ ।

सम्पूर्ण तयारीपछि यही माघ महिनादेखि नै व्यावयसायिकरूपमा उडान थालिने छ । ‘डेमोष्ट्रेशन’ उडानपछि ‘टेकअप’ र ‘ल्याण्डिङ’का स्थान एकीन गरी दुवै क्षेत्रमा दीगोरुपमा व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ थियो । यहाँ तीन वर्षअघि विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा गुर्दूम डाँडाबाट प्याराग्लाइडिङका लागि परीक्षण उडान गरिएको थियो । त्यसबेला १५ वटा प्याराग्लाइडिङद्वारा तीन दिनसम्म परीक्षण उडान गरिएकामा पछि दुई पटक पनि परीक्षण उडान भइसकेको थियो । उडान भर्ने स्थान, ल्याण्डिङ, हावाको चाप, तथा अन्य वातावरण अनुकूल भएकाले हाल अनुमति पाइएको जनाइएको छ । अध्यक्ष हुमागाईंका अनुसार दैनिक १० प्याराग्लाइडिङलाई बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उडान भर्न अनुमति दिइएको छ ।

तोकिएको समयमा छ हजार ५०० फिट उचाइसम्म ‘भिजिबीलिटी’ रहने जनाइएको छ । प्याराग्लाइडिङ उडान गुर्दूम डाँडाबाट सुरुगरी कुशादेवीको बञ्चरेटारमा ल्यान्डिङ हुन्छ । गुर्दूम डाँडाबाट बन्चरेटार सडक दूरीको हिसाबले चार किलोमिटर छ । उडान भर्ने स्थान समुद्री सतहबाट दुई हजार तीन सय ५० मिटर उचाइमा छ भने ल्यान्डिङ हुने स्थान बन्चरेटार एक हजार तीन सय मिटरमा छ । प्याराग्लाइडिङ उडानका लागि स्थानीय पाँच युवालाई सोही विषयमा अध्ययन गराइएको उहाँले जनकारी दिनुभयो । “प्याराग्लाइडिङले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नाका साथै यस क्षेत्रको पर्यटन प्रवद्र्धन हुनेछ”, पनौती–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले भन्नुभयो, “ प्याराग्लाइडिङ सञ्चालनपछि कुशादेवी बिहावर क्षेत्रको आर्थिक विकासमा थप टेवा पुग्नेसमेत अपेक्षा गरिएको छ । नगरपालिकाले पनि चालू आर्थिक वर्षमा साहसिक खेल–पर्यटनलाई प्राथमिकतामा राखेको र यसैवर्ष हाईकिङ ट्रेलको विकास, विस्तार तथा प्रचार गर्ने नीति तथा कार्यक्रममा समेत उल्लेख गरेको छ ।’’ यसैगरी साहसिक खेल गतिविधि प्रवद्र्धनका लागि प्याराग्लाईडिङ, रक क्लाइम्बिङ, साइक्लिङजस्ता प्रतियोगिता सञ्चालन गरिने योजना रहेको उल्लेख गरिएको छ ।

नगरपालिकाले गतवर्ष चैतमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल साइकिलिङ सुरुवात गरेको थियो । उक्त साहसिक खेल नगरको १ नं वडास्थित सबैभन्दा अग्लो फुल्चोकीडाँडाबाट २ नं वडाको नागीडाँडासम्म छ किलोमिटर साइकिलिङ टे«ल रुट तय गरिएको थियो । नगरको ‘फुल्चोकी टावर माउन्टेन बाइक ट्रेल’मा त्यतिबेला नेपाल, क्यानाडा र भारतका करिब दुई सय जनाले साइकिलिङ गरेका थिए । नेपाल पर्यटन बोर्डका अनुसार पनौती–नमोबुद्ध हाईक, बल्थली इको–ट्रेल (लो–ल्याण्ड ट्रेक), साँगा–पनौती हाईक (कम्युनिटी हाइक), गुर्दुम–महाभारत पदयात्रा, माउण्टेन बाइक (फुल्चोकी वरिपरि), बर्ड वाचिङ (चरा अवलोकन), योग रिट्रिट, सामुदायिक र निजी होमस्टे, तामाङ सांस्कृतिक पदयात्रामार्ग, जात्रा–मेला अवलोकन गर्न सकिने छ ।

गतवर्ष असोजमा बोर्डले पनौतीको ऐतिहासिक एवं पर्यटकीय क्षेत्र प्रवद्र्धनका लागि घुम्ने स्थान र गर्न पाइने गतिविधि प्रचारमा ल्याएको र यसका लागि पनौती नगरभित्रका ऐतिहासिक सम्पदा एवं पर्यटकीयस्थललाई मान्यता दिँदै प्रचार सामग्रीसमेत सार्वजनिक गरेको थियो । ती र अन्य साहसिक खेलका लागि पनौती उपयुक्त स्थान रहेकाले उक्त नगरमा प्याराग्लाइडिङ, रक–क्लाइमिङजस्ता खेल गर्न सकिने बोर्डले जनाएको छ ।


प्रकाशित मिति: १५ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?