Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

एक पटक सोधिएका प्रश्न कम्तिमा पाँच वर्षसम्म नसोधिने, गेसपेपर पढेर पास हुने अवस्था अन्त्य


२२ जेठ, काठमाडाैँ । गाइड, गेसपेपर, ओल्ड इज गोल्ड वा बजारमा पाइने सहयोगी सामग्रीबाट परीक्षाको तयारी गर्ने सोच राखेका स्कुले विद्यार्थीले अब चाहिँ धोका पाउने छन् । कक्षा ८, १० र १२ का विद्यार्थीले यस्ता सामग्री खरिदमा खर्च नगर्दा हुन्छ । राष्ट्रिय परीक्षा बोर्डले स्तरीकृत परीक्षा प्रणाली अवलम्बन गरेको छ । यो प्रणालीका कारण वार्षिक परीक्षामा एक पटक सोधिएका प्रश्न कम्तीमा पाँच वर्षसम्म सोधिने छैन । हाल परीक्षामा बर्सेनि जस्तो प्रश्न दोहोरिने गरेका छन् ।

बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बजारमा पाइने पुराना प्रश्नपत्रको सँगालो सङ्कलन गर्ने र त्यसका आधारमा अभ्यास गरी कण्ठ गर्ने प्रवृत्तिलाई अन्त्य गर्न खोजिएको बताए । “एक पटक सोधिएको प्रश्नपत्र कम्तीमा पाँच वर्षसम्म दोहोरिने छैन,” उनले भने, “स्तरीकृत परीक्षा प्रणालीका कारण सिकाइ र बुझाइका आधारमा उत्तर लेख्नुपर्ने हुन्छ । घोकेर उत्तर दिने परम्परागत पद्धति अब काम लाग्दैन ।”

बोर्डले पहिलो चरणमा यस वर्षदेखि कक्षा १० (एसईई) को गणित, विज्ञान र अङ्ग्रेजीमा यो प्रणाली लागु गरेको छ । आगामी वर्ष अन्य कक्षामा लागु गरिने छ । बोर्डले यसका लागि प्रश्नपत्रका हजारौँ सेट तयार गरिरहेको छ । देशका सयौँ शिक्षकबाट ती प्रश्नपत्र तयार गरिएका हुन् । प्रश्नपत्रको परीक्षणसमेत गरिएको छ । तिनै सेटबाट पालिकादेखि बोर्डसम्मले प्रश्नपत्र तयार गर्नेछन् । प्रश्नपत्रको पहुँच सीमित व्यक्तिमा मात्र हुने हुँदा गोपनीयता कायम रहने दाबी बोर्डले गरेको गोरखापत्रमा उल्लेख छ।

उनले परीक्षार्थीहरू नियमित रूपमा कक्षाकोठामा पढेर रचनात्मक क्षमता विकास गर्नेभन्दा पनि परीक्षामुखी मात्रै बन्न थालेपछि स्तरीकृत परीक्षा प्रणाली लागु गरिएको बताए । बोर्डका अध्यक्ष डा शर्माले पाठ्यक्रमको मर्म अनुसार विद्यार्थीमा सिकाइ सक्षमता विकास हुने र विभिन्न कक्षा उत्तीर्ण गरेपछि परीक्षार्थीले के के सिके भन्ने जान्न यो परीक्षा प्रणालीले सहयोग पुर्याउने अपेक्षा गरिएको बताए ।

“शिक्षकले पाठ्यपुस्तकका कुरा होइन, पाठ्यक्रममा आधारित भएर अध्यापन गर्नुपर्छ,” उनले भने, “पाठ्यपुस्तकमा मात्र भर पर्दा विद्यार्थीको सिकाइ र बुझाइ कमजोर भएको छ ।”

यस क्रममा बोर्डले सजिला, मध्यम र कठिन प्रश्नपत्र तयार गरेको थियो । विद्यार्थीमा परीक्षण गराउँदा कमजोर विद्यार्थीलाई कठिन प्रश्न उपयुक्त नभएको र अब्बल विद्यार्थीलाई सजिलो प्रश्न उपयुक्त नभएको देखिएपछि मध्यम प्रश्नपत्र तयार गरिएको छ । विद्यालय तहको परीक्षामा एउटै उत्तरपुस्तिकालाई फरक फरक परीक्षकले परीक्षण गर्दा दिने अङ्कमा निकै तलमाथि रहेको पाइएको छ । यो अन्तर घटाउन पनि स्तरीकृत परीक्षा प्रणाली उपयुक्त रहेको ठम्याइ बोर्डको छ ।

“एउटै उत्तरपुस्तिका परीक्षण गर्दा शिक्षकहरूले २० अङ्कसम्म पनि अन्तर रहेको पाइयो । उही शिक्षकले आज दिने अङ्क र केही दिनपछि त्यसैलाई दिने अङ्क नै फरक हुने पनि देखियो,” बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले भने, “यो अन्तरले गर्दा विद्यार्थी मर्कामा पर्छन् । उनीहरूमाथि अन्याय हुन्छ । यसलाई कम गर्न स्तरीकृत परीक्षा प्रणाली उपयुक्त हुने देखिएको छ ।”

स्तरीकृत परीक्षा प्रणाली विज्ञ प्राडा प्रकाशमान श्रेष्ठले यो प्रणाली परीक्षा सञ्चालन तथा उत्तरपुस्तिका परीक्षण गर्ने परम्परागत शैलीको तुलनामा निकै प्रभावकारी हुने तर प्रणाली लागु गर्नुअघि प्रशस्त अध्ययन हुनुपर्ने बताउनुभयो । “धेरै सङ्ख्यामा नमुना प्रश्नपत्र तयार गरी तिनको परीक्षण विद्यार्थीमाथि गरिनुपर्छ । यसको विश्लेषणपछि उपयुक्त प्रश्नपत्र तयार गर्न सकिन्छ,” उनले भने ।


प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?