Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

विपद् नमूना अभ्यास हेर्दै भक्कानिए बोटे समुदाय


८ जेष्ठ ,काठमाडौँ । व्यास नगरपालिका–१० मा पर्ने मादी नदीमा केही व्यक्ति बगाउँदै गरेको भयावह दृश्य देखियो । देख्नेहरू अत्तालिँदै हारगुहार माग्दै बचाउन आग्रह गर्दै थिए । तत्कालै नेपाली सेना डुङ्गा लिएर गोताखोर टोलीसहित बग्दै गरेकालाई बचाउन उद्धारमा जुट्यो । तत्कालै सेनाले उद्धार गर्दा नदीमा बग्दै गरेका पाँच/छ जनाले पुनर्जीवन पाए ।

नजिकै डिलमा बसेर नेपाली सेनाले आज गरेको विपद् नमूना अभ्यास हेर्दै गरेकामध्ये स्थानीय टेकबहादुर बोटेले आफूलाई सम्हाल्न सकेनन् । “यस्तो विपद् शत्रुलाई पनि नपरोस्”, दायाँ हातले आँसु पुछ्दै ५० वर्षीय बोटेले भने, “यही नदीले पाँच महिना पहिले मेरी बुहारी मङ्गलीलाई पनि खायो । अहिले बुहारीको सम्झना आयो । त्यसैले मन सम्हाल्न सकिनँ ।”

यही मङ्सिर महिनामा व्यास–५ पाटनमा आफन्तको मृत्यु संस्कार सहभागी हुन अर्घौमा धारापानी घाटको जङ्गार तर्ने क्रममा ४१ वर्षीया बुहारी मङ्गलीको बगाएर मृत्यु भएको बोटेले बताए । बोटेका अनुसार उक्त घाट तर्ने क्रममा बुहारी मङ्गलीलाई बगाएपछि करिब तीन सय मिटर तल शव फेला परेको थियो । त्यसअघि विसं २०७३ मा स्थानीय ५८ वर्षीय बुद्धिबहादुर बोटेको पनि सोही स्थानमा बगाएर मृत्यु भएको थियो ।भैँसी तार्ने क्रममा बुद्धिबहादुरको मृत्यु भएको टेकबहादुरले बताए ।

उक्त घटनापछि पानीसँग जबरजस्ती गर्न हुँदैन रहेछ भन्ने सिकेको उनले बताए । विपद्को समयमा सूचना पाएलगत्तै उद्धारमा खटिन सुरक्षाकर्मी छिटो आउने गरी राज्यले व्यवस्था गर्नुपर्ने स्थानीय ४० वर्षीय टीकाराम थापामगरले बताए । “विपद् नमूना अभ्यास हेरेर कसरी उद्धार गरिने रहेछ भन्ने जानकारी पायौँ”, थापामगरले भने, “तर साँच्चै विपद्को समयमा तालिम प्राप्त सुरक्षाकर्मीहरू तुरुन्तै आउने गरी राज्यले व्यवस्था गर्न सक्नुपर्छ । तब मात्र नागरिकको जिउधनको रक्षा गर्न सकिन्छ ।”

उक्त नमूना अभ्यास गरिएको मादी नदी किनार नजिकै लोपोन्मुख बोटे समुदायको ३६ घर छ । उक्त गाउँमा करिब एक सय ८० जना बोटेहरू बस्दै आएका छन् । नदीमा माछा मारेर जीविका चलाउँदै आएका बोटेहरू पछिल्लो समय कृषि क्षेत्रमा संलग्न छन् । विपद् नमूना अभ्यासले गर्दा आफूहरूले प्राकृतिक विपद्मा कसरी जीवन रक्षा गर्ने भन्ने बारेमा जानकारी पाएको स्थानीय ४५ वर्षीया राममाया बोटेले बताए । “विपद् नमूना अभ्यासबाट हामीले विपद्को समयमा आत्तिन नहुने कुरा पनि सिक्यौँ”, राममायाले भने, “आगलागी, बाढीपहिरो र भूकम्पको जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा प्रत्यक्ष जानकारी पाइयो ।”

सुनेरभन्दा पनि देखेको धेरै समयसम्म सम्झिने भएकाले नमूना अभ्यासले विपद्को समयमा कसरी उद्धार गर्ने भन्ने बारेमा आफूहरूलाई सिकाएको स्थानीय ४३ वर्षीय आइतबहादुर बोटेले बताए । “विपद्बाट बच्न पूर्वतयारी पनि गर्नुपर्ने रहेछ भन्ने बारेमा जानकारी पायौँ”, बोटेले भने, “विपद् नै परेको जस्तो दृश्य देख्दा आङ नै सिरिङ्ग भयो ।”

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश र नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरको संयुक्त आयोजना र दमौलीस्थित कालिभञ्जन गणको संयोजनमा सोमबार विपद् नमूना अभ्यास भएको थियो ।

आगलागी, भूकम्प, बाढीपहिरामा परेकालाई कसरी उद्धार गर्ने भन्ने बारेमा भएको अभ्यासको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, म्याग्दे गाउँपाकिाका प्रमुख श्रीप्रसाद श्रेष्ठ, श्री नम्बर ३ बाहिनी अड्डाका बाहिनीपति गौरवकुमार केसी, गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङ, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजी, गण्डकी प्रदेश राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक मधु केसीलगायतले विपद् नमूना अभ्यास निरीक्षण गरेका थिए ।

गण्डकी प्रदेशमा तीन वर्षमा बाढीपहिरो आगलागीबाट दुई सय १८ जनाको मृत्यु, चार सय एक घाइते, दुई हजार पशुचौपाया र दुई हजार पाँच सय भौतिक संरचनामा क्षति पुगेको तथ्याङ्क रहेकाले सबै पक्ष गम्भीर हुन आवश्यक रहेको पश्चिम पृतनाका पृतनापति उपरथी दीपककुमार बानियाले बताए । उनका अनुसार गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा वार्षिक ४३ करोड मूल्य बराबरको आर्थिक क्षति भएको छ ।

“विपद्बाट सर्वसाधारणको उद्धार गर्न सकिन्छ भन्ने ठानेर नै हामीले नमूना अभ्यास गरेका हौँ”, उपरथी बानियाँले भने, “यस्ता कार्यलाई स्थानीय तहले पनि आफ्नो कार्यक्रम बनाएर व्यापक प्रचारप्रसार गर्न आवश्यक छ ।”गत वर्ष गण्डकी प्रदेशका ११ जिल्लामा नेपाली सेनाको नेतृत्वमा १८ नमूना अभ्यास गरिएको उपरथी बानियाले जानकारी दिए ।

विपद् अचानक आइपर्ने भएकाले पूर्वतयारी गरी विपद्बाट हुने क्षतिलाई कम गर्न सकिने गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले बताए । विपद् जोखिम क्षेत्र पहिचान गरी मानवीयलगायतका क्षति न्यूनीकरण गर्न पूर्वतयारी गरी तालिम प्राप्त जनशक्ति खटाउने गरी गण्डकी प्रदेशबाट व्यवस्था गर्न लागिएको मुख्यमन्त्री पाण्डेले जानकारी दिए । “गण्डकी प्रदेशमा विपद्लाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा हामी गम्भीर भएर लागेका छौँ”, उनले भने, “विपद् व्यवस्थापनका लागि सबै क्षेत्रबाट सकारात्मक पहल कदमीको अपेक्षा गरेका छौँ ।” विपद् व्यवस्थापनका लागि आफूहरूले पाठ्यपुस्तकमा उल्लेख गर्ने गरी तयारी गरिरहेको उनले जानकारी दिए ।

:पूर्ण विके (छवि)


प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?