Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

५४ वर्षपछि माध्यमिक तह सञ्चालन


१८ वैशाख ,खोटाङ । खोटाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित माबेमा सञ्चालित भानु आधारभूत विद्यालयमा माध्यमिक तहको पठनपाठन सुरुआत गरिएको छ । विसं २०२६ मा स्थापना भएको भानु विद्यालयलाई गाउँपालिकाले यही शैक्षिकसत्रदेखि कक्षा ९ सञ्चालनको अनुमति दिएसँगै मावि तहको कक्षा सुरु गरिएको हो ।

कक्षा ९ मा ३१ विद्यार्थी भर्ना गरेर पठनपाठन सुरु गरिएको गाउँपालिकाका प्रमुख उदिमबहादुर राईले बताए    । गाउँमै मावि तहको विद्यालय सञ्चालन भएसँगै लिच्कीराम्चेका विद्यार्थीले तीन घण्टा पैदल हिँडेर छिमेकी वडामा सञ्चालित सिम्पानी मावि सिम्पानी पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

स्थानीय अभिभावकले सङ्कलन गरेको चन्दा तथा गाउँपालिकाको सहयोगले मावि तहको विद्यालय सञ्चालन गरिएको प्रधानाध्यापक गोपाल राईले बताए । सो अवसरमा गाउँपालिका उपप्रमुख रुपेश राई, वडाध्यक्ष इन्द्रबहादुर राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रदेश समिति सदस्य राजन ढकाल, नेकपा (माओवादी केन्द्र) गाउँपालिका अध्यक्ष दीपेन्द्र राईलगायतले शुभकामना दिएका छन् ।

मावि तह सञ्चालनार्थ चन्दा सहयोग गर्ने अभिभावकलाई सम्मानपत्रसमेत प्रदान गरिएको थियो । निमावि राहत तीन, प्रावि राहत एक, बालविकास सहायक एक, निजी एक र प्रावि दरबन्दी चार गरी दश शिक्षक रहेको उक्त विद्यालयको हालसम्म एक सय ८८ विद्यार्थी भर्ना भएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यार्थी भर्ना अभियान जारी रहेको उक्त विद्यालयमा गाउँपालिका र वडाले एक/एकजना मावि शिक्षक व्यवस्था गर्ने सहमति भएको प्रधानाध्यापक राईले जानकारी दिए । विसं २०७८ को जनगणनाअनुसार तीन हजार ५७७ जनसङ्ख्या रहेको लिच्कीराम्चेमा लक्ष्मी माविसमेत सञ्चालित छ ।


प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?