Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

गाउँपालिकाको अवस्थाबारे जानकारी गराउन स्थानीय पाठ्यपुस्तक निर्माण, ५ कक्षासम्म पढाइ हुने


१५ वैशाख, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाले स्थानीय पाठ्यक्रमअनुरुप कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निर्माण गरेको छ ।

विद्यार्थीलाई गाउँपालिकाको समग्र अवस्थाका बारेमा जानकारी गराउने गरी गाउँपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयको कक्षा १ देखि ५ सम्मका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरिएको हो । गाउँपालिकाले आधारभूत तह १–८ लागि ‘हाम्रो विनयी त्रिवेणी’ नामको पाठ्यक्रम निर्माण गरेको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए ।

विज्ञ र स्थानीय सरोकारवालाको समन्वयमा तयार भएको स्थानीय पाठ्यक्रमले विनयी त्रिवेणीको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक तथा कृषि, पर्यटनलगायत चिनारीमा समेत सहयोग पुग्ने गाउँपालिका अध्यक्ष गिरीले विश्वास व्यक्त गरे ।

“चालु शैक्षिकसत्रदेखि कक्षा १–५ सम्मका लागि स्थानीय पाठ्यपुस्तक नै निर्माण गरी अध्यापन सुरु गरेका छौँ”, उनले भने, “नेपालको संविधानले स्थानीय पाठ्यक्रमको परिकल्पना गर्दै त्यसको निर्माण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएकाले त्यसको अभ्यास गरेका छौँ ।”

पाठ्यक्रममा गाउँपालिकाको भूगोल, कला, संस्कृति, इतिहास, भाषा, धर्म, स्वास्थ्य, सरसफाइ, पर्यावरण, पेसा–व्यवसाय, विपद् व्यवस्थापन तथा जीवनोपयोगी सीप समेटेर पाठ्यक्रम निर्माण गरेको विनयी त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बोधराज बस्यालले बताए ।

“विद्यार्थीलाई कक्षागत आधारमा स्थानीय पाठ्यक्रममा विभिन्न विषय समावेश गरिएको छ”, उनले भने, “आधारभूत पाठ्यक्रममा गाउँपालिकाको समग्र अवस्था विद्यार्थीले सहजै पहिचान गर्न पाउनेछन् ।”

गाउँपालिकाले हाल स्थानीय पाठ्यक्रमको कक्षा १ देखि ५ सम्मको पाठ्पुस्तकलाई छपाइका लागि पठाइसकेको छ । गाउँपालिकाभित्रका सबै विद्यालयमा पाठ्यपुस्तक एक हप्ताभित्रमा निःशुल्क उपलब्ध गराउने गरी तयारी गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख भूपराज पाण्डेले बताए ।

“पाठ्यक्रममा आधारित रहेर पाठ्यपुस्तक लेखन र छपाइको काम सकेर वैशाखभित्रमै विद्यालयमा कार्यान्वयनमा लगिने छ”, उनले भने । पाठ्यक्रमले तहगत सक्षमतासमेत तय गरेको छ । कक्षा १–३ ले गाउँ, वडा र पालिकाको परिचय, स्थानीय प्राकृतिक स्रोत तथा सम्पदा र पर्यटकीयस्थलको पहिचानलगायतका सक्षमता हासिल गर्ने पाठ्यक्रममा उल्लेख छ ।

पाठ्यक्रममा कक्षा ४ र ५ ले गाउँपालिकाको नक्साङ्कन, अवस्था पहिचानसँगै जीवनपयोगी सीपलगायतका सक्षमता हासिल गर्ने उल्लेख छ । कक्षा ६–८ ले गाउँपालिकाको इतिहासको जानकारी, गाउँपालिका गठन, सेवा प्रवाह, स्थानीय पर्यटन र व्यापारको सम्भावना अध्ययन गर्न सक्ने सक्षमता हासिल गर्न सक्ने पाठ्यक्रममा उल्लेख छ ।

आफैँले देखेका, प्रयोग गरेका, दैनिकीसँग जोडिएका कुरा किताबमा समेटिँदा पढाइमा नयाँपन थपिएको जनता आधारभूत विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद बस्यालले बताए । उनका अनुसार स्थानीय पाठ्यक्रमअन्तर्गत वडा, स्थानीय सामाजिक संस्था र गाउँपालिकाको सामान्य जानकारी, विनयी त्रिवेणी गाउँपालिकाको भौगोलिक, सामाजिक र सांस्कृतिक अवस्थाका बारेमा जानकारी पढाइ हुने गरेको छ । विनयी त्रिवेणीभित्रका ४२ सामुदायिक र १२ संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरिएको छ ।


प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?