Trending
>>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’ >>   स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने >>   नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न >>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी >>   विशेष महाधिवेशन अनुचित सिद्ध भयो, सर्वोच्चले विचाराधीन मुद्दा छिटो टुङ्ग्याओस्ः नेता सिटौला >>   कैद भुक्तानपछि दीपक मनाङे जेलमुक्त >>   काँग्रेसका राष्ट्रिय सभाका सांसदहरूबीच परिचयात्मक कार्यक्रम शुरु (तस्बिरसहित) >>   अमेरिका–इजरायल सैन्य आक्रमणमा १३ सय भन्दा बढी इरानी सर्वसाधारणको मृत्यु
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

मुलुकमा स्थापित राजनीतिक परिवर्तनलाई संस्थागत गर्नु हामी सबैको दायित्व होः प्रधानमन्त्री


११ बैशाख,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले मुलुकमा स्थापित राजनीतिक परिवर्तनलाई संस्थागत गर्नु अहिले हामी सबैको दायित्व भएको बताउनुभएको छ । नेपाल रिपब्लिक मिडिया १५ औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

सो अवसरमा प्रधानमन्त्रीले भन्नुभयो, ‘हिजो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जसरी पत्रकारिता र राजनीतिक क्षेत्रबीच सहकार्य भयो, मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न आज पनि हामीबीच त्यस्तै सहकार्य आवश्यक छ । पछिल्ला दिनमा परिवर्तनलाई उल्ट्याउन चाहने तत्वहरू सल्बलाउन थालेकाले यसप्रति पनि हाम्रो सतर्कता जरुरी भएको छ ।’

उहाँले लोकतन्त्र पारदर्शी र जनताप्रति जवाफदेही शासन प्रणाली भएको उल्लेख गर्दै अझ सशक्त, कामकाजी र जनताप्रति प्रतिवद्ध बनाउन संचार क्षेत्रको सधै रचनात्मक आलोचना आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले सञ्चार माध्यम आम नागरिक र सरकारका समेत आँखा र कान भएको बताउनुहुँदै यसले गरिहेको काममा कुनै कमजोरी भएमा यसले सच्याउन मद्दत गर्ने बताउनुभयो। राज्यका विभिन्न निकाय एवम् राजनीतिक दललाई समेत सञ्चार क्षेत्रले घच्घच्याउँदै आएको उहाँको भनाइ थियो ।

प्रधानमन्त्रीद्वारा व्यक्त मन्तव्यकाे पूर्णपाठः-

अध्यक्षज्यू,
विशिष्ट अतिथिज्यूहरू,
अतिथि ज्यूहरु
उपस्थित आदरणीय महानुभावहरू ।
नेपाल रिपब्लिक मिडियाको इतिहाससँग मुलुकको राजनीतिक परिवर्तन समेत जोडिएको छ । देश राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेकै कारण यसले आफ्नो नाममै ‘रिपब्लिक’ जोडेको छ ।
यस मिडियाबाट प्रकाशित नागरिक दैनिक, रिपब्लिका डेलीलगायतका प्रकाशन अग्रणी रहेका छन् । मुलुकको एउटा भरपर्दो सञ्चार संस्थाले आज आफ्नो १५ औं वर्ष प्रवेशलाई उत्सवको रुपमा मनाउँदा मलाई खुसी लागेको छ ।
रिपब्लिक मिडियाले वर्षेनी आफ्नो वार्षिकोत्सवको अवसर पारेर समाजमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्ति व्यक्तिलाई खोजेर ‘नागरिक सम्मान’ को जुन परम्परा बसाएको छ, यसले समाज परिवर्तनका निम्ति महत्वपूर्ण भूमिका खेलिरहेका व्यक्तिहरूलाई प्रोत्साहन मिलेको छ ।
आम नागरिकलाई थप अधिकार सम्पन्न गरेको २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनले हामीलाई अधिकार मात्र होइन कर्तव्य पनि दिएको छ । त्यसैले कर्तव्य पालनाका निम्ति पनि यस प्रकारको कार्यक्रमले हामी सबैलाई झक्झक्याएको महसुस भएको छ ।
खासगरी २०५२ सालमा सुरु भएको माओवादी जनयुद्ध, २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन, त्यस अघि र पछिका सबैजसो आन्दोलनमा पत्रकारिता क्षेत्रले पु¥याएको योगदानकै कारण परिवर्तन सम्भव भयो र देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन सक्यो भन्न मलाई कत्ति पनि अप्ठ्यारो लाग्दैन । यो कुरा मैले भूमिगत जीवनबाट सार्वजनिक हुँदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको उपस्थितिमा बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा समेत व्यक्त गरेको थिएँ ।
मुलुकमा स्थापित राजनीतिक परिवर्तनलाई संस्थागत गर्नु अहिले हामी सबैको दायित्व हो । नेपालमा पत्रकारिता क्षेत्रले परिवर्तनलाई आत्मसात गरेको छ । हिजो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जसरी पत्रकारिता र राजनीतिक क्षेत्रबीच सहकार्य भयो, मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न आज पनि हामीबीच त्यस्तै सहकार्य आवश्यक छ । पछिल्ला दिनमा परिवर्तनलाई उल्ट्याउन चाहने तत्वहरू सल्बलाउन थालेकाले यसप्रति पनि हाम्रो सतर्कता जरुरी भएको छ ।
लोकतन्त्र पारदर्शी र जनताप्रति जवाफदेही शाषन प्रणाली हो । यहाँ जनताको आवाज सुनिन्छ । त्यो पारदर्शिता र जनताप्रतिको जवाफदेहीताका कारण यसका गल्ती पनि खुल्छन् । ती गल्ती र कमि कमजोरीप्रति निर्मम बन्दै कमि कमजोरी सुधारेर अघि बढ्नु हाम्रो दायित्व हो । यसको अर्थ केही साना तिना कमजोरी रहे भन्दैमा यो व्यवस्था काम नलाग्ने भयो भन्ने होइन । यसलाई अझ सशक्त, कामकाजी र जनताप्रति प्रतिवद्ध बनाउन संचार क्षेत्रको सधै रचनात्मक आलोचना आवश्यक हुन्छ ।

म अलिकति सञ्चार माध्यमको भूमिकाका बारेमा चर्चा गर्न चाहन्छु । सञ्चार क्षेत्रले राज्यका सबै निकाय खासगरी सरकारका काममा निरन्तर ध्यान दिइरहेको हुन्छ । यसरी चनाखो बस्ने सञ्चार माध्यम नै यथार्थमा राष्ट्रका सहयोगी हुन् । यस्ता सञ्चार माध्यम आम नागरिक र सरकारका समेत आँखा र कान हुन् । हामीले गरिहेको काममा कुनै कमजोरी भएमा यसले सच्याउन मद्दत गर्छ । राज्यका विभिन्न निकाय एवम् राजनीतिक दललाई समेत सञ्चार क्षेत्रले घच्घच्याउँदै आएको छ ।
वर्तमान सरकारले सञ्चार क्षेत्रको विगतको भूमिकालाई ध्यानमा राखेर मात्र होइन आजको दिनमा पनि आम नागरिकलाई सुसूचित गर्न खेलेको भूमिकाको समेत उच्च कदर गरेको छ । सरकार पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिका लागि प्रतिवद्ध छ । प्रेस स्वतन्त्रतामा अंकुश लगाउने गरी कुनै पनि कानून बनाउने पक्षमा छैन । पत्रकारिता क्षेत्रको योगदानका आधारमा पनि यसको आलोचनात्मक पक्षलाई सशक्त तुल्याउन सरकारले गर्नुपर्ने सबै कानुनी र अन्य आवश्यक व्यवस्थाको तयारी गरिरहेको छ ।
सरोकार पक्षकै सहभागितामा कानूनको मस्यौदा बनाउन मैले निर्देशन दिएको छु । यसअघि नै संसदमा पुगेका सञ्चारसम्बन्धी केही विधेयकलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सरकार प्रतिवद्ध छ । यसैगरी सरोकार पक्षको सहभागितामा आम सञ्चार विद्येयक, मिडिया काउन्सिल बिद्येयक सहितका कानूनको मस्यौदा बनाउने काम अन्तिम चरणमा पुगेको छ । ती विद्येयकलाई मुलुकको पत्रकारिता क्षेत्रलाई थप बलियो बनाउने, पत्रकारिताको संस्थागत विकास गर्ने, प्रेस स्वतन्त्रता र पत्रकारको हितलाई ध्यान दिने गरी अघि बढाइने छ ।

सरकारले मस्यौदा गरेका हरेक कानूनलाई वेभ साइटमा राखेर सार्वजनिकरुपमा सुझावका लागि आब्हान गर्ने र प्राप्त सुझावलाई समेटेर संसदमा विद्येयक दर्ता गर्ने वातावरण मिलाइदैंछ ।


प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?