Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

ताकमकोतमा हनुमानको मूर्ति


१० वैशाख ,म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ऐतिहासिक ताकमकोतमा करिब रु ३० लाखको लागतमा हनुमानको मूर्ति स्थापना गरिएको छ । धार्मिक पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको ताकमकोतको आकर्षण बढाउन हनुमानको मूर्ति राखिएको हो ।

धवलागिरि गाउँपालिका–७ ताकमका वडाध्यक्ष अशोक खत्रीले १२ फिट अग्लो हनुमानको मूर्ति राखिएको जानकारी दिए । “ललितकला केन्द्रका प्रमुख नरेन्द्रराज भण्डारीको नेतृत्वमा हनुमानको मूर्ति बनाइएको हो”, उनले भने, “काठमाडौँबाट मूर्ति ल्याएर जडान गर्ने काम सकिएको छ । हनुमानको मूर्तिले ताकमकोतको आकर्षण बढाएको छ ।”

मूर्ति स्थापनाका लागि धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा रु तीन लाख ५० हजार विनियोजन गरेको थियो । मूर्ति स्थापनाका लागि रु २९ लाख २७ हजार पाँच सय खर्च भएको र दाताबाट रु २४ लाख ४० हजार सहयोग जुटेको छ । अमेरिकामा रहेका ताकमका रघुनाथ सुवेदीको अगुवाइमा मूर्ति स्थापनाका लागि आर्थिक सहयोग सङ्कलन गरिएको थियो ।

उनका अनुसार दाताले घोषणा गरेको थप रु सात लाख २६ हजार एक सय ११ प्राप्त हुन बाँकी छ । सहयोगदाताको नाम शिलालेख बनाएर राखिने भएको छ । टाढाबाट देखिने गरी हनुमानको मूर्ति राखिएको छ । हनुमानको मूर्तिको पृष्ठभूमिमा धवलागिरि, अन्नपूर्ण र गुर्जा हिमाल देखिन्छ । यसैगरी कोतमन्दिर परिसरमा ताकमका विकास केसी र आकाश केसीको पहलमा खत्री परिवारले पितृ उद्धारका लागि प्रवेशद्धार निर्माण गरेका छन्।

स्वदेश तथा विदेशमा रहेका ताकम र आसपासका गाउँका बासिन्दाबाट तीन वर्षअघि रु ८० लाख चन्दा जुटाएर कोतघर र अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुनःनिर्माण भएको थियो । रु १५ लाख खर्चेर जगन्नाथ र अन्नपूर्ण देवताको मूर्ति राखिएको छ । सोह्रौँ शताब्दीमा निर्माण भएको ताकमकोत विसं १९९० र २०७२ को भूकम्पका कारण जीर्ण बनेको थियो । ताकमकोतको एकीकृत विकास गर्ने उद्देश्यले तयार पारिएको गुरुयोजनाअनुसार पहिलो कोतघर, अन्नपूर्ण–जगन्नाथ मन्दिर, सत्तल र सार्वजनिक शौचालय निर्माण भएको छ ।

ताकमकोतको पूर्वाधार निर्माणमा धवलागिरि गाउँपालिका र पर्यटन मन्त्रालयले पनि करिब रु एक करोड ५० लाख लगानी गरेका छन् । म्याग्दीको प्रमुख शक्तिपीठ मानिने ताकमकोतको जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ । जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी–देवताको मूर्ति रहेका यहाँ नवदुर्गा, जेष्ठी पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ ।

तत्कालीन राजाले कोतघरको रूपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायतका हातहतियार छन् । समुद्री सतहबाट दुई हजार पाँच सय मिटरको उचाइमा अवस्थित ताकमकोतबाट गुर्जा, धवलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाका साथै मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको दृष्यावलोकन गर्न सकिन्छ ।


प्रकाशित मिति: १० बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?