Trending
>>   मोवाइल फुड ल्याव भ्यानबाट दक्षिणकाली नगरपालिका क्षेत्रमा रहेका खाद्य पदार्थको अनुगमन >>   एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत >>   सार्वजनिक पर्खालका भित्तामा कलात्मक भित्ते चित्र (फोटो फिचर ) >>   फोहोरमा राजनीति गर्ने र गराउने दिन सकिए >>   बिना राउत र गायक रबिनको ‘तिमी हिँड्ने बाटो’ सार्वजनिक >>   इमान्दारितापूर्वक आत्मसमीक्षा गर्दै अगाडि बढौँः अध्यक्ष प्रचण्ड >>   ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबिच शिष्टाचार भेट >>   प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छ : परराष्ट्रमन्त्री डा राणा >>   पुनहिलमा विद्युत् र खानेपानीको समस्या >>   रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो
Logo
३० कार्तिक २०८१, शुक्रबार
३० कार्तिक २०८१, शुक्रबार

सुकाधापमा पर्यटक भित्र्याउन महोत्सव


३ वैशाख ,पाँचथर । करिब दुई किलोमिटर दूरीमा ठूला छवटा र एक दर्जन बढी स–साना पोखरी । सबैका आ–आफ्नै विशेषता र बनावट । वरिपरि गुराँस, चिमल र चाँपका रुखको घना जङ्गल । थरिथरिका गुराँसले मन तानिरहने । बीच–बीचमा चौँरी र गाईको चरन रहेका हरिया फाँट । चौँरी र गाईका गोठबाट निस्कने धुँवा र घन्टीको आवाजको माधुर्यता पनि उस्तै । जताजता र जति घुमे पनि उत्तिकै आनन्द लागिरहने पोखरी, गुराँस, जङ्गल र चौरहरूको सङ्गम हो याङवरक गाउँपालिका–१ स्थित लामपोखरी सुकाधाप क्षेत्र ।

नेपाल–भारत सीमावर्ती क्षेत्रभन्दा करिब पाँच किलोमिटरमुनि रहेको यो क्षेत्र पर्यटकले भ्रमण नगरेको बताइएको छ । यहाँ लामपोखरी, सुकापोखरी, हिलेपोखरी, जलजले पोखरी, गुन्टेपोखरी र झ्याउपोखरी गरी छवटा पोखरी रहेका छन् । प्रशस्तै खोज र अनुसन्धान नभए पनि ३२ प्रकारका लालीगुराँस पाइएको बताइने यो क्षेत्र दुर्लभ वन्यजन्तु रातोहाब्रे (रेडपाण्डा)सहित भिरमौरी, चरीबाघ, कस्तुरी, मृगलगायतको बासस्थानका रूपमा परिचित छ ।

पुष्पलाल (मध्यपहाडी) लोकमार्गको याङवरक गाउँपालिकास्थित च्याङथापू बजारबाट कच्ची सडक वा पैदलयात्राबाट पुग्न सकिने यो स्थान अहिले थरिथरिका गुराँस फुलेर निकै आकर्षक बनेको छ । कतिपयले गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रसँग तुलना गर्ने यो स्थान प्रचार–प्रसारको अभाव तथा पूर्वाधारको कमीका कारण पर्यटकको नजरमा पर्न सकेको छैन ।

महोत्सवको निरन्तरता धेरै गुराँस पाइने भएका कारण एक दशकअघिबाट यस क्षेत्रमा लालीगुराँस महोत्सव आयोजना गर्न थालिएको थियो । लामपोखरी क्षेत्रको विकास र संरक्षणमा सक्रिय संस्थाले आयोजना गर्ने महोत्सवले निरन्तरता नपाएसँगै चर्चामा आउन लागेको यो स्थान पुनः गुमनाम हुँदै गएको थियो । तर यस वर्षबाट याङवरक–१ को कार्यालयले महोत्सव आयोजना गर्न थालेको छ । नयाँ वर्ष २०८० को अवसर पारेर शुक्रबार आयोजित महोत्सवमा जिल्लाको याङवरक र फालेलुङबाट उल्लेख्य सङ्ख्यामा पर्यटक पुगेका थिए ।

आन्तरिक पर्यटक विशेषतः प्राकृतिक सुन्दरता, गुराँस, चिमल र चाँप फुलेको नियाल्न तथा पोखरीमा रमाउन यहाँ पुगेको भेटिन्थे । महोत्सवलाई निरन्तरता दिइएकामा उनीहरू उत्साहित र खुसी थिए । महोत्सवको अवसर पारेर वडा कार्यालयले गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका स्थानीय नेता, गाउँपालिकाभित्रका सरोकारवालालाई यस क्षेत्रको स्थलगत भ्रमण गराएको छ ।

झन्डै तीन घन्टामा पोखरीको एकसरो भ्रमण सकिने यहाँ पर्यटन विकासमा ठूलो लगानी आवश्यक नरहेकाले आवश्यक सहयोग गर्न तथा सहयोग जुटाउन गाउँपालिकालाई माग गरिएको वडाध्यक्ष राजेन्द्र खालिङ राईले बताए । महोत्सवका अवसरमा उक्त क्षेत्रको अवलोकनपछि याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्या, उपाध्यक्ष बाबा मेन्याङ्बोसहितका जनप्रतिनिधिले यस क्षेत्रको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

हजारौँ रोपनी क्षेत्रफलमा रहेको घना जङ्गल, गुराँस, चिमल र चाँपका प्रजाति, वन्यजन्तु तथा जडीबुटी आदिको अध्ययन गर्ने, यहाँ रहेका पोखरीलाई संरक्षण गर्ने र समग्र क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीयवासी तथा वडाले राखेको मागलाई कार्यान्वयन गर्ने अध्यक्ष योङ्याले प्रतिबद्धता व्यक्त गरे । “वातावरणीय र जैविक विविधताका हिसाबले यो क्षेत्रमा निरन्तर क्षति भइरहेको, पोखरी सुकिरहेको पाइयो”, अध्यक्ष योङ्याले भने, “यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाई स्थानीयवासीको आम्दानीको स्रोत बनाउनेमा हाम्रो ध्यान जानेछ ।”

लामपोखरी–सुकाधाप क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरी प्रचार–प्रसार गर्ने, यहाँसम्म पुग्ने सडकको स्तरोन्नति तथा फाक्लुङ–फालोट मोटरबाटो निर्माण गर्ने यहाँको वातावरण, पर्यावरण, भूगोल र जैविक विविधताको अध्ययन गरी स्थानीय पाठ्यक्रममा यी विषयलाई समावेश गर्ने, उक्त क्षेत्रलाई संरक्षित बनाउने, याङवरक–६ कालापानीबाट चरिभञ्ज्याङ–सातथुम्की–सुकाधाप–लामपोखरी–तोरीफूले–चिवाभञ्ज्याङ पदमार्ग निर्माण गरी पर्यटन सर्किट घोषणा गर्ने, होमस्टे तथा गोठस्टे निर्माण गर्ने, चौँरी, गाई र भेडापालक कृषकलाई पर्यटनमा जोड्ने, सार्वजनिक शौचालयलगायत संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेको यस क्षेत्रका नागरिक अगुवा नरबहादुर गुरुङको भनाइ छ ।


प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?