काठमाडौँ। नेपालको सेयर बजार पछिल्लो समय स्पष्ट दिशाको खोजीमा देखिएको छ। अगस्ट १७ देखि २१ सम्मको एक सातामा NEPSE सूचकांक २५.११ अंक अर्थात् ०.९५ प्रतिशतले घटेर २,६१८.७२ अंकमा बन्द भएको छ। सो अवधिमा कुल बजार पुँजीकरण करिब रु. ४.५०४ खर्बमा झरेको छ। झन्डै दुई तिहाई जनमतको सरकार प्रति आशा र भरोसा भएता पनि प्राईभेट सेक्टरले कुनै न कुनै रुपमा सरकारलाई नपत्याएको जस्तो देखिन्छ फल स्वरुप अर्थतन्त्रको एक मात्र ऐनाको रुपमा लिईने सेयर बजारमा लगानि उचित रुपमा भित्रिएको देखिदैन।
हालको अवस्थामा NEPSE लाई तत्कालै ठूलो ‘बुल रन’ आउने वा लामो समयसम्म लगातार घट्ने भनेर निष्कर्ष निकाल्नु हतार हुनेछ। बजार अहिले निश्चित दायराभित्रको उतारचढावमा रहेको देखिन्छ। विश्लेषकहरूले पनि बजारलाई दिगो रूपमा माथि लैजान दैनिक कारोबार रकम र मागमा उल्लेखनीय सुधार आवश्यक रहेको बताएका छन्।
बजारमा उतारचढाव भइरहे पनि मजबुत वित्तीय अवस्था र राम्रो लाभांश दिने कम्पनी छनोट गरी धैर्यपूर्वक लगानी गर्न सके दीर्घकालमा राम्रो प्रतिफलको अवसर बन्न सक्छ।
हालको अवस्थालाई हेर्दा लाभांसको सिजनको मुखमै भएको अबस्थामा लगानीकर्ताका लागि हल्ला र छोटो अवधिको लगानि भन्दा पनि कम्पनीको वित्तीय अवस्था, आम्दानी, व्यवस्थापन तथा मुल्यांकन सहित लाभांश क्षमतालाई मध्यनजर गरेर गरेको लगानिले निकट भबिश्यमा नै राम्रो प्रतिफल प्राप्त गर्न सकिने देखिन्छ।
प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार