चितवन। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य पुनः सुरु भएको छ।
बजेट अभावका कारण करिब एक महिनादेखि रोकिएको काम बागमती प्रदेश सरकारले ९ करोड रुपैयाँ निकासा गरेपछि अघि बढाइएको हो। भरतपुर महानगरपालिकाका अनुसार निर्माणको जिम्मा पाएको ‘हिमालयन कालिञ्चोक बिबिआर जेभी’ले पुनः निर्माण गतिविधि तीव्र बनाएको छ। ७५ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको रङ्गशाला २०८३ पुस २२ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
हालसम्म आयोजना करिब ५५ प्रतिशत सम्पन्न भइसकेको छ। यसअघि धुर्मस–सुन्तली फाउन्डेसनले सुरु गरेको परियोजना आर्थिक तथा व्यवस्थापकीय समस्याका कारण अलपत्र परेपछि भरतपुर महानगरपालिकाले नयाँ प्रक्रिया मार्फत निर्माणलाई निरन्तरता दिएको हो।
राष्ट्रिय महत्वको यस परियोजनाको निर्माणले पुनः गति लिएसँगै नेपाली क्रिकेटप्रेमीहरूमा रङ्गशाला समयमै सम्पन्न हुने आशा बढेको छ।
प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहीबार