Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

दुर्गममा आँखा उपचार सेवा पुर्‍याउन आवश्यक छ : उपराष्ट्रपति यादव


२६ चैत ,काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले देशका दुर्गम क्षेत्रमा आँखा उपचारको पहुँच पुर्‌याउन सबै क्षेत्र लाग्नुपर्ने बताएका छन्‌ । आज यहाँ नेपाल आँखा अस्पतालको स्वर्ण महोत्सव उद्घाटन समारोहमा उहाँले अन्धोपनको न्यूनीकरण र आँखा सेवा विस्तारमा केही सफलता हासिल भए पनि दुर्गममा सेवा विस्तार अझै चुनौतीकारुपमा रहेको बताएका हुन्‌ ।

उपराष्ट्रपति यादवले भने, “अन्धोपनको प्रतिशतमा कमी देखिए पनि नेपालको जनसङ्ख्या एवं ज्येष्ठ नागरिकको सङ्ख्यामा भएको बढोत्तरीले आँखाको सेवा विशेषगरी दुर्गम क्षेत्रमा अझै चुनौतीका रुपमा रहेको छ ।” नेत्रज्योति सङ्घको सर्वेक्षणअनुसार नेपालमा अन्धोपनको स्थिति सन् १९८१ को शून्य दशमलव ८४ प्रतिशतबाट घटेर सन् २०२० मा शून्य दशमलव शून्य २८ प्रतिशतमा झरेको हो । तर दुर्गममा आँखासम्बन्धी समस्या अझै रहेको भन्दै त्यहाँ सेवा विस्तार गर्न उहाँले सरोकारवाला सबैलाई आग्रह गरे ।

उनले भने, “यसका लागि सरकार, गैरसरकारी र निजी क्षेत्रबाट थप प्रयास गर्नुपर्छ ।” उनले नेपाल आँखा अस्पतालले विश्व स्वास्थ्य सङ्गठनको निर्दिष्ट सन् २०३० सम्म आँखा सेवामा निर्धारण गरेको लक्ष्य राष्ट्रिय रुपमा हासिल गर्न नेपाल सरकारसँग सहकार्य गरी अघि बढ्न प्रतिबद्ध भएको बताए । उनले आँखा उपचार सेवा, जनशक्ति उत्पादन एवं सामुदायिक कार्यक्रमबाट अन्धोपन न्यूनीकरणमा सबै आँखा अस्पतालले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसासमेत गरे ।

अस्पतालका पूर्वअध्यक्ष प्राडा रामप्रसाद पोखरेलले नेपाल आँखा उपचारका लागि स्वास्थ्य पर्यटनको केन्द्रका रुपमा प्रगति गरेको बताए । उनले भने, “५० वर्षअघि मोतिविन्दुको उपचारका लागि भारत जानैपर्ने बाध्यता थियो । अहिले भारतबाट नेपाल आउने सेवाग्राहीको घुइँचो छ, यो प्रशंसनीय प्रगति हो ।”

विसं २०३० चैत २६ गते त्रिपुरेश्वरमा निर्माण भएको नेपाल आँखा अस्पतालले स्थापनाको ५०औँ वर्षका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । अस्पतालका अध्यक्ष डा गोपालप्रसाद पोखरेलका अनुसार अस्पतालले स्थापनायता ३१ लाख ८२ हजार पाँच सय ७९ जनालाई सेवा उपलब्ध गराएको छ ।

यस्तै, एक लाख २५ हजार तीन सय ७९ जनाको आँखाको शल्यक्रिया गरिएको छ । घरदैलो कार्यक्रमबाट १५ लाखले आँखा उपचार सेवा लिएका छन् । अहिले १४ जना नेत्र विशेषज्ञ रहेको अस्पतालमा कर्निया, मोतिविन्दु, जलविन्दु, रेटिना, अकुलोप्लाष्टी एवं बाल आँखा उपचारको सेवा उपलब्ध छ ।

दैनिक सात सयजना बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन् । अस्पतालले विभिन्न समयमा विद्यार्थीको आँखा परीक्षण र चस्मा निःशुल्क वितरणसमेत गर्दै आएको छ ।


प्रकाशित मिति: २६ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?