
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणसम्बन्धी पार्टीका मागहरु पूरा नभएसम्म संसदीय प्रक्रियामा सहभागि नहुने बताएका छन् ।
मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक परियारले आफूहरुको आन्दोलन यथावत रहेको बताएका हुन् । उनले भिजिट भिसा जस्तो गम्भिर मुद्दालाई सरकारले पन्छाउन खोजेको समेत उनको आरोप छ । उनले अर्को संसद बैठक असार १४ गतेको रहेको उल्लेख गर्दै त्यतिबेलासम्म पार्टीको मुद्दालाई थप स्थापित गर्न आवश्यक कार्यहरु गर्ने बताए ।
उनले भने, ‘हामीले आज सदन बहिस्कार गर्यौं । हाम्रो आन्दोलन यथावत छ । अब असार १४ गते सदन छ । त्यो समयसम्म हामी यो मुद्दालाई थप स्थापित बनाउनको लागि के कस्ता कामहरु गर्नुपर्छ त्यो गर्छौं । हाम्रो आन्दोलन चाँही यथावत छ । यस्तो गम्भिर मुद्दालाई सरकारले जसरी पन्छाउन खोजेको छ त्यो बन्द होस् । हाम्रो माग पूरा भयो भने हामी संसदीय प्रक्रियामा फर्किहाल्छौँ ।’
सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेको थियो । उक्त समितिलाई रास्वपाले अस्विकार गरेको छ ।
प्रकाशित मिति: १० असार २०८२, मंगलवार