
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको मिथेन ग्याँसको व्यवसायिक उत्पादन आगामी आर्थिक वर्षभित्र भइसक्ने बताएका छन् ।
मंगलवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले दैलेखमा मिथेन ग्याँसको ११२ अर्ब घनमिटर एउटा कुवाबाट मात्रै प्राप्त हुने कामको अनुसन्धान सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । यसको परीक्षण उत्पादन मंसिरभित्रमा सम्पन्न हुने बताए । यसको सदुपयोग पनि गरिने जानकारी दिए ।
प्रधानमन्त्री ओलीले भने, ‘दैलेखमा मिथेन ग्याँसको ११२ अर्ब घनमिटर एउटा कुवाबाट मात्रै प्राप्त हुने काम थालेका थियौँ, सफल भएको छ । यसको परीक्षण उत्पादन मंसिरभित्रमा हुनेछ । यसको व्यवसायिक उत्पान सम्भवतः आगामी आर्थिक वर्षभित्र भइसक्नेछ । सदुपयोग पनि गरिनेछ । ’
प्रधनमन्त्री ओलीले विद्यालय शिक्षा ऐन छिटो पारित गर्नेतर्फ सरकार अग्रसर रहेको बताए ।
प्रकाशित मिति: १० असार २०८२, मंगलवार