
काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले व्यवस्थित राष्ट्रिय नीति तय गरी कार्यान्वयनमा जानु जरुरी भइसकेको बताएका छन् ।
बुधवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले स्वदेशको मौलिक प्रविधि र विश्व बजारबाट प्राप्त हुने विज्ञान र प्रविधिको अवसरलाई राष्ट्रको आवश्यकताका आधारमा ग्रहण, उपयोग र प्रवद्र्धन गर्नका लागि व्यवस्थित राष्ट्रिय नीति तय गरी कार्यान्वयनमा जानु जरुरी भइसकेको बताए । उनले विज्ञान तथा प्रविधिमा आधारित उद्यमशिलता विकासका लागि राज्यले लगानी, नीति, संरचना र अवसरको समायोजन गर्नुपर्ने बताएका छन् । नेपाली युवामा रहेको नविन सोच, ज्ञान, सीप, क्षमता र अनुभवलाई सदुपयोग गर्दै राष्ट्र निर्माणमा परिचालन गर्न जरुरी रहेको भन्दै युवालाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउन आवश्यक रहेको बताए । युवाहरुको क्षमता नेपालमै प्रस्फुटन गराउने वातावरण निर्माण गराउनु राज्यको दायित्व भएको बताए । समयसापेक्षा रुपमा जनताको आवश्यकता र समस्या समाधान गर्नसक्ने किसिमको विज्ञान, प्रविधिको विकास र प्रयोग हुन जरुरी रहेको बताए ।
अध्यक्ष दाहालले भने, ‘विज्ञान तथा प्रविधिमा आधारित उद्यमशिलता विकासका लागि राज्यले लगानी, नीति, संरचना र अवसरको समायोजन गर्नुपर्दछ । हामीले एकातिर नेपाली युवामा रहेको नविन सोच, ज्ञान, सीप, क्षमता र अनुभवलाई सदुपयोग गर्दै राष्ट्र निर्माणमा परिचालन गर्नुपर्दछ भने अर्कोतिर उनीहरुलाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपरेको छ । नयाँ विचार, खोज र नवप्रवर्तनका काममा युवाहरु बढी सक्षम हुन्छन् । उनीहरुलाई आवश्यक सहयोग र प्रोत्साहन नहुँदा दक्ष जनशक्ति विदेश पलायन हुने वा गलत बाटोमा लाग्ने स्थिति पैदा भइरहेको अनुभुति हामी सबैले गरिरहेका छाँै । युवाहरुको क्षमता नेपालमै प्रस्फुटन गराउने वातावरण निर्माण गराउनु राज्यको दायित्वभित्र पर्दछ । त्यसका लागि युवाहरुको क्षेत्रमा क्रियाशिल सरकारी निकायहरु राष्ट्रिय युवा परिषद् लगायतका संघ,संस्थाको भुमिका सशक्त, समन्वयकारी र प्रभावकारी बनाउनुपर्ने आवश्यकता मैले महशुस गरेको छु । कुनैपनि राष्ट्रको सर्वाङ्गिण विकासको लागि विज्ञान तथा प्रविधिको विकास र उपयोगको ज्यादै महत्वपूर्ण भुमिका रहन्छ । विश्वमा विकसित राष्ट्रहरुको विकासको मुल आधार नै विज्ञान प्रविधिको उच्चतम विकास र त्यसको सही प्रयोग नै रहेको देखिन्छ । जहाँ विज्ञान र प्रविधिको विकास, प्रवद्र्धन र सही उपयोग भएको छ, त्यसको विकासको दर उच्च रहेको छ । त्यस्ता देशले छिटै उन्नति हाँसिल गरेको अवस्था छ । नेपालको हकमा समयसापेक्षा रुपमा जनताको आवश्यकता र समस्या समाधान गर्नसक्ने किसिमको विज्ञान, प्रविधिको विकास र प्रयोग हुन सकिरहेको छैन । त्यसैले स्वदेशको मौलिक प्रविधि र विश्व बजारबाट प्राप्त हुने विज्ञान र प्रविधिको अवसरलाई राष्ट्रको आवश्यकताका आधारमा ग्रहण, उपयोग र प्रवद्र्धन गर्नका लागि व्यवस्थित राष्ट्रिय नीति तय गरी कार्यान्वयनमा जानु जरुरी भइसकेको छ ।’
अध्यक्ष दाहालले सूचना र प्रविधिका नविन प्रविधि अवलम्वन गर्न कानूनी आधार तयार गर्दै कृत्रिम बौद्धिकताको विकास, प्रवद्र्धन र नियमनको व्यवस्था गर्न आग्रह गरे । सूचना, प्रविधि क्षेत्रमा नीतिगत स्थायित्वसहित उच्च गतिको भरपर्दो र किफायती इन्टरनेट सेवा,डाटा सुरक्षा र बौद्धिक सम्पती संरक्षण प्रदान गर्दै डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरी सोको कार्यान्वयन र अनुगमनमा समेत जोड दिनुपर्ने बताए । नवप्रवर्तनलाई प्रवद्र्धन गर्दै वैज्ञानिक आविष्कारहरुलाई उद्यमशिलतामा परिणत गर्न जुट्नुपर्ने बताए । अनुसन्धान र आविष्कारको क्षेत्रमा प्रगति गर्न शिक्षा क्षेत्रमा नीतिगत स्पष्टता, उद्योग र अनुसन्धान संस्थानहरुबीच समेत समन्वय र सहकार्यलाई बढाउन आवश्यक रहेको बताएका छन् ।
प्रकाशित मिति: ४ असार २०८२, बुधबार