
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ ।
सोमवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बैठक बहिष्कार गरेको बताएका हुन् । उनले संसद्मा विरोध जारी राखिरहेको बेला जबरजस्ती संसद अगाडी बढाउनु संसदीय मर्यादाको दृष्टिकोणले उचित नहुने बताएका छन् । उनले जबसम्म संसदलाई जबरजस्ती अगाडी बढाउने काम भइराख्छ तबसम्म उक्त कर्मकाण्डमा राप्रपा सहभागी नहुने जिकिर गरे । अध्यक्ष लिङदेनले बैठक बहिष्कार गर्दै बैठक भत्ता राजश्वमा फिर्ता हुने व्यवस्था गर्न आग्रह गरेका छन् ।
उनले भने , “अहिले यो संसद्मा जे कुरा भइराखेको छ, म सभामुख महोदयलाई आग्रह गर्न चाहन्छु, सभामुख संसद्को अभिभावक हो । संसद्मा दुई राजनीतिक दलहरूले महत्वपूर्ण विषयमा आफ्नो फरक मत राखिरहेका छन् । विरोध जारी राखिरहेको बेला जबरजस्त संसद अगाडी बढाउनु संसदीय मर्यादाको दृष्टिकोणले पनि उचित हुँदैन र सभामुख स्वयंका लागि पनि यो अरूले राम्रो देख्ने विषय होइन । जबसम्म जबरजस्त यसरी संसद् अगाडी बढाउने काम भइराख्छ, यो कर्मकाण्डमा राप्रपा सहभागी हुँदैन । हामी बहिष्कार गर्छौ । हाम्रो बैठक भत्ता राजस्वमा फिर्ता हुने व्यवस्था हो ।”
उनले संसद्मा एक सय सिट भएको पार्टी र एक सिट मात्रै भएको पार्टीको पनि उत्तिकै मर्यादा र हैसियत हुनुपर्ने बताए । साथै, उनले जसले कुनैपनि विचारलाई निषेध गर्न नपाइने गरी निर्वाचन प्रणाली बनायो, उसैले यसको उल्लङ्घन गरिरहेको जिकिर गरेका हुन् ।
प्रकाशित मिति: २ असार २०८२, सोमबार