
काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सबै क्रियाशिल सदस्यहरुबाट प्रत्यक्ष रुपमा सभापति छान्ने व्यवस्था गरे पार्टीमा गुटबन्दी अन्त्य हुने बताएका छन् ।
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौंको तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले क्रियाशिल सबै सदस्यहरुबाट सभापति चुन्ने व्यवस्था पार्टीको गुटबन्दी खत्तम गर्ने एउटा अचुक अस्त्र रहेको बताए । उनले अहिले नेपाली काँग्रेसमा ८ लाख ६६ हजार क्रियाशिल सदस्य रहेको बताए । उनले क्रियाशिल सबै सदस्यहरुबाट काँग्रेसको सभापति छान्ने व्यवस्था गर्नसके गुट ध्वस्त हुने जिकिर गरेका छन् ।
महामन्त्री थापाले भने, ‘सबै साथीहरु तयार हो भने पार्टीको गुटबन्दी खत्तम गर्ने एउटा अचुक अस्त्र छ । नेपाली काँग्रेसमा ८ लाख ६६ हजार क्रियाशिल सदस्य छौँ । यो पटक अलिकति रिन्यु गर्ने सबै गर्दा नयाँ थपिँदा मानौँ १२ लाख भयो रे ल । हाम्रो पार्टीको अधिवेशनमा के हुन्छ, १२ लाख क्रियाशिल मान्छे एकै पटक जान्छ र बुथमा गएर हामी आफ्ना प्रतिनिधि छान्छौँ । त्यो छानिएको प्रतिनिधिले अर्को प्रतिनिधि छान्दै छान्दै गएर काठमाडौंमा हामी ५ हजार मान्छेको महाधिवेशन गर्छौं । १२ लाख मान्छेलाई यदी हामी बुथमा निकाल्छौँ र उसलाई हामी अधिवेशनमा टिक लगाउन दिन्छौँ भने यत्रो प्रविधिको जमाना छ । किन त्यो १२ लाख मान्छेले अप्रत्यक्ष निर्वाचन गरेर प्रतिनिधि छान्ने । सिधै त्यो १२ लाख मान्छेले काँग्रेसको सभापति छान्ने व्यवस्था गरौँ त ल । १२ लाख मान्छेबाट निर्वाचित भएको काँग्रेसको सभापतिले जसले गुट बनायो त्यो ध्वस्त । त्यो सकियो । होइन भने गुट त बन्छ, जति भाषण गरे पनि ।’
महामन्त्री थापाले माथिदेखि तलसम्म गुटले पार्टीलाई ध्वस्त बनाएको जिकिर गरे ।
प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार