Trending
>>   जलस्रोतको उपयोग र संरक्षणमा जलस्रोत विधेयक अहिलेको अपरिहार्य आवश्यकताः मन्त्री खड्का >>   चाक्सीबारी बैठकको निष्कर्षः सरकारले जनताका काम गरोस्, संविधान संशोधनको प्रक्रिया शुरु होस् >>   संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेताहरुकै कर्म र व्यवहारले कमजोर बनाइरहेको छः उपसभापति गुरुङ >>   मिडियालाई नियन्त्रण गर्ने नभइ स्वतन्त्रता र उत्तरदायित्वको सन्तुलन कायम गर्ने दिशामा विधेयक अगाडि लैजानुपर्छः सांसद… >>   विद्यालय शिक्षा विधेयक यथाशिघ्र पास गर्न एमाले सांसद गैरेको आग्रह >>   काँग्रेसको प्रजातान्त्रिक समाजवादको शिक्षा व्यापक बनाउनुपर्छः देउवा >>   अध्यक्ष ओलीको निर्देशनः पार्टी तोडफोड गर्ने तत्वबाट पार्टी जोगाउन एक हुनूस् >>   एमालेको पार्टी सदस्यता नविकरण २८ प्रतिशतले बढ्यो, मिसन ०८४ मा लाग्न ओलीको निर्देशन >>   काँग्रेस पुरानो हुनुमा गर्व छः महामन्त्री थापा >>   स्वास्थ्य मन्त्रालयमा प्रदीप पौडेलेको एक वर्षः शुरु भयो नागरिक आरोग्य कार्यक्रम
Logo
५ श्रावण २०८२, सोमबार
५ श्रावण २०८२, सोमबार

पनौतीमा शुरु भयो १४२१ वर्ष पुरानो हिले जात्रा


काठमाडौँ। काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा सांस्कृतिक शहर पनौतीमा १४२१ वर्षदेखि परम्परागत रूपमा मनाउँदै आइएको हिले जात्रा यस वर्ष पनि शुरु भएको छ ।

जात्रा जेठ २७ गतेबाट औपचारिक रूपमा शुरु भई २८ गतेसम्म चल्नेछ । परम्पराअनुसार पुण्यमती खोलामा नागको प्रतिक स्वरूप दुईवटा बाँस तेस्र्याइएपछि नगरका देवगण (दुइचा न्याकेगू) ले पानी तरेर जात्रा शुरु भएको मानिन्छ ।

राति भद्रकालीको रथ तानिने, गैंडु पूजा गरिने, विशेष होम सञ्चालन हुने परम्परा रहेको छ । चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा विधिपूर्वक पूजा आराधना गरिन्छ। विशेषगरी इन्द्रेश्वर महादेव मन्दिरको पूर्वपट्टि रहेको महेश्वर गणेशको खट बोकेर नगर परिक्रमा गरिन्छ । साँझपख भद्रकालीको रथ तानेर चक्र पूजा गरिन्छ । पूर्णिमाको दिन जात्राको मुख्य आकर्षण तीनवटा रथको दौड र जुधाइ आयोजना गरिन्छ ।

भद्रकाली, महादेव र इन्द्रेश्वरका रथहरूलाई बजारमा दौडाउन थालिन्छ र अन्त्यमा तीनै रथलाई आपसमा जुधाइन्छ । स्थानीय परम्पराअनुसार यो रथजात्रा देवतारूपी पात्रहरूको काम क्रीडासँग सम्बन्धित धार्मिक आख्यानमा आधारित छ । मान्यताअनुसार भद्रकाली देवी ६४ योगिनीको रूप धारण गरी महादेवलाई लखेट्छिन् । महादेव त्रिवेणीमा लुक्न पुग्छन् तर भद्रकालीले नछाडेपछि भैरवको रूपमा रूपान्तरण भई देवीलाई पछ्याउँछन् । अन्ततः भद्रकाली चारैतिरबाट घेरिन्छिन् र रथ जुधाइ त्यही प्रसंगको प्रतिक हो ।

जात्रामा सहभागी हुन आएका स्थानीय र बाहिरी पाहुनाहरूको स्वागतका लागि घर–घरमा बलि दिने, पाहुना भित्र्याउने, चिउरी र केरा खाएर घुम किन्ने परम्परा अझै कायम छ । जात्रा सकिएको भोलिपल्टैदेखि रोपाईं शुरु गरिन्छ । पूजापाठ, देवगणको शोभायात्रा, रथ तान्ने, अबीर जात्रा, सांस्कृतिक कार्यक्रमहरू हुने भएकाले पनौती नगरपालिकाले मंगलवार र बुधवार सार्वजनिक बिदा समेत दिएको छ ।


प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?