
काठमाडौँ। नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले सरकार र जनप्रतिनिधिप्रति आशाको दृष्टि राख्ने जनताप्रति सबै राजनीतिक दलको उत्तरदायित्व बराबर हुने बताएका छन् ।
सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टले मनसुन शुरु भइरहेको र बाढी,पहिरो आउन थालिसकेको अवस्थामा बजेट पास नहुँदा जनताप्रतिको उत्तरदायित्वबाट विमुख हुनुपर्ने अवस्था आउने बताए । उनले जतिसुकै आदर्शका कुरा गरेपनि आफुले गरे ठिक अर्काले गरे बेठिक हुने भनेर अगाडि बढ्दा गन्तव्यमा पुग्न नसकिने स्पष्ट पारे । विभिन्न समयमा भएका आन्दोलन र त्यसमा सहादत प्राप्त गरी ल्याइएको व्यवस्थामा आफु र आफ्ना लागिमात्र लडिरहँदा जनताले हामीप्रति गर्ने कटाक्ष स्वभावतः ठीक हुने सांसद भट्टको भनाई थियो । लोकतन्त्रवादीहरुले इगो प्रबलमका कारण यो व्यवस्थाप्रति टाउको हल्लाउनेहरुलाई बल पुर्याउने काम गरिरहेको भन्दै सांसद भट्टले त्यसतर्फ सचेत रहन आग्रह गरे ।
उनले भने , ‘मलाई एउटा कुरा के लागिरहेको छ भने आज राष्ट्रिय सभाले आफ्नो भुमिका निर्वाह गर्ने कुरा स्वागतयोग्य हो । वाद होला विवाद होला । तर यो बजेट नै रोकियो भने २ वर्ष कोभिडको महामारी झेल्यौं । फेरि सुदूरपश्चिमबाट कोभिडको विमारीहरु देखिन थालिसके । र, हामी यो बजेट पास गर्ने कुरामा लागिरहेका छौं तर हाम्रो एउटा सदन अवरुद्ध छ । सामुन्ने वर्षा पनि छ बाढी पहिरोले अलिअलि छुन थालिसकेको छ । बजेट नै पास भएन भने दलीय कुरा त गर्दै गरौंला तर हाम्रा जो सरकारप्रति, हामीप्रति आशाको दृष्टिले हेर्ने जनताप्रति हामी सबैको उत्तरदायित्व हो । तर हामी दोधारे कुरा गरिरहेका छौं एकातिर यो कुरा हो जस्तो पनि लाग्दैन भनिरहेछौं तर, अर्कोतिर के भनिरहेका छौं भने यो नैतिकताको कुरा हो त्यसकारण यो हुनु नै पर्छ । हामीले घटनाक्रमलाई हेर्दा के देखिन्छ भने रवि लामिछानेको केश र गृहमन्त्रीको केश एउटै होइन भनेर बुझेका छौं । तथ्यपरक कुरामा आधारित भएर छलफल ग¥यौं भने त्यो छलफलले कहिँ न कहिँ पु¥याउँछ । यसको अर्थ यो होइन कि उहाँ दोषी निस्कनु भयो भने उहाँलाई कानुनले सजायँ दिनुपर्छ भन्ने हो । जुनकुरा कहिँबाट पनि प्रमाणित हुँदैन हामी कुरा उठाइरहेका छौं नैतिकताको । आज यो परिस्थितिमा बजेट नै फेल भयो भने गृहमन्त्रीको राजीनामा आउँदै गर्ला, जाँदै गर्ला, उहाँ रहनुहोला नरहनुहोला । कांग्रेस त्यो पार्टी हो जहिल्यै पनि अन्यायको विरुद्धमा लड्ने । तर हामीले इवी साँध्ने, इगो राख्ने मान्छे त राम्रै हुन् शंका लाग्दैन तर सबै ठाउँमा प्रयोग गर्न थाल्यौं भने आजको विषम परिस्थितिमा केही गर्न सक्दैनौं । अब हामीले बाँकी केही राखेनौं, किनभने हामी सैद्धान्तिक रुपमा बिचलित भैसक्यौं । हामी जतिसुकै आदर्शका कुरा गरौं न कहाँनेर रह्यो र आदर्श ? के चाहिँ गर्न बाँकी राख्यौं ? आखिर मैले गरेको ठिक हुने र अर्काले गरेको बेठीक हुने त होइन होला नि ? अहिले जसरी हामी अगाडि बढ्यौ भने अन्त्यहीन गन्तव्य हो । समात्यौं भने हाम्रो आशामा बसेका निमुखा जनताहरुले हामीप्रति गर्ने कटाक्ष गर्ने कुराहरु स्वभावतः ठीक हो । त्यसकारण सबैले सहादत प्राप्त गरी, खुन पसिना बगाएर ल्याएको यो व्यवस्था कतै हामीले गरेका कुराहरु, लगाएका धारेहातहरु, सकेसम्म एकअर्काको सत्तोसरापमा लाग्यौं भने गणतन्त्रको जिम्मा कस्ले लिने ? केही हाम्रा आपसमा मतभेद रहलान्, रहनुपर्छ त्यो स्वाभाविक कुरा हो । कतै हामी हाम्रो जिम्मेवारीबाट इगो प्रबलमका कारणले हामी यो व्यवस्थाप्रति टाउको हल्लाउने व्यक्तिहरुलाई बल पुर्याउने काम त गरिरहेका छैनौं एकपटक सम्झन आग्रह गर्दछु ।’
उनले आपसमा मतभेद रहनु स्वाभाविक भएपनि एक अर्काप्रति धारेहात लगाउने र सत्तो सरापमा लाग्दा अब गणतन्त्रको जिम्मा कसले लिने ? भन्दै प्रश्न गरे ।
प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार