Trending
>>   विदेशबाट छोराछारीले जसलाई भन्छन् अभिभावकले त्यसैलाई भोट दिन्छन्ः गोपालमान श्रेष्ठ >>   गैरआवासीय नेपालीलाई दिएको नेपाली नागरिकताले काम गर्न सकेनः उपसभापति गुरुङ >>   लोकतन्त्र बचाउन प्रवासी नेपालीको भुमिका महत्वपूर्णः सभापति देउवा >>   सरकारमा जाने कुनै रुचि छैन, अब नयाँ आन्दोलनमा जाने होः अध्यक्ष दाहाल >>   राष्ट्रिय हक्कीमा कोशी र गण्डकी विजयी >>   गैरआवासीय नागरिकको अधिकार सुनिश्चित गर्न ऐन निर्माण प्रक्रियामा छः गृहमन्त्री लेखक >>   मजदुरहरूको रगतले देशको झण्डा रातो भएको हो, बलिदानबाट निस्किएका कुरा रातै हुन्छन्ः प्रधानमन्त्री >>   गल्ती भएका कुरामा सुध्रिन तयार छौँः उपसभापति खड्का >>   रातो मत्स्येन्द्रनाथको रथ गाःबहालमा तानियो (तस्बिरहरु) >>   सरकारको अस्थिरताका कारण गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानून निर्माणमा ढिलाइः परराष्ट्रमन्त्री राणा
Logo
१८ बैशाख २०८२, बिहीबार
१८ बैशाख २०८२, बिहीबार

सडक छाड्ने मुडमा छैनन् शिक्षक, प्रधानमन्त्री ओलीको आश्वासनप्रति अविश्वास


काठमाडौँ। देशभरका शिक्षकहरूले सङ्घीय राजधानीको सडक नछोडेको १९ दिन पुगिसकेको छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै काठमाडौंको सडकबाट १९ दिनदेखि सरकारको ध्यानाकर्षण गराए पनि शिक्षकका माग सम्बोधन गर्न सरकारले चासो देखाएको छैन ।

प्रधानमन्त्री केपी ओली शर्मा नै सरकारको मागप्रति संवेदनशील नहुँदा शिक्षकहरू सरकारको आश्वासनमा विश्वस्त हुन सकेका छैन । सरकारले संसदको आगामी अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिवद्धता जनाए पनि उनीहरूले सडक केन्द्रित आफूहरूको आन्दोलनलाई तत्कालै रोक्ने पक्षमा छैनन् । विगतमा सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएपछि बिच्किएका शिक्षकहरू विद्यालय शिक्षा ऐनलाई जारी गरेर मात्रै फर्किने अडानमा छन् ।

शिक्षकको आन्दोलनका कारण एसइइ परीक्षाको उत्तर पुस्तिका मात्रै प्रभावित भएको छैन, नयाँ भर्ना रोकिएको छ । यही वैशाख ११ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा समेत अन्योलमा परेको छ । चैत ९ गतेसम्म शिक्षकहरूको आन्दोलन नरोकिए कक्षा १२ को वार्षिक परीक्षा नै स्थगित गर्नुपर्ने स्थितिमा राष्ट्रिय परीक्षा बोर्ड पुगेको छ । शिक्षकहरूको आन्दोलनले कक्षा १२ को परीक्षा दिन तयारी अवस्थामा रहेका विद्यार्थीहरू समेत प्रभावित बनिरहेका छन् । तर शिक्षकहरूलाई राजधानीको सडकमा भौंतारिनु पक्कै पनि रहर भने छैन । उनीहरू सरकारबाट केही सम्बोधन होला कि भन्ने आशामा छन् । तर मागहरू सम्बोधन नभएसम्म सडक नछाड्ने अडान पनि उनीहरूले लिएका छन् ।

आन्दोलनरत शिक्षक भन्छन्, “कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेबाट छ । सरकारबाट केही सम्बोधन होला कि भन्ने आसमा शिक्षकहरू छन् । जबसम्म मागहरू सम्बोधन हुँदैन, आन्दोलन जारी रहन्छ । राज्यले सम्बोधन गर्छ कि भन्ने आशा छ ।”

शिक्षकहरूले गत वैशाख ५ गते प्रधानमन्त्री ओली र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग छुट्टाछुट्टै छलफल गरेका थिए । शिक्षकहरूका मागलाई सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई सक्रिय हुनुहुन्छ । सरकारले वैशाख १२ गते संसदको बजेट अधिवेशन आह्वान गरेको छ । वैशाख १२ देखि शुरु हुने संसदको बजेट अधिवेशनबाटै विद्यालय शिक्षा ऐन जारी गर्ने आश्वासन दिँदै आन्दोलन छाड्न आग्रह गरिरहेको छ । तर प्रधानमन्त्री ओलीले शिक्षक आन्दोलन र उनीहरूका मागलाई हल्का रूपमा लिनु र सभामुख घिमिरेले बजेट अधिवेशनमा शिक्षकहरूका माग सम्बोधन गर्न सम्भव नरहेको अभिव्यक्ति दिएपछि उनीहरू झनै बिच्किन पुगेका हुन् ।

गत चैत्र २० गते देखि आन्दोलन शुरु गरेका शिक्षकहरूले चैत्र २५ गते देखि शैक्षिक सत्र ठप्प पारेर काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका थिए । प्रधानमन्त्री ओलीले गत चैत्र २५ गते शिक्षकहरूको आन्दोलनप्रति हलुका टिप्पणी गरेका थिए । उनले सो बेलामा शिक्षकहरूले किन आन्दोलन चलाएको भन्ने थाहा नपाएको र जायज माग लिएर कोही आउँदाखेरि आन्दोलन गर्नु नपर्ने र मागहरू सम्बोधन गर्न सरकार तयार रहेको भन्दै सडकमा गएर सुत्न नपर्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीले भनेका थिए, “अहिले शिक्षक आन्दोलन चलेको छ । किन चलाउनुभएको मलाइ थाहा भएन । म प्रधानमन्त्री छु । म भनिराख्या छु, जायज माग लिएर कोही आउँदाखेरि आन्दोलन गर्नुपर्दैन हामी त्यसको समाधान दिन्छौँ । हामी त्यसलाई सम्बोधन गर्न तयार छौँ । दुःख पाउनुपर्दैन सडकमा गएर सुत्नै पर्दैन । आउनुस् कुराकानी गरेर त्यसलाई समाधान गरौँ । उहाँहरूले किन दुःख पाउनुभएको हो ? उहाँहरू कुराकानीका लागि आउनुहोला । हामी यथोचित ढङ्गले माग सम्बोधन गर्छौँ ।”

सोमवार पनि प्रधानमन्त्री ओलीले नेपाल प्रगतिशील प्राध्यापक सङ्घको ११ औँ राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै शिक्षकहरू प्रति व्यङ्ग्य गरेका छन् । उनले शिक्षकहरू ऐन लिएर जाने अडानमा रहेको बताउँदै एउटा ऐन बोक्न यत्रो बिघ्न मान्छे चाहिन्छ ? भन्दै व्यङ्ग्य गरेका छन् । उनले हामीले ऐन ल्यायौँ भन्नको लागि दुःख नगर्न समेत बताएका छन् । उनि त्यतिमा मात्रै रोकिएन् , एसइइमा ५२ प्रतिशत फेल गराएर विद्यार्थीको भविष्यमाथि तरबार चलाइएको भन्दै शिक्षकप्रति आक्रोश व्यक्त गरेका छन् ।

उनले भने, “उहाँहरूले ऐन लिएर जान्छौँ भन्नुभएको छ । एउटा ऐन बोक्न यत्रो बिघ्न मान्छे चाहिन्छ ? ऐन त संसदीय उपसमितिमा छलफल भइरहेको छ । समितिमा आउँछ । त्यसपछि मूल हाउसमा आएर संसद्बाट पारित हुन्छ । अहिलेसम्म जति पनि ऐन आएका छन् सडकमा मान्छे आएरै आएका हुन् ? त्यसै आउने ऐनलाई हामीले ऐन ल्यायौँ भन्ने पार्नको लागि यत्रो दुःख किन गर्नुपर्यो ? तपाईंहरू हुनुहुन्छ र त ऐन बन्ने हो नि । तपाईंहरू नभए ऐन कसरी बन्छ । त्यस कारण हामीले ऐन ल्यायौँ भन्नको लागि यत्रो दुःख गर्नुपर्दैन ? म अहिले पनि उहाँहरूलाई आग्रह गर्न चाहन्छु, अहिले विद्यार्थी भर्नाको समय छ । कृपया जानुस् भर्ना गर्नुस् । एसइईमा ५२ प्रतिशत फेल हुने भनेको त कलिलैमा उहाँहरूको भविष्यमाथि तरबार चलाइएजस्तो भयो नि । अब एसइईको औचित्य पनि देखिइरहेको छैन । कक्षा १२ लाई एसएलसी भने पनि फेरि एसइइ भनेर किन राख्या ?”

शिक्षकहरू आन्दोलनमा उत्रिएको यो पहिलो पटक भने होइन, उनीहरूका नयाँ माग पनि होइनन् । केबल, अघिल्लो वर्षको असोजमा १२ दिनसम्म सडक आन्दोलनपछि सरकारसँग गरिएको सहमतिको कार्यान्वयन उनीहरूले चाहेका हुन् । गत वर्षको असोज ५५ गते तत्कालीन प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग गरिएको ११ बुँदे सहमति भएको थियो । सोही बेला प्रतिपक्षी भूमिका रहेका ओलीले शिक्षकको मागलाई सम्बोधन गर्न भन्दै सरकारलाई दबाब दिएका थिए । तर उनै ओली सरकारमा आएपनि शिक्षकका मागलाई कार्यान्वयनमा आलटाल गरिरहेको देखिन्छ ।

सरकारले शिक्षकहरूका मागलाई सम्बोधन गर्दै प्रभावित भएको पढाइलाई लयमा ल्याउनु जिम्मेवारी हो । आन्दोलनकै कारण ७० लाख बढी विद्यार्थीको पढाई प्रभावित नगर्न, नयाँ भर्ना रोकिँदा निजी विद्यालयमा अभिभावकहरू आफ्ना छोराछोरीलाई भर्ना बाध्य नपार्न, एसइइ र १२ कक्षाको परीक्षाफलमा ढिलाइ नगराउन र कक्षा ११ को परीक्षालाई अन्योल नपार्न सरकारले यथाशिघ्र कदम चाल्नुपर्छ ।


प्रकाशित मिति: ८ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?