काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बस्यो । २०८० फागुन ७—१० गतेसम्म ललितपुरमा सम्पन्न महासमितिको बैठकबाट प्राप्त सुझावका आधारमा परिमार्जन सहितका प्रस्तावहरु क्रमशः उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय— गगनकुमार थापा र विश्वप्रकाश शर्माले बैठकमा प्रस्तुत गर्नु भएको थियो ।
बैठकमा प्रस्तावित विषयहरु—
(१) महासमिति बैठकबाट पारित प्रस्ताबका सम्बन्धमा, (२) राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, (३) १०० दिने सांगठनिक अभियान (भदौ १५ – मंसिर २५) सम्बन्धमा, (४) अनुशासनको कारवाहीका लागि भएका सिफारिस सम्बन्धमा, (५) पार्टीका विभिन्न तहमा रिक्त स्थानका पदपुर्ति सम्बन्धमा, (६) भ्रातृ संघ तथा शुभेच्छुक संस्था र निर्देशक समिति लगायत कार्यसम्पादनका निर्णय सम्बन्धमा, (७) क्रियाशील सदस्यता वितरण(नयाँ र नविकरण) प्रक्रिया सम्बन्धमा, (८) जनसम्पर्क समिति सम्बन्धमा। (९) नियमावली संसोधन प्रस्ताव सम्बन्धमा, (१०) नेपाली कांग्रेस ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका — ०८१’ सम्बन्धमा, (११) समसामयिक राजनीति र अन्य विविध विषय ।
आजको बैठकका निर्णयहरू—
(१) केन्द्रीय कार्यसम्पादन समितिको २०८१ असार १९ र २९ गतेको बैठकका निर्णयहरूलाई अनुमोदन गर्ने निर्णय गर्दछ ।
(२) बंगलादेशमा पछिल्लो समय विकसित घटनाक्रमको सम्बन्धमा नेपाली कांग्रेसले बंगलादेशी नागरिकको भावना बमोजिम चाडै नै त्यहाँ शान्ति स्थापना हुने र लोकतान्त्रिक प्रकृया सुचारु ढंगले अघि बढ्ने विश्वास लिएको छ । यो घटनाबाट नेपाली विद्यार्थी र अन्य नेपाली नागरिकलाई कुनै असर पर्न नदिन नेपाल सरकारले थप तदारुकता राख्ने विश्वास बैठकले लिएको छ ।
(३) ‘काभा वुमन्स नेसन्स लिग’ भलिवलको आजै हुँदै गरेको फाइनलमा नेपाली टिमको विजयका लागि बैठकले शुभकामना व्यक्त गर्दछ ।
(४) काठमाडौंबाट रसुवाको स्याफ्रुवेशीका लागि उडेको एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा ५ जनाको निधन भएको घटनाप्रति कार्यसमितिको यो बैठक दुःख व्यक्त गर्दै मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति यो बैठक गहिरो समवेदना प्रकट गर्दछ ।
आजको बैठकमा केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखकले राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति कार्यसमितिलाई जानकारी गराउनु भयो । त्यसैगरी केन्द्रीय सदस्य एवं परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले बंगलादेश, बेलायत, इजरायल, लेवनानमा पछिल्लो समय विकसित घटनाक्रमका साथै त्यहाँ रहेका नेपालीहरूसँग नियमित सम्पर्कमा रहिरहेको जानकारी गराउनु भएको थियो ।
बैठकमा धारणा व्यक्त
केन्द्रीय सदस्यहरु— विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह के.सी., डा. मिनेन्द्र रिजाल, आनन्दप्रसाद ढुंगाना, शंकर भण्डारी, कल्याणकुमार गुरुङ, देवेन्द्रराज कण्डेल, गोविन्दबहादुर शाह र सीतादेवी देवकोटाले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
केन्द्रीय कार्यसमितिको अर्को बैठक
केन्द्रीय कार्यसमितिको बैठक २०८१ श्रावण २४ बिहीबार दिउँसो १ः०० बजे केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।
जय नेपाल !
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
प्रकाशित मिति: २३ श्रावण २०८१, बुधबार