Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

कुनैपनि बालबालिका सडकमा बेवारिसे अवस्थामा भेटिनुहुँदैन: मन्त्री चौधरी


कञ्चनपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले कैलाली र कञ्चनपुरको बाल संगठनको अनुगमन गर्नुभएको छ ।जिल्ला भ्रमणका क्रममा मन्त्री चौधरीले बाल संगठनको अनुगमन गरी त्यहाँको अवस्थाका बारेमा जानकारी लिनुभएको हो । त्यस क्रममा नेपाल बाल संगठन सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा बाल संरक्षण गृह (बालग्राम) स्थापना गर्ने बताएको थियो ।

मन्त्री चौधरीलाई नेपाल बाल संगठन सुदूरपश्चिम प्रदेश समितिका सभापति चुनामणि भट्टले ज्ञापन पत्र बुझाउँदै तत्काल धनगढीमा बालग्राम स्थापनको आवश्यकता महसुस भएको र त्यसका लागि बजेट अभाव देखिएको बताएका थिए ।

नेपाल बाल सङ्गठनको ज्ञापन पत्र बुझ्दै मन्त्री चौधरीले समस्या समाधानको लागि आफ्नो पक्षबाट हुने सबै कामको लागि आफू तत्पर रहेको बताउनुभयो । उहाँले बालग्राममा बसेका बालबालिकाहरूलाई विशेष ध्यान दिन पनि आग्रह गर्दै बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिनुभयो ।

मन्त्री चौधरीले भन्नुभयो, ‘मैले हिजो देखि यी विषय नियालिरहेको छु । तपाईँहरू पूर्ण बाल अधिकार सुनिश्चित गर्ने गरी लाग्नु होला सरकारको साथ तपाईँहरूलाई रहन्छ ।’बालकहरूको शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिन पनि मन्त्री चौधरीले निर्देशन दिनुभयो । उहाँले अहिले पनि सडक बालबालिकाको विषयमा गम्भीर हुनु पर्ने अवस्था रहेको बताउनुभयो ।

नेपाल बाल सङ्गठनको सुदूरपश्चिममा धेरै संरचना रहेको तर ती संरचनाको संरक्षण हुन नसेको विषयमा पनि आफूहरू गम्भीर रहेको उहाँको भनाइ थियो ।‘प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीले पनि यो विषयमा चासो राख्नु भएको छ । ती सबै संरचना र सम्पत्तिहरू सरकारले संरक्षण गर्छ’, उहाँले भन्नुभयो । ४० भन्दा धेरै जिल्लाहरूमा संरचना र सम्पत्ति रहेको भन्दै सबै संरक्षण गर्नु पर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

स्थापना काल देखी नै अनाथ तथा असहाय बालबालिकालाई हेरचाह गर्दै आएको धनगढी बाल संरक्षण गृहमा अहिले २० जना बालकहरू रहेका छन् । उनीहरू नजिकैको त्रिनगर विद्यालयमा अध्ययन गरिरहेको बताएका थिए ।

त्यस अवसरमा अझै पनि अभिभावक विहीन धेरै बालकहरू सडकमा भौँतारिरहेको र सानैमा अभिभावक गुमाएकाहरूलाई शिक्षा स्वास्थ्य पाउन पनि सकस भएको भन्दै अझै धेरै क्षमताको बालगृह स्थापनाको लक्ष्य लिइएको भट्टले मन्त्री चौधरीलाई जानकारी गराएका थिए । ज्ञापन पत्रमा पनि प्रदेश स्तरीय बालगृह स्थापनाको लागि १० करोड रुपैयाँ माग गरिएको छ ।

‘१ बिगाह ४ कट्ठा दर्ता जमिन र ८ कट्ठा ऐलानी जग्गा सदुपयोग भइरहेको छ । प्रदेश स्तरीय बालग्रामको रूपमा अगाडि बढाउन खोजिरहेका छौँ मन्त्री चौधरीलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ, प्रदेश स्तरीय बालग्राम निर्माणको लागि १० करोड विनियोजन गर्न आग्रह गर्दछौँ’, ज्ञापन पत्रमा भनिएको छ ।

धनगढी उपमहानगरले सटर भत्काएको हुँदा आम्दानीको स्रोत समेत बन्द भएको गुनासो ज्ञापन पत्रमा उल्लेख गरिएको छ । नियमित आय स्रोतको लागि तत्काल व्यवसायीक भवन निर्माण गर्ने र त्यसको लागि २ करोड माग गरिएको छ ।

यसैगरी नेपाल बाल संगठन कञ्चनपुरको अनुगमन गर्दै मन्त्री चौधरीले बाल संगठनको सम्पत्तिको संरक्षण गर्न निर्देशन दिँदै विभिन्न व्यक्तिले अतिक्रमण गरेका २ बिगाहा जग्गा फिर्ता लिएर राज्यको सम्पत्तिको संरक्षण गरेकोप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

सबैले सरकारी सम्पत्तिको संरक्षण गर्न आवश्यक रहेको भन्दै उहाँले सडकमा कुनैपनि बालबालिका बेवारिसे अवस्थामा देखिन नहुने बताउनुभयो । ‘पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सडक मानव मुक्त अभियान चलाउनुभएको थियो । बालबालिकाको संरक्षण गर्न हामी सबैको दायित्व हो । बालबालिकाको संरक्षण गर्नतिर तपाईँहरू लाग्नुस्’, मन्त्री चौधरीले भन्नुभयो ।

बालबालिकाको सर्वोपरि हितलाई ध्यानमा राखेर सबैले काम गर्नुपर्ने उहाँको भनाई थियो ।त्यस अवसरमा नेपाल बाल संगठन कञ्चनपुरका सभापति रामबहादुर बुढाले बाल संगठनको विकास तथा बालबालिकाको संरक्षणका निम्ति धेरै काम गर्न आवश्यक रहेको बताउँदै ज्ञापन पत्र बुझाउनुभएको थियो ।


प्रकाशित मिति: १३ जेष्ठ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?