Trending
>>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठ सम्पन्न


महोत्तरी। मिथिला क्षेत्रमा वासन्ती (चैती) छठ आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य (अर्घ) दिँदै सम्पन्न भएको छ । पञ्चमी तिथिका दिन शनिबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत रहेका व्रतालुुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै यसपालिको चैती छठ पर्व सम्पन्न गरेका हुन् ।

वासन्ती छठ षष्टी तिथिमा निराहार व्रत र सप्तमीको सूर्योदयसँगै पारन (समापन) गरिन्छ । शरद र वसन्त ऋतु गरी वर्षमा दुई पटक मनाइने परम्पराको छठ पर्व यस वर्ष (२०८०) को अब (आज) सम्पन्न भएको छ । यो छठ २०८० को भए पनि यसपालि सौरमास गणनाले २०८१ मा परेको हो । गत साउन महिनाको अधिकमास प्रभावले चन्द्रमास गणनाका तिथि पछि धकेलिँदा वासन्ती छठले २०८१ वैैशाख टेकेको मैथिल कर्मकाण्डका ज्ञाता बताउँछन् ।

मिथिला क्षेत्रमा आजको सूर्योदय बिहान ५ बजेर ४१ मिनट समयको हाराहारीमा भएको हो । यसअघि व्रतालु सूर्योदय हुनु एक घडिपूर्वदेखि नै कम्मरसम्म डुब्ने पानीमा तीन पटक चोबलिएर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गरिरहेका थिए । यसअघि गत कात्तिकमा शरद ऋतुको छठ कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइएको थियो ।

गत शनिबार पञ्चमीका दिन पनि दिनभरि निराहार उपवास बसेका व्रतालुले राति १० बजेतिर सख्खरमा पकाइएको खिरमात्र खाएका थिए । व्रतालुले पञ्चमीको ‘खरना’ विधियता लगातार करिब ३२ घण्टाको निराहार व्रतपछि आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै ‘भोरका अरख’ सम्पन्न गरेका हुन् । ‘भोरका अरख’ गरिएसँगै छठ पर्व समापन भएको छ । छठमा उदाउँदो सूर्यलाई दिइने अघ्र्य विधिलाई बोलीचालीमा ‘भोरका अरख’ भनिन्छ ।

व्रर्तालुले यसपालि वासन्ती छठ पर्व गत शुक्रबार चैत शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट व्रत सङ्कल्प गर्दै सुरु गरेका थिए । यसैगरी छठमा व्रतालुले गत शनिबार पञ्चमीका दिन ‘खरना’ र षष्ठी तिथिका दिन हिजो आइतबार निराहार व्रतकै बीच साँझपख अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिँदै ‘सझुका अरख’ सम्पन्न गरेका थिए । अस्ताउँदो सूर्यलाई दिइने पहिलो अघ्र्य विधिलाई ‘सझुका अरख’ भनिन्छ ।

आज बिहान अघ्र्य दिएसँगै सूर्य उपासनाको महापर्व सम्पन्न गरी व्रतालु इष्टजनसहित छठी घाटबाट घर फर्केका छन् । पर्व सकिएसँगै घरघरै प्रसाद खाने /खुवाउने क्रम सुरु भएको छ । मिथिलामा छठको प्रसाद मानिने ठकुवा (गहुँको पिठो सख्खरमा मुछेर घ्यूमा पकाइएको मिष्टान्न परिकार) विवाहित छोरी/चेली (छोरी, दिदीबहिनी, फुपू), मित/मितिनी र अन्य इष्टजनको घर पठाउने मैथिल परम्परा छ ।

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ । मिथिला क्षेत्रमा छठ जनजन परिचालन हुने महापर्व मानिन्छ । यद्यपि शारदीय छठ जति यो पर्व मनाउने भने देखिँदैनन् । छठ व्रतको प्रभावले दुःख, दारिद्र अन्त्य भई सुख, शान्ति र प्रत्येक मनोकाङ्क्षा पूरा हुने मैथिल जनविश्वास छ ।


प्रकाशित मिति: ३ बैशाख २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?