Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
१० फाल्गुन २०८२, आईतवार
१० फाल्गुन २०८२, आईतवार

मुस्ताङको ढि खोलाको तातोपानी मुहान संरक्षणका पर्खाइमा


म्याग्दी। मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका-४ ढि खोलाको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ ।

त्यस्तै, अध्ययन अनुसन्धान र उपयुक्त प्रविधिको पहिचान हुन नसक्दा ढि खोलाले बनाएको खोंचभित्र रहेको तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो । लो-घेकर दामोदरकुण्ड गाउँपालिका-४ का पूर्ववडाध्यक्ष हिरा गुरुङले ढि खोलाको तातोपानी खेर गइरहेको बताएका छन् ।

‘चिसो हावापानी र मौसम हुने मुस्ताङको तातोपानी प्रकृतिको वरदान हो’, उनले भने, ‘तातोपानीलाई व्यवस्थितरुपमा उपभोग गर्नसक्ने हो भने पर्यटन र आर्थिक हिसाबले धेरै राम्रो हुने थियो ।’ मुहानको तातोपानीलाई नजिकै स्नान गृह र पोखरी बनाएर प्रयोगमा ल्याउन पहल गरिए पनि अनुसन्धान तथा प्रविधिमा पहुँच नपुग्दा सफल हुन नसकेकामा पूर्ववडाअध्यक्ष गुरुङले चिन्ता व्यक्त गरे।

त्यस्तै, खोंचभित्र पहाडबाट तातोपानीको फोहरा निस्कने गर्छ भने बर्खामा तातोपानीको फोहोराभन्दा माथि खोलाको सतह पुग्छ । हिउँदमा खोलामा हिँडेर करिब ५० डिग्री सेल्सियस तातोपानीको फोहरा निस्कने ठाउँसम्म सहजै पुग्न सकिने लो-घेकर दामोदरकुण्ड गाउँपालिका–४ ताङ्ग्या गाउँका पासाङ छिरिङ गुरुङले बताए।

‘पाइपबाट जस्तै पहाडको प्वालबाट निस्कने तातोपानीको फोहराले मानिसलाई ढलाउला झैँ गर्छ’, उनले भने, ‘मुहानबाट आएको तातोपानी मिसिएको खोलामा स्नान गर्न सकिन्छ ।’तातोपानीको मुहान वरपर झरना र तलाउ चिसोले जमेर बरफ बनेको छ । बेनी-जोमसोम-कोरला सडकमा पर्ने लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ गाउँदेखि ३० मिनेट गाडीमा यात्रा गरेपछि ढि गाउँमा पुगिन्छ । ढि गाउँदेखि ३० मिनेट पैदल हिँडेर तातोपानीको मुहानमा पुग्न सकिन्छ । साविक सुर्खाङ गाविसको भूगोलमा रहेको यो तातोपानीको मुहान नजिकै सुर्खाङ, ढि, यारा र घारा गाउँ छन् ।

उपल्लो मुस्ताङ घुम्न आउने पर्यटकका लागि ढि खोलाको तातोपानी नयाँ आकर्षण बन्नसक्ने सम्भावना छ। दिगोरुपमा बाह्रै महिना नियमित तातोपानीलाई प्रयोगमा ल्याउने आधार पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता रहेको पूर्ववडाध्यक्ष गुरुङले बताए ।

स्थानीयवासीका अनुसार मुस्ताङको पूर्वराजपरिवारका सदस्य स्नानका लागि ढि खोलामा आउने गर्दथे । उनीहरुले मुहान नजिकै स्नानका लागि आउनेहरुका लागि आश्रयस्थल बनाइदिएका थिए । स्थानीयवासीहरु हिउँदयाममा ढि खोलाको तातोपानी नुहाउन जान्छन् ।

त्यस्तै, व्यवस्थित हुन नसकेकाले पर्यटक भित्र्याउन सकिएको छैन । गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले ढि खोलाको तातोपानीलाई व्यवस्थित गर्न पहल गरिने बताए ।


प्रकाशित मिति: १८ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?