काठमाडौं। आगामी माघ ११ गते राष्ट्रिय सभाका १९ सिटका लागि सातै प्रदेशमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार र प्रमुख प्रतिपक्षी दल एमालेका उम्मेदवारहरुबिच प्रतिस्पर्धा हुँदैछ ।
आइतबार सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आफ्ना उम्मेदवारहरुलाई विजयी गराउन साझा अपिल गरेपछि चुनावी माहोल तातेको छ भने शनिबार बसेको गठबन्धनका नेता रमेश लेखक संयोजकत्वकोे निर्वाचन समन्वय समितिले शीर्ष नेताहरूलाई सार्वजनिक अपिल गर्न आग्रह समेत गरेको थियो ।
त्यस्तै, निर्वाचन हुन लागेका १९ सिटमध्ये गठबन्धनबाट कांग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा उम्मेदवारी दिएका छन् । एमाले एक्लै चुनावी मैदानमा छ । एमालेले १९ सिटमै उम्मेदवारी दिएको छ । शान्ति प्रक्रिया टुङ्ग्याउन राष्ट्रिय सभामा एकसाथ अघि बढ्न एमाले र गठबन्धनका नेताहरुबिच पटक पटक भएको छलफल निष्कर्षमा नपुगेपछि गठबन्धन भर्सेस गठबन्धनका उम्मेदवार आमनेसामने भएका हुन्, तर गठबन्धनमै रहेका लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा लगायतले सिट नपाएकाले केही असन्तुष्टि भने कायम रहेको छ ।
राष्ट्रिय सभा अध्यक्षका रूपमा हेरिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला विराटनगरमा उम्मेदवारी दर्ता गरेपछि पूर्वी नेपालको भ्रमणमा छन् । विभिन्न जिल्ला भ्रमणका क्रममा आइतबार इलामको फिक्कल पुगेका सिटौला उत्साहित थिए । ‘जीवनमा आठ पटक चुनाव लडिसक्नुभएका सिटौला दाईको मुहारमा चमक थियो । उत्साहित देखिन्थ्ए । आफूलाई भन्दापनि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । संविधान कार्यान्वयनमा उहाँको जोड थियो,’स्थानीय एक नेताले भने ।
त्यस्तै, युवाहरुको प्रतिनिधित्व गर्दै बागमती प्रदेशबाट उम्मेदवार बनेका कांग्रेस नेता जीतजंग बस्नेतको चुनावी अभियानमा जुटेका युवाहरुको अभिव्यक्ति सुन्दापनि गठबन्धनका उम्मेदवारहरुमा उत्साह रहेको अनुमान लगाउन सकिन्छ भने गठबन्धनका उम्मेदवारहरुको संयुक्त पोष्टर बनाएर सामाजिक सञ्जालमा क्याम्पेनिङ पनि शुरु भइसकेको छ । एमाले उम्मेदवारहरुले पनि चुनावी अभियानलाई तीव्रता दिइरहेका छन् ।
उक्त निर्वाचनको अङ्कगणित हेर्दा एमालेले रिक्त रहेका ८ वटै सिट गुमाउने देखिएको छ । किनकि यति बेला १७ सांसद एमालेका छन् । सत्ता गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले एमालेले आफ्नो हालको हैसियत गुमाउने निश्चित छ । यद्यपी, मतभारको अवस्था मूल्याकंन गरेका गठबन्धनका उम्मेदवारहरु उत्साहित छन् । निर्वाचनमा ५ सय ४९ प्रदेश सभा सदस्य तथा स्थानीय तहका १४ सय ९८ प्रतिनिधि गरी २ हजार ४७ जनाले मतदान गर्दै छन् ।
त्यस्तै, स्थानीय तहअन्तर्गत नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता हुन्छन् । जसका लागि निर्वाचन आयोगले प्रदेशसभाका एक सदस्य बराबर ५३ र स्थानीय तहका एक प्रतिनिधि बराबर १९ मतभार कायम गरेको छ । यस हिसाबले प्रदेशसभा सदस्यको २९ हजार ९७ र स्थानीय तहका प्रतिनिधिको २८ हजार ४ सय ६२ गरी ५७ हजार ५ सय ५९ कुल मतभार कायम भएको छ ।
मतभारको अङ्कगणित अनुसार एमाले सबै प्रदेशमा कमजोर देखिएको छ । गठबन्धनका दलहरुको मतभार ३८ हजार २ सय १० हुँदा एमालेको १७ हजार २६ मात्रै छ । कोशी प्रदेशमा पहिलो शक्ति भएको एमाले मतभारका हिसाबले गठबन्धन भन्दा पछाडि नै छ । कोशीमा गठबन्धनको ५४ सय ७४ मतभार रहँदा एमालेको ४२ सय १० छ ।
मधेशको मतभारमा एमाले गठबन्धनभन्दा ५६ सय ७७ मतले पछाडि छ । मधेशमा गठबन्धनको ७ हजार ९ सय ८० तथा एमालेको २३ सय ३ मतभार छ । बागमतीमा गठबन्धनको ६ हजार ७ सय ५१ तथा एमालेको २५ सय ७१ र गण्डकीमा गठबन्धनको ४६ सय २२ तथा एमालेको २४ सय ५८ मतभार छ ।
लुम्बिनीमा भने गठबन्धनको ५३ सय ७१ रहँदा एमालेको २८ सय १०, कर्णालीमा गठबन्धनको ३७ सय ७ तथा एमालेको ११ सय ९५ र सुदूरपश्चिममा सत्ता गठबन्धनको ४५ सय १० तथा एमालेको १४ सय ८० मतभार छ । यो सबै मतभार मूल्याकंन गर्दा १९ वटै सिटमा गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् ।
प्रकाशित मिति: १ माघ २०८०, सोमबार